१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्थायी समितिमा दाहालको प्रतिवेदन : एकता नटुङ्गिँदा गुट बढे

सिद्धान्तबारे परीक्षा प्रणाली अपनाउने प्रस्ताव
बबिता शर्मा

काठमाडौँ — पार्टी एकता सुदृढ गर्नका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहालले ८ बुँदामा प्रस्तावहरु राखेका छन् । उनले संगठनलाई सुदृढ बनाउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गरेका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

स्थायी समितिमा दाहालको प्रतिवेदन : एकता नटुङ्गिँदा गुट बढे

परीक्षा प्रणालीको प्रस्ताव

प्रतिवेदनमा पार्टी एकता सुदृढ गर्नका लागि भनी पेश गरेको पहिलो बुँदामा नै मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्ताबारे आधारभूत र उपल्लो स्तरसम्म ज्ञानका लागि आवश्यक परीक्षा प्रणालीसमेत अपनाउनु जरुरी रहेको उल्लेख छ ।

प्रतिवेदनमा पार्टीको स्कुलिङ र प्रकाशनलाई निकै महत्व दिइएको छ । पार्टीको मार्ग दर्शक सिद्धान्तको दर्शन तथा राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादबारे व्यवस्थित र योजनावद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्ने प्रतिवेदनमा छ । पार्टीका मुखपत्र तथा वैचारिक र राजनीतिक प्रकाशनको नियमित प्रकाशन र वितरणमा प्रतिवेदनले जोड दिएको छ । सिंगो पार्टी पंङ्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउने योजना बनाएर कार्यान्वयन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा अध्यक्ष दाहालले अघि सारेका छन् ।

पार्टी अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बैठकमा दाहाल पेस गरेको प्रतिवेदनमा पार्टीको रणनीतिक लक्ष्य र तत्कालीन ठोस कार्यक्रम बारे पनि उल्लेख छ । प्रतिवेदनमा भनिएको छ- 'आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो । तत्कालीन ठोस कार्यक्रम समाजवाद उन्मूख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ ।' यस्तै, पार्टीका सबै कमिटी विभाग मोर्चा र संयन्त्रले कम्तिमा तीन महिनाको कार्य योजना तयार पार्नुपर्ने प्रस्ताव प्रतिवेदनमा छ ।

अध्यक्ष दाहालले पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दती विपरीत बोल्ने, लेख्ने र पार्टी नीति विपरीत भेला बैठक गर्ने काम पनि बन्द गरिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । सोमबारदेखि स्थायी समितिमा बैठकमा प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ।

यस्तै, प्रतिवेदनमा पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा पार्टी संगठन अन्यौलग्रस्त भएको अध्यक्ष दाहालले लेखेका छन् । 'पार्टी संस्थागत छैन । पार्टी भित्र घात अन्तर्घात र अराजकताका प्रवृतिहरु बढिरहेका छन्, पार्टी अनुशासनको स्तर दयनीय अवस्थमा छ' प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?