३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चितवन मेडिकलले सबैमा शुल्क समायोजन गर्ने

विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल
रमेशकुमार पौडेल

चितवन — चितवन मेडिकल कलेज (सीएसमसी) ले शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । पछिल्ला चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजनको माग राख्दै विद्यार्थीले परीक्षा नलेख्ने अडान राख्दै आएका थिए । सीएमसी प्रशासनले शनिबार विज्ञप्ति निकालेर सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको जनाएको छ ।

चितवन मेडिकलले सबैमा शुल्क समायोजन गर्ने

सीएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुई बुँदे सहमति भएको थियो । जसमा एमबीबीएस र बीडीएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मंसिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् । पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् ।


एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीको माग छ । चितवन मेडिकल कलेजले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । शैक्षिक वर्ष ०७२/७३ र ०७३/७४ का हकमा विश्वविद्यालय तथा सम्बन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगले गर्ने सिफारिस कार्यान्वयन गर्ने सीएमसीको प्रतिबद्धता छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको शुल्क विश्वविद्यालय तथा सम्बन्धित निकायले तोकी पठाएअनुसार कार्यान्वयन गर्ने कलेजको भनाइ छ ।

विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गर्ने सीएमसी प्रशासनको भनाइ छ । ‘सरकारसँग गरेको दुई बुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ,’ कलेजले निकालेको विज्ञप्तिका उल्लेख छ । कलेजले आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलाप सुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न अनुरोध गरेको छ ।


कलेजमा गएको भदौदेखि नै आन्दोलन हुँदै आएको छ । आन्दोलन चर्कंदै गएपछि गत असोज ४ मा चितवन जिल्ला प्रशासनमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकबीच वार्ता भएको थियो । जसमा कात्तिक १८ भित्र अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने सहमति थियो । तर यो कार्यान्वयनमा आएन । बीपीएच, बीफार्मेसी, बीएमएलटी, बीएमआईटी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले शुक्रबार मात्रै विज्ञप्ति निकालेर चार वर्षको सबै संकायको शुल्क फिर्ता वा समायोजन नभए परीक्षा नदिने चेतावनी दिएका थिए ।

प्रकाशित : मंसिर २८, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?