आन्तरिक विषयमा प्रवेशै नगरी सकियो कांग्रेस बैठक

मधुसुधन भट्टराई

काठमाडौँ — रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेपछि आइतबार बसेका कांग्रेस केन्द्रीय समिति बैठक पार्टीका आन्तरिक विषयबस्तुमा प्रवेश नै नगरी टुंगिएको छ । सभापति शेरबहादुर देउवाले निर्धारित समयभन्दा २ घण्टा ढिलो पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु गरेका थिए । पौडेल पक्षीय नेता प्रकाशमान सिंहले उपसभापति वीमलेन्द्र निधिलाई टेलिफोन गरि बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । 

आन्तरिक विषयमा प्रवेशै नगरी सकियो कांग्रेस बैठक

नेता पौडेल बैठक बहिस्कार गरि स–परिवार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि पुगेका छन् । पौडेलले मन्दिर दर्शन गरेको तस्बिर फेसबुकमा राख्दै भनेका छन् ‘सुप्रसिद्ध तीर्थधाम पाथीभरादेवीको दर्शन गर्ने अवसर प्राप्त भयो, भगवानले सबैको कल्याण गरून ।’ पौडेलले बिहीबारको बैठक पनि बहिस्कार गरेका थिए ।


आइतबारको बैठकमा कृष्णप्रसाद सिटौला पनि सहभागि भएनन् । केन्द्रीय सदस्य एनपी साउदका अनुसार बैठकले संवैधानिक आयोगका सन्दर्भमा सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको छ । उपनिर्वाचन अनुगमन समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । त्यस्तै पछिल्ला दिनमा भएका सवारी दुर्घटनाबारे संवेदनशील हुँदै सडक पूर्वाधार मजबुत बनाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको साउदले जानकारी दिए ।


१४ औं महाधिवेशनको कार्यतालिका नल्याइएसम्म बैठक बहिस्कार गर्ने पौडेलले बताउँदै आएका छन् । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, सहमतिबिना विभागको संख्या थप्न नपाइने र भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्नुपर्ने मागमा सहमति नभएकाले आफूहरु बैठकमा सहभागि नभएको पौडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले बताए । संस्थापन पक्ष भने समायोजनको काम सकिएपछि कार्ययोजना ल्याउने बताइरहेको छ ।


प्रवक्ता विश्वप्रकाश शर्माले सबैको सहभागितामा निर्णय गर्नका लागि आइतबारको बैठकमा बिहीबार प्रस्तुत भएका नौ एजेण्डामा छलफल मात्रै गर्ने कार्यतालिका सभापतिले बनाएको बताए । ‘हामी पार्टीमा सहमति र सहकार्यबाट अगाडी बढ्न चाहन्छौं । अहिलेसम्म भएका वार्ता सकारात्मक रुपमा अगाडी बढेकाले छलफल मात्रै गर्नेगरी सभापतिले आजको बैठक सुरु गर्नु भएको छ,’ प्रवक्ता शर्माले भने, ‘भोलीको बैठकसम्म सहमति निस्कनेमा हामी विश्वस्त छौ ।’


शनिबार सभापति देउवाले उनकै निवासमा पुगेर नेता रामचन्द्र पौडेललाई मनाउने प्रयास गरेका थिए । देउवाको प्रयास असफल भएपछि उपसभापति निधिले पौडेल पक्षीय नेताहरुसँग निरन्तर भेटिरहेका छन् । तर, महाधिवेशनको कार्यतालिकामा कुरा मिल्न सकेको छैन् ।

प्रकाशित : मंसिर २९, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?