१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपाको प्रतिवेदन : भारतले सीमा मिच्नु नेपालीलाई सह्य छैन

भारतले सुगौली सन्धि उल्लंघन गर्‍यो
बबिता शर्मा

काठमाडौँ — भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्नु नेपाली जनतालाई असैह्य भएको सत्तारुढ नेकपाको प्रतिवेदनमा उल्लेख गरिएको छ । आइतबार सुरु भएको पार्टीको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । 

नेकपाको प्रतिवेदन : भारतले सीमा मिच्नु नेपालीलाई सह्य छैन

भारतको उक्त कदम राजनीतिक र कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने प्रतिवेदनमा छ।

'हालसालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपुलेक र सीमा नदी महाकालीको मुहान लिम्पियाधुरालाई समेत आफ्नो भूभागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको तथ्य प्रकट भइ नै सकेको छ', प्रतिवेदनमा लेखिएको छ, 'हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाल भूमिबाट भारतीय सेना हटाउन, नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ ।'

भारतले सुगौली सन्धी मिचेको प्रतिवेदनमा लेखिएको छ । 'हाम्रो पार्टी र सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ', प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदनमा नेपालले सधैँ असंलग्न परराष्ट्र नीति अपनाउने उल्लेख छ ।दुवै छिमेकी मुलुकको तीव्र आर्थिक विकासबाट लाभ लिने कूटनीतिमा नेपालले जोड दिनुपर्ने प्रतिवेदनमा छ ।

'हामी बिना कुनै बाह्य हस्तक्षेप प्रत्येक साना ठूला राष्ट्रहरूको आफ्नो भाग्यको आफैँ फैसला गर्ने आत्म निर्णयको अधिकारको सम्मान गर्दछौँ', प्रतिवेदनमा लेखिएको छ, 'हामी असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा एवं आर्थिक समृद्धिको चाहना पूरा गर्न चाहन्छौँ ।'

भारतले नेपाली भूमि मिचेको मुद्दालाई नेकपाले पहिलोपटक आफ्नो औपचारिक एजेन्डा बनाएको हो । प्रतिवेदनमाथि सोमबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

प्रकाशित : मंसिर २९, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?