पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिमी न्यून चापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी  तथा हिमली भू-भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार यो क्रम शनिबार बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । 'पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू-भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ,' विभागले भनेको छ ।

विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू-भाग र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू-भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू-भागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।

प्रकाशित : मंसिर २८, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

छोराजस्तो छोरी कि छोरीजस्तै छोरी ?

लक्ष्मी बखाद्यो

‘एकादेशमा एउटा बाबा थियो, 

बाबाको एउटी छोरी थिई,
छोरी ज्ञानी थिई, छोरी सानी थिई,
बाबाको आँखाको नानी थिई...’

कतिलाई याद होला या नहोला यो गीत, तर छोरी हुनुको गर्व झल्काउने गीत थियो यो । ईश्वरी प्रधान र नीर शाहले अभिनय गरेको यस गीतमा छोरी र बाबाको सुमधुर सम्बन्ध झल्काउने प्रयास गरिएको थियो । त्यस्तै थियो, मेरो र मेरो बाबाको सम्बन्ध पनि । परिवारको अन्तिम सन्तान, त्यसमाथि पनि कान्छी छोरी भएर जन्मिँदाको रमाइलो नै बेग्लै थियो । त्यसमाथि छोरा र छोरीमाथि कुनै भेदभाव नगरिने परिवारमा जन्मन पाउँदा यो महिला हिंसा विरुद्धको अभियानको पनि कुनै मेसो नै नहुँदो रहेछ । वास्तवमै भन्नुपर्दा कानुन संकाय नपढेको भए, मलाई प्रत्येक वर्ष डिसेम्बर १० मा मनाइने मानव अधिकार दिवस र १६ दिने लैङ्गिकतामा आधारित हिंसा विरुद्धको अभियान कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने थियो होला । सानो छँदा बुबाले मेरो छोराजस्तो छोरी भन्दा म मख्ख पर्थें । यो प्रसंग फेरि एकपटक जोडियो, अमर न्यौपानेको ‘गुलाबी उमेर’ पढ्दाखेरी । वास्तवमै जब ऋतु आफ्नै खुसीले ऋतुराज भई त्यो उमेरको सम्झना गर्दा मलाई आफ्नैबारे कथा लेखिएको जस्तो आभाष भयो । त्यो गुलाबी उमेरमा म पनि सायद त्यस्तै थिएँ, दाजुभाइसंँगको साइकल यात्राले मलाई पनि छोरा भनेको नै मनपर्न थालेको थियो । बुबाआमाले मलाई कान्छो छोराको संज्ञा दिँदा म मनमनै हर्षित हुन्थें ।

‘गुलाबी उमेर’ पढ्दै जाँदा जुन प्रसंग निस्कियो र सो कथाकी नायिकाले आफूलाई भनिन्, ‘दाजु जो बितेका थिए, उनलाई बिर्सन नसकेर मलाई बाबु भनेका हुन् या मलाई नै छोरा मानेका हुन्’—यसले भने मलाई वास्तवमै सोच्न बाध्य बनायो, छोराजस्तो छोरी किन ? छोरी अर्थात महिलामा के गुण पुग्दैन वा के गुण बढी हुन्छ र छोरी छोराजस्तो हुनका लागि । प्रकृतिले मानिसलाई कि छोरा बनाएको छ, कि त छोरी (तेस्रो लिंगी बाहेकको सन्दर्भमा), यहाँ छोराजस्तो छोरीको कल्पना कहाँबाट आयो ? के छोराको अभाव परिपूर्ति गर्न छोराजस्तो छोरीको परिकल्पना गरियो ? छोरा जस्तो छोरी भन्नु आफैमा लैङ्गिकतामा आधारित हिंसा हो कि होइन ? कुनै पनि प्रकारको नकारात्मक असरलाई हिंसा भनिन्छ । एउटा कार्य एकका लागि हिंसा हुनसक्छ भने सोही कार्य अर्काको लागि हिंसा नहुन पनि सक्छ ।

तर प्रश्न नकारात्मक असर कसरी पर्‍यो र कसरी परेन भन्ने विषयसंग सम्बन्धित छ । अनविज्ञताको कारणले गर्दा नकारात्मक असर नपरेको हो या ज्ञान भएर पनि नकारात्मक असर नपरेको हो ? यो विषयको भने अध्ययन गर्न जरुरी छ । कुनै दिन त्यस्तो पनि थियो, जतिबेला रजस्वला नहुँदै छोरीको विवाह गरेमा पुण्य प्राप्त हुन्छ भनिन्थ्यो । त्यतिबेलाका महिलालाई सो कार्य धर्म निर्वाह गरेको जस्तो लाग्थ्यो । तर अहिले यो कार्य बालविवाह हो र अपराध पनि । त्यस्तैगरी वैवाहिक बलात्कारको विषयलाई नै एकपटक विश्लेषण गरौं, अधिवक्ता मीरा कुमारी ढुंगानाले रिटमार्फत वैवाहिक बलात्कार पनि अन्य बलात्कारजस्तै अपराध हो भनी मुद्दा नहालुन्जेल सो क्रियालाई अपराधका रूपमा वा महिला विरुद्ध हिंसाको संज्ञा दिइएको थिएन । तसर्थ थाहा पाएरै या थाहा पाउने उमेर नपुग्दै बालिकाहरूमा बालक राम्रो हुन्छ, विद्वान् हुन्छ भन्ने मानसिकता त कतै हामीले दिइरहेका छैनौं ?

सन् २०१८, डिसेम्बरमा ‘इन्डिपेन्डेन्ट’ पत्रिकाले न्युयोर्क विश्वविद्यालयमा गरेको अध्ययन सम्प्रेषण गरेको थियो । जुन अनुसन्धानले ‘बालबालिकाहरूमा पनि लैङ्गिकतामा आधारित विभेद रहेको र बालिकाहरूले आफूलाई बालकहरूको अगाडि कमजोर महसुस गर्छन्’ भन्ने तथ्य उजागर गरेको थियो । त्यतिमात्रै होइन, २०१७ जनवरी १७ मा ‘फोर्च्युन’ नामक पत्रिकाले ‘६ वर्षकी हुँदा नै बालिकाले बालकलाई वा महिलाभन्दा पुरुषलाई बढी क्षमतावान ठान्छन्’ भन्ने तथ्यांक सार्वजनिक गरेको थियो । नेपालमै हेरौं न हामी, अझै पनि प्रमुख अतिथि महिला भएको कार्यक्रम हामी बिरलै भेट्छौं । यसको अर्थ, कि महिलाले त्यस्तो हैसियत बनाइसकेकी छैनन्, कि त त्यस्तो हैसियत बनाउन दिइएको छैन ।

प्रत्येक वर्ष कानुन संकायको प्रथम वर्षमा जब कानुनको महत्त्वबारे अध्यापन गराउँछु, त्यतिबेला भन्न मन नलागे पनि भन्न बाध्य हुन्छु, ‘महिलालाई समाजको कमजोर वर्गको रूपमा विश्लेषण गरिएको छ र समानताका लागि सकारात्मक विभेदमार्फत उनीहरूलाई उकास्ने प्रत्यन्त गरिएको छ ।’ यति कुरा भन्दै गर्दा आफैलाई नियाल्ने गर्छु भनी म आफैलाई सोध्ने गर्छु, ‘के म समाजको एक कमजोर वर्गमा पर्छु ? पर्छु भने कसरी, अनि पर्दिन भने किन र कसरी ?’ काठमाडौंबासी भएको नाताले स्रोत र साधनमा मेरो पहुँचमा कुनै कमी आएन, मैले पनि दाजुहरूसरह नै शिक्षाको मौका पाएँ । यसर्थ म कमजोर समुदायभित्र परिन, तर मेरो अस्तित्वलाई स्वीकार गरियो त ? मलाई छोरीजस्तै छोरीभन्दा ’नि छोराजस्तो छोरीको संज्ञा दिइयो । सबल हुनका लागि व्यक्तिको अस्तित्व स्वीकार गर्न ’नि उत्तिकै महत्त्वपूर्ण हुन्छ, जति स्रोतमा पहुँचको आवश्यकता छ ।

छोरा र छोरीमा कुनै भेदभाव गरिएको छैन भन्नुको तात्पर्य छोरीलाई छोरा बनाउनु वा छोरीलाई छोराको संज्ञा दिनु होइन । यो त समाजमा छोराको अर्थात पुरुषको जति मानसम्मान छ, त्यति नै छोरीको पनि हुनु हो, तर छोराजसरी होइन, छोरीजसरी नै । लैङ्गिकतामा आधारित हिंसाको कुरा गर्दा हामी महिलामाथि हुने हिंसाको चर्चा गर्छौं । किन त ? महिलामाथि हुने हिंसा नै धेरै छ । घरमा छोराको इच्छा गरिन्छ । परिवारका अन्य सदस्यहरू मात्र होइनन्, नौ महिनासम्म आफ्नो गर्भमा हुर्काउने आमाले पनि पहिलो सन्तान छोरा नै होस् भन्ने चाहना राख्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–७६ मा मात्रै २,२३० वटा जबर्जस्ती करणी, ७८६ वटा जबर्जस्ती करणी उद्योग, २५८ वटा मानव बेचबिखन, २७ वटा गर्भपतन, १००१ वटा बहुविवाह, ८६ वटा बालविवाह, १४,७७४ वटा घरेलु हिंसा, ४६ वटा बोक्सीको आरोप, ४३ वटा छुवाछूत, २११ वटा बाल यौन दुर्व्यवहारका मुद्दा दर्ता भएका थिए । यी सबै तथ्यांक हेर्दा महिला पीडितको संख्या धेरै भएको आंँकलन गर्न सकिन्छ । यही कारण लैङ्गिकताका आधारमा गरिने हिंसाको छलफलमा हामी महिलामाथि हुने हिंसाको विश्लेषण गर्छौं ।

महिला वा पुरुष वा तेस्रो लिङ्गी सबै पहिला मानव हो, अनिमात्र महिला, पुरुष र तेस्रो लिङ्गी । जबसम्म हामी एकलाई अर्कोसँंग दाँज्ने होडमा हुन्छौं र समानान्तर हुने प्रयास गर्छौं, तबसम्म समान हुन सक्दैनौं । छोरा र छोरी कसरी समान हुन्छ ? दुबैमा आआफ्नो फरक क्षमता हुन्छ । मनोविज्ञानले भन्छ, प्रत्येकको क्षमता फरक हुन्छ, माछालाई रुख चढ्न दिई परीक्षण गर्नु जति मुर्खतापूर्ण कार्य हो, त्यति नै फरक क्षमता भएको मान्छेलाई एउटै पगरी पहिराउनु पनि । तसर्थ हामीले छोरा वा छोरीलाई जो जे हो, त्यही हुन प्रोत्साहन गरौं, फरक क्षमता भएका व्यक्तिलाई आफ्नै क्षमताले परिचय बनाउन दिऊँ । छोरीलाई छोराजस्तो भनिरहँदा छोरी त कमजोर हुँदिरहिछे, छोरामात्रै बुद्धिमान् र बलवान हुन्छ भन्ने मानसिकताले महिला विरुद्धको हिंसाको निरन्तर चक्रलाई अझ मजबुत बनाउन सक्ने सम्भावना धेरै हुन्छ । अत: छोरा होस् या छोरी दुवैलाई सन्तानको नै संज्ञा दिऊँ ।

प्रकाशित : मंसिर २८, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×