कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दुर्घटनाका घाइते भन्छन्: चालक झ्यालबाट हाम्फालेर बेपत्ता भए

दुर्घटनाको डरले अघिल्लो रात लिसंखुपाखरमा बस बसेका थिए
अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरु यस्तै होला भन्ने डरले अघिल्लो रात उतै बास बसेर आएको तर चालकको लापरबाही गर्दा दुर्घटना भएको बताउँछन् ।

दुर्घटनाका घाइते भन्छन्: चालक झ्यालबाट हाम्फालेर बेपत्ता भए

दैवले बचायो !

दीपक तामाङ

शनिबार नै दोलाखाको कालिञ्चोक मन्दिर दर्शनको लागि यात्रा सुरु गरेका थियौं । मेरो खास घर जुगल गाउँपालिकाको याङ्लाकोट हो । धेरै भयो भक्तपुरको आर्दश नगरमा बस्दै आएको । हामी सबैजसो एउटै गाउँले मिलेर कालिञ्चोक माइको दर्शन गर्ने र हिउँको रमाइलो हेर्ने भनेर गएका थियौं ।


हिउँले ढाकेको रमाइलो हेरिसकेपछि कालिञ्चोक माई मन्दिर दर्शन गरियो । दर्शन गरिसकेपछि गएका जति सबै एउटै बसमा फर्कियौं । बसमा ३० जना जति थियौं । राति नै फर्किदा बाटो गाह्रो भएकाले दुर्घटना हुनसक्ने डरले लिसंखुपाखरको मुडे बजारमा बस्यौं । आइतबार बिहानै मुडेबाट झरियो । सबैजना हासीखुसी थिए ।


घाइते दीपक तामाङ ।

लामोसाँघु–जिरी सडक अलि कच्ची थियो । सुनकोसी स्वाराको ५ किलोमा आइपुग्दा बस अचानक हल्लिन थाल्यो । त्यसपछि के भयो मलाई थाहा छैन, म त बेहोस भएछु । मलाई उद्दार गरेर खाडीचौर बजारको सिन्धुसदाबहार अस्पताल लगिएछ । मेरो अस्पतालमै होश आयो । टाउको र आँखामा चोट लागेको छ । हेर्न पनि साह्रै गाह्रो छ ।


चालकले जर्बजस्ती गर्दा यस्तो भयो

धानकाजी तामाङ

मेरो घर जुगल गाउपालिका पेपटार हो । हामी भक्तपुरमा बस्दै आएका छौं । सबै मिलेर कालिञ्चोक दर्शन गर्न गएको । फर्किदा दुर्घटना हुने डरले नै हामीहरु शनिबार बेलुका नहिँडी उतै बसेका थियौं ।


सुरुदेखि नै बसको स्टेरिङ साह्रो भयो भन्दै चालकले गन्थन गर्दै थिए । ५ किलोभन्दा अलि माथि आइपुग्दा मोडमा बेस्कन ब्रेक लगाएको आवाज आयो । धुँवा पनि आयो । त्यसको दुर्गन्धले मुख छापिरहेको थियौं । चालक त झ्यालबाट हाम फालेर बेपत्ता भए । हेर्दा हेर्दै बस खस्यो । आफैं चढेको बस खसेको देख्दादेख्दै म एकदमै एकोहोरो भएँ । दुई वर्षे छोरो समातेर भाउजु दाई पछाडी बसेर अत्तालिदै हुनुहुन्थ्यो ।

बस तल आइपुगेर बजारियो । चर्को आवाजसँगै झ्यालको सिसा फुट्यो । म बसबाट बाहिर हुत्तिएर बेहोस भएछु । अस्पतालमा होश खुल्यो ।


बसमा धेरै मान्छे थिएनन् । त्यही ३०–३१ जना हो । चालकले जर्बजस्ती ल्याएकाले यस्तो भयो ।


भाउजुसहित दाईको छोरालाई सामान्य चोट लागेको छ । यही खाडीचौरको अस्पतालमा मसँगै उपचार हुँदैछ । दाई बित्यो भन्छन् । साह्रै रुन मन लागेको छ । म चाहिँ भाग्यले बाँचें ।


शिशु कसको हो पत्ता लगाइदिनुस्

कार्केल लामा

दुर्घटनाले सबैतिर कोलाहल मच्चिएको छ । १४ जनाको मृत्यु भयो । सबैजसो एउटै गाउँटोलका मान्छे । १८ घाइतेलाई काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ ।


यी मध्ये एउटी शिशु अलपत्र परेकी छिन्, कसको हो पत्ता लगाइदिनुपर्‍यो । म बलेफि गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष हुँ । दुर्घटनाका मृतक र घाइतेको आफन्त आइरहेका छन् । तर, यी नानीको कोही पनि आएको छैन । लौन, पत्ता लगाउन मद्धत गरिदिनुपर्‍यो ।

गंगा तामाङः

हिजो हामी यहाँबाट २–३ बजेतिर गएका हौँ । चरिकोट कति बजे पुग्यौँ थाहा भएन । हिँउले गर्दा खेरि गाडीमाथि जान सकेन । माथि हामी हिँडेर गयौँ । हामी त्यसपछि मुडेमा बास बस्यौँ । आज बिहान यस्तो भयो के गर्नु नी !


गाडी त आउँदा खेरि बिग्रेको त थिएन । ड्राइभरको सीट खै खलासीहरुले कता लगेर बनाए । श्रीमान सँगै हुनुहुन्थेन। श्रीमानको नाम सुकबहादुर तामाङ उहाँ अगाडी बस्नुभएको थियो । सिटमा बसेको की उभिएको मलाई थाहा भएन। अहिले मैले उहाँलाई भेटेको छैन । देखेको छैन । उहाँलाई देखेको कसैले बितेको भन्छन् मलाई मान्छेहरुले मलाई थाहा भएन । उहाँको दाइको छोराहरुले अब यस्तै भयो बच्चाहरु स्याहार गरेर बस्नु भनेका छन् । मेरा दुई छोरी छन् ।

प्रकाशित : मंसिर २९, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?