कर्णाली तीरमै पुग्यो हिउँ

राजबहादुर शाही

(मुगु) — सोरु गाउँपालिका–४ फोतु गाउँका बिर्ख शाही दंग छन् । मंसिरमै नदीको तिरसम्म हिउँ परेको दशकयता उनले देखेका थिएनन् । ‘यो साल त अचम्मै भयो, यति छिट्टै हिउँ पर्‍यो, त्यो पनि कर्णालीको तिरसम्मै पुग्यो,’ उनले भने । 

कर्णाली तीरमै पुग्यो हिउँ

शुक्रबार राति भएको हिमपातले कर्णाली नदी छोएको छ । डाँडाकाँडामा परे पनि नदीको खोंचमै हिउँ पुग्दा शाहीजस्तै अरू पनि अचम्मित छन् । कहिल्यै हिउँ नपर्ने औल बस्ती लिब्रु, रावलबाडा र हुम्लाको तुम्च गाउँसम्म हिमपात भएको छ । मंसिरमा परेको बाक्लो हिउँ पग्लिन धेरै दिन लाग्ने थार्प गाउँका मयलाल बोहराले बताए । ‘मंसिरमै हिउँ परेपछि पुस–माघमा के अवस्था होला ?’ उनले भने, ‘यो साल चिसोले सताउने भयो ।’


हिमपात भएपछि कोही खुसी र कोही चिन्तित छन् । खेतीपाती गर्ने उत्साहित देखिन्छन् । अन्नबाली सप्रिने, फलफूल उत्पादन बढ्ने, जडीबुटी उम्रिने र पानीका मुहान बढ्ने हुनाले राम्रै भएको बोहराले बताए । हिउँ परेपछि सुबिकाल लाग्ने उनको भनाइ छ । ‘अब त खेतबारीमा जेठासी बाली (जौं, गहुँ) राम्रो हुने भयो,’ उनले भने, ‘बाली छरेपछि हिउँ परेकाले राम्रै होला ।’


जागिरको सिलसिलामा कार्यालयमा आउजाउ गर्ने, परियोजनाको काम हेर्न फिल्डमा गइरहने र सामान ओसारपसार गर्नेहरू भने चिन्तित छन् । बाक्लो हिउँ र अत्यधिक चिसोले लेकाली बस्तीका विद्यार्थीलाई पनि गाह्रो

पारेको छ । हिमपातका कारण जिल्लाको सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । मुगु र जुम्लाको सीमाक्षेत्र घुच्चीमा करिब तीन फिट हिउँ परेर नाग्मा–गमगढी सडकमा आवागमन अवरुद्ध छ ।


पुस–माघमा पनि हिमपातले प्राय: अवरुद्ध हुने यो सडक मंसिरमै अवरुद्ध हुँदा व्यापारी चिन्तित छन् । सुर्खेत र नेपालगन्जबाट सामान ल्याउन मुस्किल हुने गरेको गमगढी बजारका व्यापारी ज्ञानप्रसाद भट्टले बताए । ‘अहिल्यै सडक अवरुद्ध भइसक्यो । चिन्ता भयो,’ उनले भने, ‘पुस–माघमा त झन् के हुने होला ।’


रारा विमानस्थलमा शुक्रबारदेखि हवाई सेवा बन्द भएको छ । धावनमार्गमा एक फिट हिउँ जमेको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मोहन गिरीले हवाई सेवा अवरुद्ध भएपछि सुर्खेत, नेपालगन्ज जान र त्यहाँबाट जिल्लामा आउन समस्या भएको बताए । टिकट काटेका थुप्रै यात्रु अहिले रारा र सुर्खेत तथा नेपालगन्ज एयरपोर्टमा अलपत्र छन् ।


टल्कियो रारा

जिल्लाको पर्यटकीय गन्तव्य रारा शनिबार बिहानैदेखि चाँदीझैं टल्किएको छ । शुक्रबार मध्याह्नदेखि हिउँले ढाकेको रारा शनिबार आकाश खुलेपछि चम्किलो देखिएको हो । घुम्न आएका पर्यटकहरू फोटो खिच्दै हिउँको डल्लोले हिर्काउँदै निकै रमाएका छन् ।


पर्यटक मात्र नभई राराका होटल व्यवसायी, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी पनि राराको सौन्दर्यसँग रमाइरहेका हुटुस्थित डाँफे गेस्टहाउसका म्यानेजर बलिराज शाहीले बताए । ‘चरा पनि हिउँमा उडेर आनन्द लिइरहका छन्,’ उनले भने ।


बीचमा निलो ताल र वारिपारि हिउँले ढाकेको सेताम्य दृश्यले रारामा रहेकाहरूको मन लोभिएको छ । त्यसमाथि पर्यटकले तालमा ढुंगा चढेर भरपूर आनन्द लिइरहेका रारा राष्ट्रिय निकुञ्जका खरिदार महेन्द्र खड्काले बताए । उनका अनुसार रारामा दुई फिट हिउँ परेको छ । हिउँले रूखहरू निहुरिएका छन् भने जमिन कपासजस्तै सेताम्य देखिन्छ । नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा राराको यस्तो सौन्दर्यले भ्रमण वर्षको सफलतामा टेवा पुर्‍याउने अभियानका कर्णाली प्रदेश सदस्य देवीकृष्ण रोकायाले बताए ।


प्रकाशित : मंसिर २९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?