कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा-पौडेल छलफल : महाधिवेशनको कार्यतालिकामा अझै मिलेन कुरा

कार्यतालिका नआई बैठकमा सहभागि हुन सकिन्न : पौडेल
अन्य विषयमा सहयोग गर्नुस्, कार्यतालिका आउँछ : देउवा
मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नसक्ने प्रस्ट्याएका छन् । आफ्नै निवासमा बोहोराटारमा भेट्न आएका पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिलाई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय तपशिलका रहेको बताएका थिए । पौडेलसँग छलफलमा केन्द्रीय सदस्य हृदयराम थानी सहभागी थिए । 

देउवा-पौडेल छलफल : महाधिवेशनको कार्यतालिकामा अझै मिलेन कुरा

उपसभापति निधिले कार्यतालिका आफ्नो प्रमुख एजेण्डा रहेको पौडेलले बताएका जानकारी दिए । ‘१४ औं महाधिवेशनको कार्यतालिका प्रमुख प्राथमिकतामा आउनु पर्छ, नआई हुँदैन भनेर पौडेलजीले भन्नुभयो,’ निधिले इकान्तिपुरसँग भने, ‘सभापति जीले उहाँ(पौडेल)लाई मलाई विभाग गठन, नेपाल विद्यार्थी संघ र तरुण दलको नयाँ समिति गठनमा सहयोग गर्नुस् । मैले महाधिवेनको कार्यतालिका ल्याउदिन भनेकै छैन । समायोजनको काम सकिएपछि आउँछ भन्नुभयो ।’


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । राधेश्याम अधिकारी नेतृत्वको कांग्रेसले बनाएको निर्वाचन समितिले २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने देउवाले बताएका थिए ।


‘राधेश्यामजी नेतृत्वको निर्वाचन समितिले समायोजनको काम सकेको प्रतिवेदन पेस गरेपछि कार्यतालिका आउँछ,’ देउवाले पौडेललाई भने, ‘महाधिवेशनसम्बन्धी काम गर्ने निर्वाचन समितिले हो । हामीले त केन्द्रीय समितिको बहुमतले कार्यसमितिको म्याद थप्ने र समायोजित सदस्यता अनुमोदन गर्ने हो । त्यो गर्ने निर्णय हामीले केन्द्रीय कार्यसमिति बैठकबाट गरेका छौं ।’


पौडेलले पार्टीभित्रका विवादबारे वार्ता गरी समाधान निकाल्न प्रकाशमान सिंहको संयोजकत्वमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेको वार्ता समिति बनाएका छन् । देउवाले वार्ता गर्ने जिम्मेवारी उपसभापति निधिलाई दिएका छन् ।


निधिले अब यसअघि पनि बार्ता समितिबीच छलफल भएको र फेरि छलफल गरेर समस्याको समाधान निकालिने बताए ।


वार्तामा पौडेलसँगै बसेका केन्द्रीय सदस्य थानीले कुनै सहमति नबनेको बताए । ‘१४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि मात्रै अन्य विषयमा छलफल गर्ने पौडेलले बताउनु भयो । सभापतिले समायोजनको काम सकिएपछि कार्यतालिका आउँछ भन्नुभयो,’ थानीले भने, ‘हामीले कार्यतालिका नआउँदै बैठकमा बस्न नसकिने बताएपछि छलफल सकियो । अब वार्ता समितिमा छलफल हुन्छ ।’


सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो ।


तर, देउवाले बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका छन् ।


पौडेल पक्षको बहिष्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए । ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यसअघि नै सभापति देउवाले नेता पौडेललाई भेटेका हुन् ।

प्रकाशित : मंसिर २८, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?