कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चिरा पर्दै गाउँ 

डिल्लीराम खतिवडा

(बेसारा, उदयपुर) — पहाडको माथिल्लो भागमा रहेको गाउँमुनिबाट निरन्तर चुनढुंगा निकाल्न थालिएपछि चौदण्डीगढी नगरपालिका–८ को टोड्के बस्ती पहिरोको जोखिममा परेको छ । चुनढुंगा खानी सञ्चालन गरिरहेको के के लाइम इन्डस्ट्रिजले पहाड कोपर्न थालेपछि गाउँका सबै २२ परिवार विस्थापित हुने खतरा बढेको छ ।

खानी तथा भूगर्भ विभागका २२ सर्त स्वीकार गरी कम्पनीले चुनढुंगा निकाल्न थालेको थियो । विभागको सर्त नम्बर २ मा ‘पहाडको माथिबाट तलतर्फ उत्खनन गर्दै जानुपर्ने’ उल्लेख छ । तर कम्पनीले त्यसको वास्ता गरेको छैन । ‘चुनढुंगा निकाल्ने भनेर मुनिबाट उत्खनन गरिएकाले गाउँको जमिन चिरा पर्न थालेको छ,’ स्थानीय होमबहादुर राईले भने, ‘गाउँ छाडेर नहिँडे कुन दिन पहिरोले लैजाने हो भन्ने डर छ ।’


टोड्के बस्ती पहाडमाथि छ भने पहाडको फेदमा सुनकोसी नदी बगेको छ । सुनकोसीको केही माथि उत्खनन गर्नुपर्ने भएकाले पहिरोको जोखिम रोक्न बीचबीचमा चेक ड्याम बनाउनुपर्ने पनि सर्तमा उल्लेख छ । होमबहादुर भन्छन्, ‘तर कम्पनीले एउटै चेक ड्याम बनाएको छैन ।’ गत वर्षात्मा खानी भनिएको क्षेत्रमै पहिरो गयो । पहिरो लगातार माथितिर बढिरहेको छ । ‘जबर्जस्ती चुनढुंगा उत्खनन गर्दा सिद्धिपुर, अप्राहा, ढोड्नेलगायत आसपासका गाउँमा पनि असर परेको छ,’ टोड्के टोल विकास संस्थाका अध्यक्ष भवीन्द्र राईले भने, ‘तल उत्खनन गर्न थालेपछि धूवाँधूलोले गावैं ढाकिन्छ, पहाडै हल्लाउने गरी डोजर प्रयोग गरेर ढुंगा निकाल्दा गाउँ चिराचिरा भएको छ ।’


कम्पनीले वन तथा भूसरक्षण विभागसँग गरेको सम्झौतासमेत उल्लंघन गरेको पाइएको छ । सम्झौतामा ‘वनस्पति विकासमा अवरोध पुर्‍याउने, जीवजन्तुको बासस्थानमा हानि/नोक्सानी पुर्‍याउने’ लगायत कार्य नगर्ने भनिएको छ । तर, स्थानीय तिलकबहादुर राईका अनुसार खानीमा प्रयोग गरिने ब्रेकरको आवाजले जंगली जनावरले बासस्थान छाड्दै गएका छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?