मानवअधिकार आयोग प्रहरीजस्तो : मुख्यमन्त्री शाही
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय मानवअधिकार आयोग प्रहरीजस्तो भएको आरोप लगाएका छन् । मानवअधिकारको अवस्थाबारे आयोगले आइतबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा उनले आयोगका गतिविधि घटना भएपछि मुचुल्का उठाउनेमै सीमित भएको बताए ।
‘घटना भएपछि बुझ्ने र मुचुल्का उठाउने काम त प्रहरीले गरिहाल्छ,’ उनले भने, ‘आयोगले त मानवअधिकारबारे व्यापक जनचेतना फैलाउने र सामाजिक अन्तरद्वन्द्वलाई कसरी घटाउने भन्नेतिर आफूलाई केन्द्रित गर्नुपर्छ ।’
मुख्यमन्त्री शाहीले कर्णालीलाई मानवअधिकारमैत्री प्रदेशका रूपमा स्थापित गर्न आयोगको सहयोगको खाँचो औंल्याए । ‘यसका लागि हामीले सिकेका र बुझेका कुरालाई कार्यान्वयन गरौं,’ उनले भने, ‘हामीसँग अरूलाई सिकाउने आफूले नगर्ने प्रवृत्तिमात्र छ, यो प्रवृत्तिलाई पनि अन्त्य गरौं ।’
कार्यक्रममा आयोग सदस्य सुदीप पाठक, निर्देशक मुरारी खरेल, कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देललगायतले मानवअधिकारको स्थितिबारे बोलेका थिए ।
प्रकाशित : मंसिर २९, २०७६ १९:४९