जाडो मौसम : कतै हिउँ, कतै शीतलहर

प्रदेश ब्युरो, हरि गौतम

(काठमाडौं), (रुकुम पूर्व), (बुटवल) — पश्चिमी वायुको प्रभावले पश्चिम तराई र यहाँका पहाडी जिल्लामा चिसो बढेको छ । अरेबियन सागर र भारतको जम्मुकश्मीर हुँदै भित्रिएको वायु सोमबारदेखि तराई हुँदै पहाडी जिल्लामा प्रवेश गरेको जलवायु विज्ञले बताएका छन् । 

ZenTravel

बुधबार रूपन्देहीको बुटवलसहित विभिन्न क्षेत्रमा वर्षकै न्यून तापक्रम देखिएको छ । भैरहवा विमानस्थलमा रहेको जल तथा मौसम मापन केन्द्रले बुधबार भैरहवामा १० डिग्री र बुटवलमा १२ डिग्री सेल्सियस मापन गरेको केन्द्रका प्रमुख राममणि मिश्रले बताए । त्यससँगै बुधबारदेखि नै तराईमा शीतलहर सुरु भएको छ । बुधबार पहाडी जिल्लामा घाम लागे पनि बिहीबार बिहानैदेखि जाडो बढेको छ । हिमाली जिल्ला र उच्च पहाडी क्षेत्रमा भने मंगलबारदेखि नै हिउँ पर्न थालेको छ । त्यसले जनजीवन प्रभावित बनाएको छ । तराईका जिल्लामा हुस्सु, कुहिरो र शीतलहर सुरु भएको छ ।

यात्रुको भीड हुने बुटवलका सडकमा ओहोरदोहोर पातलिएको छ । सडकमा छाडा छाडिएका गाईबस्तु, छाप्रा वा टहरामा बस्ने मजदुर पनि अत्तालिन थालेका छन् । बजारका चोकहरूमा आगो बाल्न थालिएको छ । बजारमा न्यानो कपडाको व्यापार भने बढेको छ । चिसोले प्रदेश ५ का तराईका जिल्ला शीतलहरबाट र पहाडी जिल्ला हिमपातबाट प्रभावित छन् । पूर्वी रुकुममा भारी हिमपात भएको छ । रोल्पा, प्यूठान र गुल्मीका उच्च पहाडी क्षेत्रमा पनि हिउँ परेको छ । तराईका रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा शीतलहर चलेको छ ।

शीतलहर र बाक्लो हुस्सुका कारण बुधबार दिनभर भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान प्रभावित भएको थियो । बिहीबार दिउँसोबाट हुस्सु कम भएपछि सुचारु भएको विमानस्थलले जनाएको छ । चिसो र शीतलहर बढेपछि विपद् व्यवस्थापन समितिको बैठक बसेर कार्ययोजना बनाएको र स्थानीय सरकारसँग समन्वय गरेर मानवीय क्षति नहुने गरी संयन्त्र तयार गरेर परिचालक गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

चिसो बढेसँगै रुघाखोकी, निमोनिया, दमलगायतका रोगीलाई असर गर्ने र थप बिरामी बढ्ने भएकाले त्यसबाट जोगिन चिकित्सकले सुझाव दिएका छन् । बालबालिकालाई पनि कोल्ड डायरियाको संक्रमण बढ्न सक्छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले चिसोसँगै यसको संक्रमणका बिरामी बढ्न थालेको बताए । ‘चिसो बढेको छ, यस्तो अवस्थामा न्यानो भई बस्ने, तातो पेय पदार्थ खाने गर्नुपर्छ,’ उनले भने, ‘वृद्धवृद्धा र बालबालिकाको बढी ख्याल गर्नुपर्छ ।’

किसान र मजदुर मर्कामा
जाडो थेग्न बाल्ने दाउरासमेत नहुँदा पश्चिम नवलपरासीको सुस्ता–५ का ६५ वर्षीय चन्द्र चमारलाई बिरामी परिने हो कि भन्ने चिन्ता बढेको छ । पुस लागेसँगै बढेको चिसो र चलेको शीतलहरले चमार दम्पती समस्यामा छन् । ‘आगो बाल्न दाउरा छैन, पानी छेक्ने खालको घर छैन,’ उनले भने, ‘बिमार भए उपचार गर्ने अन्य परिवार पनि छैनन् ।’ जंगलमा दाउरा खोज्न जान सक्ने अवस्थासमेत नरहेको उनीहरूले बताए ।

स्थानीय बच्चा राजभरको अवस्था पनि उस्तै छ । सानो झुप्रो घर छ । भित्र पराल बिछ्याएका छन् । त्यसमै बस्छन् र सुत्छन् । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको अवस्था यस्तै छ । चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागितामा पूर्वतयारी बैठक बसेको छ । शीतलहरबाट प्रभावित हुन सक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक, महिला, बालबालिकाको अवस्था र शीतलहरबाट बचाउन गर्नुपर्ने पूर्वतयारी र राहत सामग्रीको व्यवस्थापनका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । जाडो बढेपछि सुनवल नगरपालिकाले नगरका मुख्य चोकमा आगो ताप्नका लागि काठका मुढा वितरण गरेको छ ।

कपिलवस्तुमा कठ्यांग्रिने गरी चिसो बढेको छ । गत शुक्रबार वर्षा भएपछि मंगलबारबाट शीतलहर चलेको हो । घाम देखिएको छैन ।

बाल्न थालियो धुनी
(जनकपुर) ।पोहोरसम्म जाडो सुरु हुँदाहुँदै दाउराको जोहो हुन्थ्यो, चोक चोकमा धुनी बाल्ने इन्तजाम हुन्थ्यो । योपटक एक्कासी शीतलहर सुरु भयो । चिसो बढेर तराईका जिल्लाको जनजीवन प्रभावित भइरहँदा धुनी ताप्ने क्रम फेरि सुरु भएको छ । गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ ।

जाडोले सर्वसाधारणका दैनिकी प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईको तापक्रम घटेर चिसो बढेको हो । बिहीबार बिहान ९ बजे प्रकाशित विभागको मौसम प्रतिवेदनअनुसार जनकपुरको तापक्रम राति ७ डिग्री सेल्सियस र बिहान १० डिग्री रेकर्ड छ । जाडो, हुस्सुसँगै बतास चलेको छ । मौसम बिग्रेर जनकपुर विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । यातायातका साधन तथा सेवाप्रदायक कार्यालयहरूमा सेवाग्राहीको संख्यामा कमी आएको छ । बिहीबार यो वर्षकै जाडो दिन मापन भएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय जनकपुरले जनाएको छ ।

थालियो जोगिने तयारी
जाडोबाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले शीतलहर पूर्वतयारी तथा प्रतिकार योजना २०७६ लागू गरेको छ । जिल्लाका १८ वटै स्थानीय तहलाई लक्षित गरी सुरु गरिएको उक्त योजनाअन्तर्गत विपन्न समुदायलाई कम्तीमा एक थान न्यानो लुगा वितरण गर्ने र आगो बालेर धुनी लगाउने व्यवस्था गर्न सूचना जारी गरेको छ । चिसोका कारण बिरामी बढ्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिइएको छ ।

सडक पेटी, रेल्वे स्टेसन तथा विभिन्न धर्मशालामा अव्यवस्थित रूपमा रात बिताउनेको झन् बिजोग छ । न्यानो लुगा नभएका विपन्न परिवारका सदस्यहरू दैनिक काममा जान सकिरहेका छैनन् । पसल तथा उद्योगधन्धा, कलकारखानामा काम गर्ने मजदुर प्रभावित छन् । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय जनकपुरका प्रमुख राजीवकुमार झाले बिहीबार यो वर्षकै सबभन्दा चिसो दिन भएको बताए । बिहीबार बिहान साढे ८ बजे जनकपुरको न्यूनतम तापक्रम ८.४ डिग्री मापन भएको छ । ‘यो वर्षकै सबभन्दा न्यूनतम तापक्रम हो,’ उनले भने । बुधबार जनकपुरको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस थियो । गत वर्ष जनकपुरको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियससम्म झरेको थियो । जाडो बढेकाले तापक्रम अझ तल झर्ने अनुमान छ । भिजिबिलिटी कम भएका कारण जनकपुरमा बिहीबार बिहानको हवाई सेवा अवरुद्ध भएको थियो । गत मंगलबार अपराह्नको हवाई सेवा पनि अवरुद्ध भएको थियो ।

रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहले चिसोबाट बच्ने उपायबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बिहीबार जिल्लाका १८ वटा स्थानीय तहका प्रमुखसँग शीतलहर पूर्वतयारी तथा प्रतिकार योजनाबारे छलफल गरेका थिए । उनले भने, ‘धुनी लगाउनेले नै निभाउनुपर्छ । आगलागी हुने जोखिमप्रति सचेतना पनि जरुरी छ ।’

गत वर्ष धनुषामा आगो ताप्दै गरेका २१ जना डढेर घाइते भएका थिए । धनुषामा समुदाय नागरिकसँगको साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले जनकपुरको रामानन्द चोक, पिडारी चोक, भानु चोक, शिव चोक, मुरली चोक र जिरोमाइललगायतमा विपन्न परिवारका लागि दाउरा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी कँडेल र क्लोथ बैंक जनकपुरका प्रमुख राजीव झाको सक्रियतामा गत मंगलबार राति ३७ वटा कम्बल वितरण गरिएको थियो ।

चिसो बढेयता रौतहटका बजार क्षेत्रमा चहलपहल घटेको छ । कुहिरो डम्म लाग्न थालेपछि राजमार्गमा सवारी आवागमन पनि पातलिएको छ । यस्तो बेला सवारी दुर्घटनाको जोखिम बढी हुने ट्राफिकका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।
व्यापारीहरूले पनि पसल ढिलो खोल्छन्, छिट्टै बन्द गर्छन् । चिसो बढेपछि व्यापार व्यवसाय प्रभावित भएको उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष सुनीलकुमार जैसवालले बताए । अस्पताल, स्वास्थ्य चौकीमा चिसोका कारण बिरामी भने बढेका छन् । हाडजोर्नी, रुघाखोकी र दमका बिरामीको संख्या बढेको चन्द्रपुर अस्पतालका डा. सुभाष चौधरीले बताए । जाडोले बढी प्रभावित हुनेमा मुसहर, डोम र चमारलगायतका दलित बस्ती छन् ।

पोहोर रौतहटमा कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको थियो ।पर्सामा घाम नलाग्ने र पश्चिमबाट चल्ने चिसो सिरेटोले जाडो ह्वात्तै बढाएको छ । अत्यावश्यक काम भएकाबाहेक सर्वसाधारण घरबाट निस्किरहेका छैनन् । वीरगन्जमा बिहीबार बिहान साढे ११ बजे तापक्रम ९ डिग्री सेल्सियस थियो । आदर्शनगरको ग्रिनसिटी सामुदायिक संस्थाले बिहीबार सडकमा सर्वसाधारणलाई निःशुल्क चिया वितरण गर्‍यो । सात सय बटुवालाई चिया खुवाइएको संस्थाका अध्यक्ष जयप्रकाश खेतानले बताए । बटुवालाई आगो ताप्न नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हजार किलो दाउराको व्यवस्था गरिएको छ । वीरगन्जका आदर्शनगर, ग्रिनसिटी र एसटीएफ चोकमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको उनले बताए । बाक्लो कुहिरोले भिजिबिलिटी नभएर सिमरा विमानस्थलबाट हुने हवाई सेवाको उडान प्रभावित भएको छ ।

महोत्तरीमा मंगलबारदेखि घाम लागेको छैन । चहलपहल घटेर महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास र ढल्केबर बजार क्षेत्र सुनसान जस्तै बनेका छन् । जाडो बढेर व्यापार व्यवसायमा असर परेको बर्दिबासकी व्यापारी अञ्जु लिम्बूले बताइन् ।


पूर्वी र मध्यभागमा केही दिन शीतलहर
काठमाडौं । मुलुकको पूर्वी र मध्य भागको तराईमा अझै केही दिन हुस्सु–कुहिरो र शीतलहर हुने देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको तुलनामा पूर्वी र मध्य भागमा बिहीबार केही सुधार आए पनि अझै प्रभाव कायमै रहने देखिन्छ । ‘पश्चिम भागमा भने सुधार आएको छ,’ महाशाखाले भनेको छ, ‘पूर्वी र मध्यभागमा घाम पनि नलाग्ने र चिसो हुने भएकाले सचेत रहनुहोला ।’ शुक्रबारपछि भने केही सुधार आउने महाशाखाले जनाएको छ । पश्चिमको तुलनामा पूर्वी क्षेत्रमा पारदर्शिता (भिजिबिलिटी) पनि घटेको छ । विराटनगरमा ५०, जनकपुर र भैरहवामा सय र सिमरामा दुई सय मिटर मात्र भिजिबिलिटी छ । पश्चिमको नेपालगन्ज र धनगढीमा भने क्रमशः १ हजार ८ सय र हजार मिटर छ ।

हिउँले खुम्चियो दैनिकी
(रुकुम पूर्व) ।उत्तरगंगाको ठूलो झार्लुङका मनबहादुर पुनमगरले एक सातायता घर छाडेका छैनन् । भित्रै बस्छन्, आगो ताप्छन् । गाईबस्तु फुकाएका छैनन् । गोठमै स्याहार गरिरहेका छन् । एक साताअघिसम्म यस्तो थिएन । बस्तुभाउ चराउन लैजान्थे । घर बाहिर आउजाउ हुन्थ्यो । अब उनलाई पुरानै अवस्थामा फर्कन केही महिना लाग्नेछ ।

सिस्ने गाउँपालिका–१ की सुवर्णावती बुढा मेलापात गएकी छैनन् । गत बुधबारसम्म मेलापात गरेकी थिइन् । त्यसयता घरभित्र खुम्चिएकी छन् । पहिल्यै जोहो गरेको घाँसपातले बस्तुभाउलाई पुर्‍याएकी छन् । यो सिजनका लागि जोहो गरेको खाद्यान्नले परिवारलाई पुर्‍याइरहेकी छन् । हिउँदभरि अब मेलापात जान नसकिने उनले बताइन् । ठन्डी रहुञ्जेल घरपरिवार र बस्तुभाउका लागि चाहिने कुराको व्यवस्थापन भइसकेको उनले बताइन् । ‘अब मेलापात जाँदैनौं,’ उनले भनिन्, ‘घरभित्रै बसेर काम गर्ने हो ।’

पुन र बुढाको मात्र होइन, पूर्वी रुकुमको उत्तरी क्षेत्रका बस्तीकै चिसोले दैनिकी बदलिएको छ । उनीहरूका लागि सबै महिना एकैनास रहँदैन । मंसिरदेखि वैशाखसम्म चिसोले जनजीवन प्रभावित तुल्याउँछ । अहिले बाक्लो हिमपात भएकाले सर्वसाधारण घरभित्रै खुम्चिएका हुन् । कतिबेला हिउँ पर्छ भन्ने पत्तो हुँदैन । त्यसैले उनीहरूले त्यसको पूर्वतयारी गरेका हुन्छन् । हिमपातको मौसम सामना गर्न मानसिक रूपमा तयार हुन्छन् । खाने, बस्ने तथा बस्तुभाउलाई खुवाउने बन्दोबस्त ठन्डी सुरु हुनुअघि नै गर्छन् । यी बस्ती नै हिमालमुनि छन् । यो यामलाई स्थानीयले भेटघाट, गफगाफको अवसरका रूपमा लिने गर्छन् । ‘हिउँ नपर्ने हिउँद हुने कुरै भएन,’ सुवर्णवतीले भनिन्, ‘यसैले हाम्रो हिउँ पर्नुअघि र परेपछिका काम फरक पर्छ ।’

बाक्लो हिमपातपछि यतिबेला बस्ती सेताम्य छ । हिउँ सजिलै र छिटो पग्लँदैन । घाम लाग्ने ठाउँमा केही दिनमा पग्ले पनि मेलापात गर्ने जंगल, खोलानालातिर तीन महिनासम्म पनि हिउँ हुने भएकाले बाहिर निस्केर काम गर्न नसकिने मनबहादुरले बताए । ‘मेलापात गर्न नपाएपछि घरमा बस्नै पर्‍यो,’ उनले भने, ‘मंसिर–पुसदेखि चैतको अन्तिमसम्म त घरभित्र हुने काम मात्रै हुन्छन् ।’ मान्छे घरभित्रै र बस्तुभाउ पनि गोठभित्रै हुन्छन् ।

संघीयतापछि रुकुमबाट रुकुम पूर्व छुट्टै जिल्ला बन्यो । देशभरका अन्य १९ र रुकुम पूर्वसहित २० हिमाली जिल्ला घोषित भए । प्रदेश ५ को यो एकमात्रै हिमाली जिल्ला हो । ‘यहाँको जीवनशैली दुई किसिमको छ,’ पुथाउत्तरगंगा गाउँपालिका सदस्य जिताराम कामीले भने, ‘सातदेखि आठ महिना एउटा जीवनशैली हुन्छ भने चारदेखि पाँच महिना अर्कै जीवनशैली हुन्छ ।’ चिसोले सर्वसाधारणको जीवनशैली फेर्न बाध्य बनाउने उनले बताए ।

हिउँ पर्नुअगावै सर्वसाधारणले दाउरा, घाँसपात, सोत्तर र अन्नपानी जम्मा गर्ने गर्छन् । जति दिनसम्म हिउँ परे पनि पुग्ने गरी तयारी सर्वसाधारणले गरेका हुन्छन् । आफ्ना लागि पिठोदेखि अरू खानेकुराको व्यवस्थापन गर्ने, गाईबस्तुका लागि पनि खर तथा अरू घाँसपातको व्यवस्थापन पहिल्यै हुन्छ ।

हिउँ परेपछि त्यसबाटै व्यवस्थापन गर्ने गरी मिलाएका हुन्छन् । असोज महिनापछि सर्वसाधारणले हिउँ पर्ने समयका लागि भनेर हरियो खर काटेर सुकाउँछन् भने आफ्नाका लागि चुलोमा बाल्ने दाउरा जम्मा गर्छन् । हिउँ पर्‍यो भने घरभित्रै बसेर गेडागुडी र जाँडरक्सी खाने चलन धेरै छ । चिसो पचाउनलाई पनि जाँडरक्सी खाने चलन रहेको स्थानीयले बताए । हरियो मकै उसिनेर पनि सुकाएर राखिएको हुन्छ, त्यसलाई पकाएर खाने, सिमी तथा आलु पकाएर खाने चलन छ ।

‘हाम्रा सबै बस्तीमा बाक्लो हिमपात हुन्छ,’ पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगर भन्छन्, ‘हिमपातका कारण केही समस्या नहोस् भनेर विपद् जोखिम टार्न के–के गर्ने भनेर कार्ययोजना बनाएका छौं ।’ प्रतिकार्यमा यसलाई पनि समेटिएको छ ।’ आफूहरू पहिल्यैदेखि हिमपातको दैनिकीमा रहेकाले सहन गर्न सक्नेसम्मको हिउँमा रमाइलै हुने उनको भनाइ छ ।

प्रकाशित : पुस ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाई पालेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

सबै खर्च कटाउँदा मासिक डेढ लाख बचत 
सन्जु पौडेल

रुपन्देही — रुपन्देहीको तिलोत्तमा–६ का ३६ वर्षीय ओमप्रकाश काफ्ले र ३५ वर्षीया श्रीमती सरस्वती दम्पतीले अहिले साना र ठूला गरी ६५ गाई पालेका छन् । तिनबाट दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूध आफैं बिक्री गर्छन् । फुटकर प्रतिलिटर ७२ र डेरीमा प्रतिलिटर ५८ रुपैयाँमा बिक्री भइरहेको छ ।

ओमप्रकाश १९ वर्षकै उमेरमा कोरिया हानिए । त्यहाँ उनले मेनुफेक्चर, बंगुर फर्म, गाई फर्म र गुलाफ फूलको बगैंचामा काम गरे । ओमप्रकाशले १५ वर्ष र सरस्वतीले पाँच वर्ष कोरियामै बिताए । त्यहाँको सीपले स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा जागेपछि सन् २०१७ मा स्वदेश फर्किए र दुवैले गाई पाल्न सुरु गरे ।

‘कोरियामा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्न सके छोराछोरी र परिवारको साथमा बसेर खुसी र सुखी रहन सकिन्छ,’ उनले भने, ‘त्यही सोचले दुवै जना फर्कियौं र व्यवसाय सुरु गर्‍यौं ।’

दम्पतीले गाई पाल्न सुरु गरेको दुई वर्ष भयो । उनीहरूले स्थानीय दुई युवाले सुरु गरेको शुद्धोधन–४ स्थित मोर्डन इन्ट्रिग्रेटेड एग्रो फर्म खरिद गरेका थिए । आठ बिघा जमिन छ । फर्ममा होलस्टेन र जर्सी गाई छन् ।

कोरियामा हुने गाईगोठको नमुनाजस्तै अग्लो, फराकिलो, गाईलाई टेक्न फुटम्याट बिच्छ्याएर सफा राखेका छन् । पराल र घाँस काट्ने मेसिन छ । दूध दुहुन पनि प्रविधिकै प्रयोग हुन्छ । शुद्धोधनमै रहेको दुग्ध डेरीमा दूध बिक्री हुन्छ । त्यसबाट हुने आम्दानीले ६ जनाले रोजगारी पाएका छन् । उनीहरूको पारिश्रमिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म छ ।

‘सिजनमा तीन सय लिटरसम्म दूध बिक्री हुन्छ,’ सरस्वतीले भनिन्, ‘सबै खर्च कटाएर डेढ लाख सजिलै बचत हुन्छ ।’ मिहिनेत अनुसार काममा खुसी मिलेको उनले सुनाइन् । प्रदेश सरकारले वितरण गरेको अनुदानमा अनियमितता आएको खबर सार्वजनिक भएका बेला अनुदान नै नलिई काम गरेका उनीहरूलेआफ्नो फर्मको अनुगमन मात्र गरिदिन आग्रह गरेका छन् ।

आठ बिघामध्ये दुई बिघामा उन्नत जातको घाँस लगाएका छन् । बीउ गाउँपालिकाको पशु सेवा केन्द्रले सहयोग गरेको छ । त्यसबाहेक अन्यत्रबाट कुनै सहयोग नपाएको ओमप्रकाशले बताए । घरमै प्रसस्त दूध भए पनि त्यसको विविधिकरण गर्न नसकेको उनले सुनाए ।

सिभिल इन्जिनियर अध्ययन गरेका रुपन्देहीको शुद्धोधन–४ का डेमप्रसाद पौडेल सात वर्षदेखि गाईभैंसीसित रमाइरहेका छन् । पुलचोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनले त्यसअनुसार काम गरेनन् । गाउँ फर्केर राजनीतिमा केही समय बिताए । सामाजिक काम गरे । पछिल्लोपटक नवदुर्गा गाईभैंसी फर्म सञ्चालन गरिरहेका छन् ।

सुरुमा पाँचवटा गाईभैंसी पालेका थिए । २५ लाख रुपैयाँ लगानी गरे । अहिले गोठमा ७० भन्दा बढी गाईभैंसी छन् । २४ वटा ब्याउने छन् । डेढ करोड रुपैयाँ लगानी पुगेको छ । फर्मबाट दैनिक १ सय ५० लिटर दूध बिक्री भइरहेको उनले बताए । फर्ममा होलस्टेन, जर्सीलगायतका गाई छन् । आठ जातका भैंसी छन् ।

८५ वर्षीय पिता आत्मारामले गोठ सफाइ गर्ने र दाना खुवाउँछन् । मेसिनबाट आमा र श्रीमतीले दुहुने काम गर्छन् । श्रीमती गोमा र बुबाआमाको साथले यो पेसा फस्टाएको उनले बताए ।

आठ बिघा क्षेत्रफलमा फर्म र घाँसखेती गरी आम्दानी गरिरहेका उनले २ छोरा र छोरीलाई पढाइरहेका छन् । फर्ममा तीन कर्मचारी पनि काम गर्छन् । फर्मले गत वर्ष प्रदेश सरकारबाट चार लाख रुपैयाँ अनुदानसमेत पाएको थियो ।

प्रकाशित : पुस ४, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×