प्रधानमन्त्रीको निर्देशन– सडक दुर्घटना घटाउने उपाय खोज्नुस् 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई डाकी सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन– सडक दुर्घटना घटाउने उपाय खोज्नुस् 

छलफलमा ओलीले पछिल्लो समय सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिए। ‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढें, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्‍यो ।’

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्यादै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए । यसका साथै ओलीले हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाको छानबिन गर्दै प्रतिवेदन तयार गरी सोही अनुरुपको सुधार गर्न समेत निर्देशन दिए ।


प्रकाशित : मंसिर ३०, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?