१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : कूटनीतिक तहबाट सीमा समस्या समाधान हुन्छ  

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा समस्या समाधान कूटनीतिक तहबाट हुने सर्वोच्च अदालतलाई जवाफ दिएका छन् । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेकोबारे प्रधानमन्त्री र नेपाल सरकार समेतलाई विपक्षी बनाइ अधिवक्ता कृष्णकंचन न्यौपानेले दायर गरेको रिटको ओलीले सर्वोच्चलाई लिखित जवाफ दिएका हुन् ।

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : कूटनीतिक तहबाट सीमा समस्या समाधान हुन्छ  

जवाफमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको र त्यसबारे भारतले एकतर्फी रूपमा गरेका कुनै पनि निर्णय नेपाललाई मान्य नहुने बताएका छन् ।

सीमा विवादको विषय कूटनीतिक तवरबाट समाधान प्रयास अगाडि बढेकाले अदालतबाट आदेश आउन आवश्यक नभएको पनि जवाफमा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

१० बुँदे लिखित जवाफमा प्रधानमन्त्रीले लेखेका छन्, 'नेपाल सरकारबाट निरन्तर कूटनीतिक पहल भइरहेको छ । नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारबाही भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै आदेश जारी हुनुपर्ने नहुँदा रिट निवेदन खारेजभागी छ ।'

भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेकोबारे सरकारले मंसिर ४ गते कूटनीतिक माध्यमबाट पत्र पठाएर निर्णय सच्च्याउन अनुरोध गरिसकिएको प्रधानमन्त्रीको पत्रमा उल्लेख छ । 'ऐतिहासिक दस्तावेज, तथ्य प्रमाणसमेतको आधारमा कालापानी लिपुलेक लिम्पियाधुरा सुस्तासहितका स्थानाका सिमाना सम्बन्धी समस्या समाधानको लागि नेपाल सरकार क्रियाशील छ', प्रधानमन्त्रीले अदालतलाई दिएको जवाफी पत्रमा लेखिएको छ ।

सरकारले सीमा सुरक्षा चुस्त दुरुस्त राख्ने काम अगाडि बढाएको पनि प्रधानमन्त्रीको जवाफमा लेखिएको छ ।

प्रकाशित : पुस २, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?