‘गाडीले कुल्चेर मर्ने पनि सहिद ?’

१९९७ माघ १३ गते धर्मभक्त माथेमालाई फाँसी दिइँदा रेणुदेवी चार वर्षकी थिइन्, अहिले ८३ वर्ष पुगेकी उनी आफ्ना बाबुहरूले केका लागि, किन लडेका थिए भनेर अझै बुझ्न–बुझाउन नसकिएको बताउँछिन् ।
माथि बस्नेलाई सुख होला, आम जनतालाई दु:खै छ । – रेणुदेवी, सहिद धर्मभक्तकी छोरी
देवेन्द्र भट्टराई

(ललितपुर) — ‘यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्यवस्था गरिदिनू, नसके कुनै अनाथालयमा राखिदिनू...।’

‘गाडीले कुल्चेर मर्ने पनि सहिद ?’

भारतको कोलकातामा संघर्षपूर्ण जीवन बिताइरहेका बेला संवत् १९९६ मा युवा धर्मभक्त माथेमाकी श्रीमती उत्तरादेवीको निधन भयो । त्यसबेला धर्मभक्तसँग ३ वर्षीया छोरी रेणुदेवी मात्रै साथमा थिइन् । राणाकालीन शासनको विरोध र स्वतन्त्रताको बिगुल फुक्नमा अग्रणी रहेमध्येका धर्मभक्त नेपाल प्रजा परिषद् पार्टीमा सक्रिय थिए । उनी कोलकाताबाट विशेष काममा काठमाडौं फर्कंदै थिए । त्यहीबेला उनले आफ्ना भाइ ध्रुवभक्तलाई नाबालिका छोरी रेणुको हेरदेख गर्न बिन्ती गर्दै भनेको माथिको पंक्ति यतिखेर इतिहासको ‘अभिलेख’ झैं बनेको छ ।


धर्मभक्तलाई फाँसीको सजाय दिइँदै गर्दा उनकी एकमात्र छोरी रेणुदेवी चार वर्षकी थिइन् । ‘मैले आफ्ना बाबुबारे नेपालका प्रथम सहिदमध्ये एक भनेर किताबमा पढ्न पाएँ, ठूलाबडाले भनेको किंवदन्तीजस्तै लाग्ने कुराबाट बाबुबारे थाहा पाएँ,’ काका ध्रुवभक्त र काकी वृन्दादेवीले छोरीसरह हुर्काएबढाएकी उनै छोरी रेणुदेवी शनिबार सानेपा, ललितपुरको एउटा जमघटमा सुनाउँदै थिइन्, ‘बुबा धर्मभक्तसहित त्यो बेला राणाशाहीविरुद्ध लडेकाहरूबारे आज मेरा नातिनातिनाले पुस्तकहरूमा उसैगरी पढिरहेका छन् तर ती अमर सहिदले केका लागि, किन लडेका थिए भनेर अझै बुझ्न–बुझाउन सकिएको छैन ।’ तत्कालीन राणाशाहीले धर्मभक्तलाई ३२ वर्षकै उमेरमा १९९७ माघ १३ गते फाँसी सजाय दिएको थियो ।


८३ वर्षीया रेणुदेवी केही वर्षयता छोराका साथमा अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी छन् । दसैं–तिहारका अवसर पारेर काठमाडौं आएकी उनी शनिबार अर्को एक अवसर पनि कुरेर बसेकी थिइन् । आफ्ना काकाबुबा ध्रुवभक्त माथेमाका बारेमा लेखिएको इतिहाससम्बन्धी पुस्तक विमोचनमा आफ्ना पितापुर्खाको योगदान सम्झन पनि चाहन्थिन् । ‘बुबाहरूको राजनीतिक कर्मकै कारण माथेमा खलक देशनिकालामा पर्‍यो । दार्जिलिङ, कालिम्पोङ लगेर काकाबुबाहरूले थुप्रै हन्डर खाँदै हामीलाई पढाउनुभयो, बढाउनुभयो,’ रेणुदेवी भन्छिन्, ‘पछि राजा त्रिभुवनले देश फर्कने अनुमति दिएपछि मात्रै हामी यताका भयौं ।’


भारतको इलाहावादबाट गृहविज्ञानमा स्नातक गरेपछि काठमाडौं फिरेकी रेणुदेवीले महेन्द्र आदर्श विद्याश्रममा झन्डै ३० वर्ष लगातार पढाइन् । त्यसपछि बुबा धर्मभक्तका नाममा नख्खु, ललितपुरमा विद्यालय खोलेर अनाथ–विपन्नका लागि समेत सहयोग पुग्ने गरी कक्षा चलाइन् । ‘मेरो बुबाको पुस्ताले राणाशाहीविरुद्ध जीउज्यान दियो,’ रेणुदेवी भन्छिन्, ‘पछि पञ्चायत भनियो, प्रजातन्त्र, गणतन्त्र हुँदै अहिले लोकतन्त्र भनिएको छ । लोकतन्त्रका नाममा दलहरू हरहमेसा झगडामा व्यस्त देखिन्छन् । सधैं पद, कुर्सी र शक्तिकै लडाइँ देखिन्छ । एकातर्फ सहिदहरूले सुधारिएको शासन–पद्धतिको चाहना राख्दै आफ्नो जीउज्यान त्याग्ने र अर्कातर्फ सहिदको सपना भन्दै मञ्चबाट अनेक मीठा कुरा सुनाइरहने विरोधाभास ज्युँका त्युँ छ ।’


सहिदपुत्री रेणुदेवीले पछिल्ला वर्षमा भने सहिदको ‘सही अर्थ’ बुझ्न सकेकी छैनन् । ‘लोकतन्त्र आएको कुरामा केही हदसम्म सहिदको सपना पूरा भयो होला । तर, साधारण जनताले गरेको गाँस–बास–कपासको अपेक्षा पूरा हुन सकेका छैनन्,’ उनले भनिन्, ‘म ५० वर्ष नपुग्दै काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेर सरकारका योजना र कार्यक्रम आएका हुन् । आज म ८३ पुगें, तर काठमाडौंमा मेलम्ची सपनामै सीमित छ ।’


रेणुदेवीका बुझाइमा नेपाली जनताको विशेषता भनेकै ‘सहन सक्ने शक्ति’ हुनु हो । ‘जेजस्तै कठिनाइ पनि सहन सक्ने अर्थमा नेपालीलाई वीर पनि भनिएको होला,’ उनी भन्छिन्, ‘राज्य पद्धतिमा माथि बस्नेलाई सुख होला तर आम जनतालाई दु:खै छ । कहिले सहिदका सपना, कहिले नेताका सपना भनेरै टार्ने गरिएको छ ।’ अझ सहिद चिन्ने–चिनाउने कुरा गर्दा ‘कसलाई सहिद भन्ने ? किन भन्ने ?’ भन्ने तहमा आफू पुगेको उनी सुनाउँछिन् । ‘गाडीले कुल्चेर मरे पनि सहिद, झ्यालमा घाम तापेर बसिरहेका बेला गोली लागेर मरे पनि सहिद... । सहिद ज्ञात–अज्ञात कति हो कति,’ रेणुदेवीलाई लाग्ने गर्छ, ‘तानाशाही शासनशैलीविरुद्ध देश र जनताका नाममा हाँसीहाँसी फाँसीमा चढ्न तयार धर्मभक्तहरूको इतिहासको आज के अर्थ रह्यो त ? धर्मभक्त, शुक्रराजहरू सहिद कि को सहिद ?’ चार सहिदको इतिहाससमेत भुलेर सहिदगेट भत्काउनेसम्मको राजनीतिक प्रयास भएको सुनेर उनी अचम्ममा परेकी रहिछन् ।


१४ वर्षअघि प्रकाशित प्राध्यापक भवेश्वर पगेनीले लेखेको ‘सन्दर्भ सहिद धर्मभक्त, चर्चा भाइ ध्रुवभक्त’ पुस्तकको अंग्रेजी अनुवाद ‘द लाइफ एन्ड टाइम अफ ध्रुवभक्त माथेमा’ केशवभक्त माथेमाले निकालेका हुन् । पुस्तकको विमोचन शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए । पुस्तकबारे राजनीतिज्ञ दमननाथ ढुंगाना, अनुवादक केशवभक्त माथेमा र मूल लेखक पगेनीले टिप्पणी गरेका थिए । बुबा ध्रुवभक्तको स्मृतिमा छोराहरू केशवभक्त, केदारभक्त र माधवभक्तले पुस्तक विमोचन समारोह आयोजना गरेका हुन् । ध्रवभक्तको ०६६ साउन १ गत निधन भएको थियो ।

प्रकाशित : मंसिर २९, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?