२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उच्च अदालतद्वारा जिल्लाको आदेश सदर, महरा पुर्पक्ष थुनामै 

कृष्ण ज्ञवाली

काठमाडौँ — उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश गरेको छ ।

उच्च अदालतद्वारा जिल्लाको आदेश सदर, महरा पुर्पक्ष थुनामै 

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाण्डौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको अदालतका राजिस्ट्रार बाबुराम दाहालले बताए ।


‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाण्डौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाण्डौंका एक नम्बर न्यायाधीश सुदर्शन पाण्डेको आदेशपछि महरालाई डिल्लीबजार कारागारमा छन् । आफूलाई कानूनी आधारविना पुर्पक्ष धुनामा पठाएको भन्दै महराले फेरी आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिने बाटो खुला छ । बलात्कारको प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाण्डौंमा विचाराधिन छ ।


संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको आरोपमा गत असोज १७ गते राति उनले फोनबाट प्रहरीमा उजुरी दिएकी थिइन । उजुरीका आधारमा प्रहरीले उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महरामाथि साढे ७ वर्ष कैदको माग दाबी थियो ।

प्रकाशित : पुस ३, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?