कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पौडेल पक्षले आज पनि केन्द्रीय समिति बहिष्कार गर्ने

उपसभापति निधि र महामन्त्री सशांकबीच 'वार्ता'
मधुसुधन भट्टराई

काठमाडौँ — नेता रामचन्द्र पौडेल पक्षले आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिका पेस नगर्दासम्म बैठक बहिष्कार जारी राख्ने पौडेल पक्षका वार्ता समिति सदस्य हृदयराम थानीले जानकारी दिए ।

पौडेल पक्षले आज पनि केन्द्रीय समिति बहिष्कार गर्ने

‘हाम्रो मुख्य अडान १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा पेस हुनुपर्छ भन्ने हो । कार्यतालिका पेस नगर्दासम्म हामी बैठकमा सहभागि हुँदैनौं,’ केन्द्रीय सदस्य थानीले भने ।


पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको, सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।


असन्तुष्ट नेता पौडेललाई मनाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित शनिबार बिहान उनकै निवासमा पुगेका थिए । पौडेलले कार्यातालिकाको अडान दोहर्‍याएपछि दिउँसो वार्ता समितिमा छलफल गर्ने गरी बैठक विना निष्कर्ष टुंगियो । साँझ नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा सस्थापन पक्षबाट उपसभापति निधि तथा पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडू र थानीबीचको वार्तामा पनि कुरा मिलेन ।


आइतबार बिहान पुनः निधिले पौडेल पक्षमा महामन्त्रीबीच विवाद समाधानका विषयमा छलफल भएपनि कुनै सहमति बन्न सकेन । ‘उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल सम्पन्न भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘चार मुख्य विषयमा पार्टीभित्र सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।’


कार्यतालिका ल्याउने, नेविसंघ र तरुण दलको महाधिवेशन आयोजक समिति बनाउने, विभागको संख्या थप र पार्टीमा समिति र क्रियाशील सदस्यता समायोजनमा सहमति निर्माण गरेर अगाडि बढ्ने प्रयासमा निधि लागेका हुन ।


निधिले केन्द्रीय कार्यसमिति बैठक बस्नु अगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता सिंहसँग पनि विवाद समाधानका विषयमा छलफल गर्ने प्रवक्ता शर्माले बताए ।


केन्द्रीय कार्यसमिति बैठक १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?