३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उदयपुरमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

उदयपुर — उदयपुरको उदयपुरगढी गाउँपालिका–३, तामडाँडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जिप दुर्घटना भएको हो ।

उदयपुरमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष मनोज कार्कीले बताए । दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था जटिल रहेकोले थप उपचारका लागि विराटनगर पठाइएको वडाध्यक्ष कार्कीले बताए ।

जिपमा सवार भारतको सिक्किममा बसोबास गर्ने र उनीहरु आफन्त भेटघाट गरी फर्कने क्रममा दुर्घटनामा परेको वडा नम्बर २ का अध्यक्ष इन्द्र राउतले जानकारी दिए ।

मृतक तीनै जना पोखरातिर मजदुरी गर्न जानका लागि जिपमा सहयोग मागेर कटारीसम्म जाँदै थिए । कटारी हुँदै उनीहरु पोखरा जाने तयारीमा थिए ।


३ जना घाइतेको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहेको स्थानीय देव गिरीले बताए ।


नयाँ बाटो र बाक्लो हुस्सुको कारण दुर्घटना भएको स्थानीयले अनुमान गरेका छन् । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।

घटनास्थल सदरमुकाम गाईघाटदेखि करिब ७० किलोमिटर टाढा रहेकोले इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए ।

प्रकाशित : पुस ३, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?