कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उच्च पहाडमा बाक्लो हिमपात

ताप्लेजुङ, संखुवासभा, मनाङ, मुस्ताङ, गोरखा, मुगुलगायत जिल्ला हिमपातले बढी प्रभावित 

(गोरखा) — हिमपातले उत्तरी गोरखाका बस्तीहरूमा जनजीवन प्रभावित भएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत सामागाउँ र छेकम्पारमा दुई फिटसम्म हिउँ जमेको छ । शनिबार बिहान १० बजेदेखि हिउँ पर्न रोकिए पनि जमेको हिउँ नपग्लँदा समस्या भएको स्थानीयले बताए । 

उच्च पहाडमा बाक्लो हिमपात

हिउँ परेर लाप्राक सेताम्य भएको छ । हिउँले सडक अवरुद्घ भएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष राज गुरुङले बताए । ‘सडकमै हिउँ जमेको छ, शुक्रबार बिहानबाट ट्रक र ट्याक्टर पनि चल्न सकेका छैनन्,’ उनले भने, ‘गाडी बारपाकमै रोकिएका छन् । हिउँ नपग्लिएसम्म गाडी चलाउन सकिने अवस्था छैन ।’ बारपाक र लाप्राक भएर गुम्दासम्म आउजाउ गर्ने सवारी रोकिएका छन् । शनिबार दिउँसोबाट भने हिउँ पर्न रोकिएको उनले बताए । ‘बादल लागिरहेकाले अझै थपिन्छ कि भन्ने छ, यहाँ मौसमको भर हुँदैन,’ उनले भने ।


लाप्राकको गुप्सीपाखा क्षेत्रमा मात्र करिब डेढ फिट हिउँ जमेको छ । भूकम्पपीडितका लागि गुप्सीपाखामा गैरआवासीय नेपाली संघले ५ सय ७३ घर निर्माण गरिरहेको छ । हिमपातका कारण उक्त एकीकृत नयाँ बस्तीको निर्माण पनि प्रभावित भएको छ । ‘हिमपात भएदेखि नै लाप्राकमा टेलिकमको टावरमा पनि समस्या आयो । फोन कतिबेला लाग्छ कतिबेला लाग्दैन,’ वडाध्यक्ष गुरुङले भने । गत वर्ष पुसको पहिलो साता हिउँ परेको थियो । पोहोरभन्दा यो पटक छिटो हिमपात भएको स्थानीयले बताएका छन् ।


हिमपातका कारण छेकम्पारमा पनि फोनको नेटवर्कमा समस्या आएको छ । शनिबार दिउँसोसम्म त्यहाँ एक फिट हिउँ जमेको चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष पासाङ लामाले बताए । चिसो बढेपछि भित्रै आगो फुकेर न्यानोमा बस्न खोजेका भीमसेन गाउँपालिका–५ बगुवाका भण्डप्रसाद ढकालको घरमा आगलागी भएको छ ।


ढुंगामाटोले छाएको दुईतले घर आगोले ध्वस्त भएको प्रहरीले जनाएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा चिसो बढेको छ । गोरखा सदरमुकाम, आरुघाट, भच्चेक र पालुङटारलगायत बजार क्षेत्रमा पनि चिसोले चहलपहल घटेको छ । सवारीसाधन पनि कम गुडेका छन् ।


यातायात अवरुद्ध, पाँच फिटसम्म हिउँ

संखुवासभा– नुनढाकीको गुफापोखरी सडक खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षासँगै भएको हिमपात हुँदा उत्तरी र दक्षिणी क्षेत्रका चार गाउँपालिका बढी प्रभावित भएको स्थानीयले बताएका छन ।


जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमाथांका र चेपुवालगायतका क्षेत्रमा भारी हिमपात भएको हो । हिमपातले जाडो बढाएको छ । नुनढाकीको गुफापोखरीमा दुई फिट हिउँ जमेको प्रहरीले जनाएको छ ।


उत्तरी हिमाली गाविसमा २ फिटदेखि ५ फिटसम्म हिउँ जमेको डीएसपी मिमबहादुर लामाले बताए । एक्कासि भारी हिमपात भएपछि पर्यटकीय क्षेत्र गुफापोखरीका बासिन्दा घर बाहिर निस्कन नसकेको स्थानीय हिमा खनालले बताइन् । ‘चारैतिर हिउँले ढाकेको छ,’ उनले भनिन्, ‘सडकमा हिँउ जमेपछि गाडी चल्न सकेको छैन ।’


प्रकाशित : मंसिर २९, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?