राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र समाजवादीले सिट गुमाउँदै

नेकपाले १८ मध्ये १६ सिट जित्ने 
प्रदेश २ मा राजपाको दुई सिट सुरक्षित 
राजेश मिश्र

काठमाडौँ — नयाँ राजनीतिक घटनाक्रम विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् ।

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र समाजवादीले सिट गुमाउँदै

प्रदेश २ बाहेकका सबै प्रदेशमा नेकपाको सहज बहुमत छ भने नेकपाले बुधबार राजपासँग गठबन्धन गरेपछि अरूले कुनै सिट नजित्ने देखिएको छ । प्रदेश २ बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २/२ सिट बाँडफाँट गरेकाले राजपाको दुई सिट आउनेछ ।


राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।


राष्ट्रिय सभामा रहेका आफ्ना २ जना सदस्यको पदावधि सकिन लाागेपछि त्यसलाई जोगाउन राजपाले नेकपासँग गठबन्धन गरेको छ । राजपाले आफ्नो सिट सुरक्षित गरेसँगै २ सिटको प्रत्यक्ष फाइदा नेकपालाई पुग्ने भएको छ । प्रदेश २ बाट कांग्रेस र समाजवादीबाट रिक्त हुने १/१ सिट नेकपाको भागमा पर्ने निश्चित जस्तै छ । तर, गोप्य मतदान हुने भएकाले ‘भोट क्रस’ हुने सम्भावना पनि छ ।


राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कुल मतदाताको संख्या २ हजार ५६ छन् । प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । प्रदेशगत रूपमै निर्वाचन आयोगले सञ्चालनमा ल्याउने निर्वाचन कार्यालयमा मतदान हुनेछ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारित छ ।


यसपटक प्रदेशगत रूपमा प्रत्येक समूहबाट एक/एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने उम्मेदवारले चुनाव जित्नेछन् । यसअघि एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट मतदान भएको थियो । एक जना सदस्यमात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट भएको थियो ।


प्रदेश १ को प्रदेशसभाका ९३ सदस्यमध्ये ६६ जना र स्थानीय तहका २ सय ७४ जना मतदातामध्ये १७० नेकपाका छन् । त्यहाँ कांग्रेसको प्रदेशसभा सदस्य २१ र स्थानीय तहका ८९ मतदाता छन् । प्रदेशसभामा समाजवादी ३, राप्रपा १, संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र १ छन् । स्थानीय तहमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का ७, राप्रपा र समाजवादीका ४/४ जना मतदाता छन् ।


त्यहाँबाट निर्वाचित नेकपाका खेमराज नेपाली, हरिचरण सिवाकोटी र कांग्रेसका सरिता प्रसार्इंको दुईवर्षे कार्यकाल सकिन लागेको हो । उक्त प्रदेशबाट महिला १, दलित १ र अन्यबाट १ जनाका लागि चुनाव हुँदै छ ।


प्रदेश २ मा राजपाका वृषेशचन्द्र लाल र रमेशप्रसाद यादव, कांग्रेसकी मुक्ताकुमारी यादव र समाजवादी पार्टीका रामपृत पासवानको कार्यकाल सकिने भएपछि चार पदका लागि चुनाव हुँदै छ । नेकपा र राजपाको गठबन्धनसित प्रदेश २ मा बहुमत छ । प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपाका २५ र नेकपाका ३२ जोड्दा ५७ मत एक ठाउँमा भएको छ । स्थानीय तहका कुल २ सय ७२ मतदातामध्ये नेकपाका ८३ र राजपाका ५४ जोड्दा १ सय ३७ पुग्छ । त्यहाँ प्रदेशसभामा कांग्रेसका १९, समाजवादीका २९, संघीय समाजवादी १ र स्वतन्त्र १ सदस्य छन् । स्थानीय तहमा कांग्रेसका ७५, समाजवादीका ५२, तत्कालीन फोरम लोकतान्त्रिकका ६, जनता दलका २ जना मतदाता छन् ।


प्रदेश ३ मा १ जना महिला र १ जना अन्य समूहका गरी दुई पदका लागि चुनाव हुन लागेको छ । त्यहाँ नेकपाबाट निर्वाचित बलरामप्रसाद बाँस्कोटा र कांग्रेसबाट निर्वाचित धनकुमारी खतिवडाको पदावधि सकिन लागेको हो । उक्त प्रदेशमा पनि नेकपा बहुमतमा छ । प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका छन् । स्थानीय तहका २ सय ३८ मध्ये १ सय ६६ नेकपाका मतदाता छन् । सामान्य हिसाबले पनि नेकपाले दुइटै सिट जित्नेछ ।


प्रदेशसभामा कांग्रेसका २२, राप्रपाका १, विवेकशील साझाका ३, समाजवादीका १, नेमकिपाका २, राप्रपा (प्र) का १ जना छन् । स्थानीय तहमा कांग्रेसका ६७, राप्रपा २, नेमकिपा २ र समाजवादीको १ जना मतदाता छन् ।


गण्डकी प्रदेशमा राष्ट्रिय सभामा रिक्त हुने महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदै छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेको हो । उक्त प्रदेशमा पनि नेकपाको सहज बहुमत छ । प्रदेशसभाका ६० सदस्यमध्ये ३९ जना नेकपाका छन् । स्थानीय तहका १ सय ७० मध्ये ८२ जना मतदाता नेकपाका छन् । प्रदेशसभामा कांग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना छन् । स्थानीय तहमा कांग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । स्थानीय तहमा कांग्रेस नेकपाको मत बराबरी देखिए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतभार ३० ले फरक रहेकाले नेकपा सहज बहुमतमा छ ।


प्रदेश ५ बाट निर्वाचित नेकपाका मीना बुढा, राजकुमार कुँवर र कांग्रेसका दुर्गाप्रसाद उपाध्यायको पदावधि सकिन लागेको छ । त्यहाँ महिला, अल्पसंख्यक र अन्य समूहबाट १/१ जनाका लागि निर्वाचन हुँदै छ । प्रदेशसभा र स्थानीय तहका कुल मतदातामध्ये नेकपा सहज बहुमतमा छ । प्रदेशसभाका कुल ८७ सदस्यमध्ये नेकपाका ६१ जना छन् । स्थानीय तहका २ सय १८ मतदातामध्ये नेकपाका १ सय ३१ जना छन् ।


प्रदेशसभामा कांग्रेसका १९, समाजवादीका ५, राजपाका १ र जनमोर्चाका १ जना छन् । स्थानीय तहमा कांग्रेसका ६४, समाजवादीका १२, जनमोर्चाका ४, स्वतन्त्र ३, राप्रपाका २, फोरम (लोकतान्त्रिक) का २ जना मतदाता छन् ।


कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा रिक्त हुने नेकपाका युटोल तामाङ र कालीबहादुर मल्लको स्थान पूर्तिका लागि चुनाव हुन लागेको छ । त्यहाँ महिला र अन्य समूहबाट १/१ जना चुनिने छन् । प्रदेशसभाको कुल ४० सदस्यमध्ये ३३ जना नेकपाका छन् । प्रदेशसभामा कांग्रेसका ६ र राप्रपाका १ जना छन् ।


स्थानीय तहका १ सय ५८ जना मतदातामध्ये नेकपाका १ सय १० र कांग्रेसका ४० जना छन् । राप्रपाका २ र स्वतन्त्रका ६ जना छन् ।

प्रदेश ७ मा पनि राष्ट्रिय सभाका २ सदस्यका लागि चुनाव हुन लागेको छ । त्यहाँबाट निर्वाचित नेकपाका कमलाकुमारी वली र कांग्रेसका बद्रीप्रसाद पाण्डेको दुईवर्षे पदावधि सकिन लागेको छ । महिला र अन्य समूहबाट १/१ सिटका लागि हुन लागेको चुनावमा नेकपाले सहजै बहुमत ल्याउने देखिन्छ । प्रदेशसभाका ५३ मध्ये ३९ सदस्य नेकपाका छन् । स्थानीय तहका कुल १ सय ७६ मतदातामध्ये १ सय २ जना नेकपाका छन् । प्रदेशसभामा कांग्रेसका १२ र राजपाका २ जना सदस्य छन् । स्थानीय तहमा कांग्रेसका ७२ र तत्कालीन फोरम (लोकतान्त्रिक) का २ जना मतदाता छन् ।

प्रकाशित : पुस ४, २०७६ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?