घूसकाण्डमा मुछिएका डिभिजन सिँचाई प्रमुख किर्ते अभियोगमा पुनः पक्राउ

दोलखा — घूस काण्डको मुद्दामा धरौटीमा छुटेका जलस्रोत तथा सिँचाई विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी सरकारी छाप र लेटरप्याड किर्ते गरेको अभियोगमा पुनः पक्राउ परेका छन् । 

घूसकाण्डमा मुछिएका डिभिजन सिँचाई प्रमुख किर्ते अभियोगमा पुनः पक्राउ

१४ लाख नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी घूस अभियोग लगाउँदै मुद्दा दर्ता गरेकोमा उनलाई विशेष अदालतले धरौटीमा छाडेको थियो । त्यसपछि फरार उनी पुनः पक्राउ परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।


चितवन रत्ननगर नगरपालिका ४ घर भई किर्तिपुर नगरपालिका २ बस्दै आएका उनलाई प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेको हो । उनलाई शनिबार दोलखा ल्याइएको छ ।


आर्थिक वर्षको अन्त्यमा १४ लाख बोकेर सरकारी गाडीबाट काठमाडौं जाँदै गर्दा उनी बाटैमा पक्राउ परेका थिए । पक्राउपछि आख्तियारको टोलीले छापा मार्दा उनको कार्यकक्षबाट नक्कली छाप र लेटरप्याड तयार गरी किर्ते गरेको कागज फेला परेको थियो ।


अख्तियारले विधि विज्ञान प्रयोगशालामा उक्त छाप र लेटरप्याडहरु पठाएर किर्ते ठहर भएपछि दोलखा प्रहरीलाई प्रतिवेदनसहित पठाएको थियो । त्यसैको आधारमा फरार अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक राईले बताए । अधिकारीलाई प्रहरी कार्यालय दोलखाको हिरासतमा राखिएको छ ।



प्रकाशित : मंसिर २९, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?