३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डोजरको हालीमुहाली, जोखिममा पुल

कहीँ खानीका नाममा त कहीँ बालुवा–गिट्टीका नाममा जथाभावी डोजर प्रयोगले आपत् र विनाश निम्त्याएको छ ।  
वसन्तप्रताप सिंह

(बझाङ) — नदी, खोलाबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा निकाल्दा जिल्लाका कैयौं पुल जोखिममा परेका छन् भने कतिपय सिँचाइ आयोजना बन्द हुने अवस्थामा पुगेका छन् । 

डोजरको हालीमुहाली, जोखिममा पुल

बझाङ सदरमुकाम भएर बग्ने बाहुलीगाड खोलाका साथै सेती नदीको भोपुर, साइलाबगर, रातापानी, तमैल, परिङगाल, रायल, देउरालगायत क्षेत्रमा ठूलठूला डोजर लगाएर ढुंगा, गिट्टी र बालुवा निकालिँदै छ । सुनिगाड, कालंगागाड, तारुगाड, जडारी गाडलगायत खोलाको पनि अवैध तरिकाले दोहन भइरहेको छ । ‘हरेक दिन ५०/६० टिपरले बालुवा र ढुंगा ओसारिरहेका छन् तर कसैले वास्ता गर्दैन,’ परिंगालका लोकेन्द्र गिरीले भने, ‘यही बाटो भएर यहाँका नेता र कर्मचारी हिँडे पनि देखेको नदेख्यै गर्छन् ।’


पुलको संरचना वरिपरि रहेका ढुंगा निकालिएकै कारण झन्डै ३० वर्ष पुरानो पुल बाहुलीगाड खोलाले दुई वर्षअघि बगाएको प्राविधिकले बताए । सदरमुकाम जोड्ने र मोटर चल्ने बाहुलीगाडकै एकमात्र पुलको वरिपरिबाट ढुंगा–बालुवा निकालिँदा पुल बग्ने जोखिम बढेको उनीहरूको भनाइ छ । ‘नदीमा निर्माण भएका संरचना आसपासका ढुंगा र बालुवा झिक्दा नदीको सतह खिइँदै जान्छ,’ सेती लोकमार्ग उत्तरखण्डका प्रमुख इन्जिनियर ऐनबहादुर सिंहले भने, ‘नदीजन्य पदार्थको लगातार दोहनले संरचना जोखिममा परेका छन् । दोहन तत्काल रोक्न जरुरी छ ।’ उनले जथाभावी ढुंगा–बालुवा निकालिएका कारण बाहुलीगाडलगायत क्षेत्रमा केही वर्ष पहिला बनेका सडक पनि जोखिममा परेको बताए । जथाभावी ढुंगा–बालुवा निकाल्दा खोलाको सतह गहिरिँदै गएकाले रिठापाटाको देवल जिउलो सिँचाइ कुलोको बाँध सात वर्षयता १० पटकभन्दा बढी माथितिर सारिएको छ । स्थानीय प्रविन्द्र धामी भन्छन्, ‘यही स्थिति कायम रहे २/४ वर्षमै यो आयोजना बन्द हुन सक्छ ।’ आयोजनाले झन्डै ६० हेक्टर खेतमा सिँचाइ सेवा पुर्‍याइरहेको छ । सेती नदीको सतह गहिरिँदा सुवेडाको धौलाबगर जिउलोको झन्डै २० हेक्टर खेत सिँचाइ गर्ने धौलाबगर सिँचाइ आयोजना केही वर्षअघि बन्द भएको छ ।


सामुदायिक वन उपभोक्ता महासंघका सचिव मंगल खड्का भन्छन्, ‘वातावरणीय अध्ययनबिना भइरहेको उत्खननले केही वर्षभित्रै यहाँको जनजीवनलाई नराम्ररी प्रभावित गर्ने देखिन्छ । अवैध उत्खननको तत्काल नरोके भविष्यमा सबैले पछुताउनुपर्छ ।’


जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले बाहुलीगाड क्षेत्रमा भइरहेको दोहन अवैध भएको बताए । ‘निकाल्नै नमिल्ने ठाउँमा सबैभन्दा बढी दोहन भइरहेको छ,’ उनले भने, ‘यो काम रोक्न जिल्ला प्रशासन कार्यालयलाई पनि पत्र काटेका थियौं । तर वास्ता गरिएन ।’ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने नगरपालिकाको पत्र प्राप्त भएपछि बुझ्न प्रहरीलाई भनेको प्रतिक्रिया दिए । कसलै अवैध तरिकाले नदीजन्य पदार्थ दोहन गरेको भेट्टाए पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो । अवैध रूपमा सबैभन्दा बढी ढुंगा, गिट्टी र बालुवा झिकिने ठाउँ बाहुलीगाड जिल्ला प्रशासन कार्यालयको परिसरसँगै जोडिएको छ ।

प्रकाशित : मंसिर ३०, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?