१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘सिद्धबाबा’ अझै ७ दिन प्रहरी निगरानीमा, अस्पताल बन्यो ‘भिआइपी हिरासत’

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरी जिल्ला अदालतले सोमबार ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको सम्बन्धमा अस्पतालमै निगरानी राखेर अनुसन्धान गर्न चौथोपटक ७ दिनको म्याद थप गरेको छ । एक अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरी परेपछि उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘सिद्धबाबा’ अझै ७ दिन प्रहरी निगरानीमा, अस्पताल बन्यो ‘भिआइपी हिरासत’

पिडित महिलाको उजुरी पर्नासाथ बिरामी भएको भन्दै उनी प्रहरी हिरासतमा नबसी विराटनगरको विराट नर्सिङ होमको डिलक्स रुममा बसेकाले प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने गिरी अझै ७ दिन प्रहरी निगरानीमा रहने भएका हुन् ।


यसअघि सुनसरी जिल्ला अदालतबाट ७ दिनको, ४ दिनको र ३ दिनको गरी १४ दिन म्याद थप गरिएका अभियुक्त गिरी चौथो पटक ७ दिन म्याद थप भएलगतै प्रहरीले उनलाई विराट नर्सिङ होममै फर्काउन बाध्य भएको छ । प्रहरीले अनुसन्धान सकिएको संकेत गरेको थियो । तर अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पुनः म्याद थपको मागसहित अदालत पेस गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको सरकारी वकिल गोकुल निरौलाले बताए ।


सुनसरी प्रहरीले सोमबार दिउँसो अभियुक्त गिरीलाई म्याद थप गर्न अदालत पुर्‍याएको थियो । जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले थप ७ दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थपेको हो । अदालतले सोमबारबाट लागु हुने गरी थप भएको ७ दिनमा प्रहरीलाई कृष्णबहादुर गिरी उपर थप अनुसन्धानसहित उपस्थित गराउन भनेको छ । यसअघि प्रहरीले ३ दिनको म्याद सकिएसँगै कृष्णदासको मुद्दा अदालत समक्ष बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान गरिरहेका सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले अदालतबाट ७ दिनको म्याद थप भएसँगै निगरानीमा रहने गरी उपचारका लागि कृष्णदासलाई अस्पतालमै पुर्‍याइएको बताए ।


अबको एकसातामा अनुसन्धान सकिएमा प्रहरीले मिसिल बुझाउने छ । सरकारी वकिलका अनुसार अनुसन्धानका मिसिल अदालतमा बुझाएपछि थुनछेकको दोहोरो बहस हुनेछ । दोहोरो थुनछेक बहसपछि गिरीलाई सादा तारेखमा छाड्ने वा धरौटीमा छाड्ने कि पूर्पक्षकालागि कारागार चलान गर्ने अदालतले आदेश दिन सक्ने छ ।

प्रहरीले यसअघि नै ‘सिद्धबाबा’को डीएनए परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भए नभएको निर्कोल विधि विज्ञान प्रयोगशालाले गर्नेछ । ‘सिद्धबाबा’को डिएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन ।


बराहक्षेत्रका महिलाअधिकारकर्मीहरुले कानून सबैका लागि बराबरी भनिएपनि गिरी भने पहुँचकै आधारमा बिरामी भएको बहाना गर्दै प्रहरीको हिरासतमा नबसी अदालतले दिएको म्याद कटाउने प्रयासमा देखिएको बताएका छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?