पौडेललाई भेट्न देउवा बोहोराटारमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडेललाई भेट्न देउवा बोहोराटारमा

मधुसुधन भट्टराई

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्दैछन् । पार्टीमा देखिएको विवादबारे छलफल गर्न सभापति देउवा पौडेल निवास बोहोराटारमा पुगेका छन् । अहिले दुई नेताबीच छलफल चलिरहेकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा पार्टीभित्रको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न पौडेल निवास बोहोराटार पुगेका जानकारी दिए । ‘पार्टीभित्र पछिल्लो समय देखिएको परिस्थितिबारे छलफल गर्न सभापति नेता पौडेलको बोहोराटारस्थित निवासमा जाँनुभएकाे छ,’ प्रवक्ता शर्माले भने, ‘१० बजे त्यहाँ पुगेर अहिले छलफल भइरहेकाे छ ।’


नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले सभापति देउवा छलफलका लागि पौडेल निवास आएको बताए । सभापति देउवाले आफ्नो पक्षको आन्तरिक छलफलमा नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा रहेका बेला शुक्रबार साँझ पौडेललाई शनिबार बिहान चिया खान निवासमा आउने जानकरी दिएका थिए ।

पौडेल पक्षले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमतिबेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव गर्न लागेको भन्दै बहिस्कार गरेको थियो ।

शुक्रबार साँझको पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमितिमा उपस्थित नहुने बटमलाइन बनाएको छ ।


भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, डा.मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र हृदयराम थानीलगायत नेताहरु सहभागी थिए । भेलामा आइतबार आव्हान भएको केन्द्रीय कार्यसमिति बैठकमा के गर्ने भन्ने विषयमा छलफल भएको सदस्य थानीले जानकारी दिए ।


बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेरमात्रै महाधिवेशन कार्यतालिका ल्याउने संस्थापन पक्षको अडान थियो ।


पौडेल पक्षको बहिस्कारबीच सभापति देउवाले बैठकमा छलफलका लागि ९ वडा एजेन्डा प्रस्तुत गरेका थिए । ती एजेन्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समिति बैठक बोलाइएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

ठेचो जात्रामा ल: स्वाँ

प्रशान्त माली

(ललितपुर) — नेवारहरूको जात्रापर्वसँग फूलको गहिरो सम्बन्ध हुन्छ । प्रत्येक जात्रामा देवीदेवतालाई छुट्टाछुट्टै फूल चढाइन्छ । अक्षयतृतीयामा जाईको फूल, गठेमंगलमा कमलको फूल र घटस्थापनामा जमरा । योमरी पूर्णिमाको अवसरमा नचाइने ठेचोको नवदुर्गा नाचका लागि भने ल: स्वाँ (लौठ सल्ला) चढाउने गरिन्छ ।

नवदुर्गा नाच ठेचोका माली समुदायले सञ्चालन गर्छ । मालीबाहेक अन्य समुदायका व्यक्ति नाचमा सहभागी हुन पाउँदैनन् । फूल भने ठेचोभन्दा तल लाछी टोलस्थित महर्जन समुदायका मंका खल: (भजन समूह) ले चढाउने चलन छ ।

फूल चढाउन वन विभागबाट साताअघि स्वीकृति लिएर गोदावरी क्षेत्रबाट ठेचो ल्याइएको थियो । मंका खल:का गुरु दशलाल महर्जनका अनुसार ल: स्वाँ रातो मत्स्येन्द्रनाथ, सेतो मत्स्येन्द्रनाथ, कीर्तिपुरको इन्द्रायणी देवी जात्रामा पनि अनिवार्य चढाउनुपर्छ । ‘अति दुर्लभ प्रजातिको यो फूल क्यान्सरजस्तो रोगको औषधि बनाउन प्रयोग गरिन्छ । कतिपय फूल किटाणु नष्ट गर्न, स्मरण शक्ति बढाउन, पाचनशक्ति बढाउन सेवन गरिन्छ,’ उनले भने, ‘कतिपय धूप बनाउन प्रयोग गरिन्छ ।’

जात्रामा शिरमा बेताली (पटुकाले बेरेर बनाइएको टोपी), निधारमा तिलक, शरीरमा द्य: अनि धुजी ल: (विषेश प्रकारको लुगा) लगाएका थकालीहरू देखिन्छन् । नेवारी समाजमा यस्ता पोसाक लगाउनेलाई देवगणसरह मानिन्छ । ठेचोका ७६ वर्षीय रामगोविन्द मालीले यो पोसाक लगाउन थालेको ६ दशकभन्दा बढी भयो । बुढ्यौली उमेरमा पनि उनी ठेचो जात्रामा देवगणको भूमिकामा सक्रिय छन् । ६६ वर्षीय हेराबहादुर मालीले पनि नवदुर्गा नाचमा ब्रह्मायणी देवगणको भूमिका निर्वाह गरेको ५० वर्ष बित्यो । उनमा अझै जोसजाँगर उत्तिकै छ । नवदुर्गा गुठीमा ११ जना देवगण अपुग छन् । जात्रा लोप हुनबाट बचाउन ठेचोका सुर्जमान माली र रत्न मालीले चिराग समात्ने गुठीयारको जिम्मेवारी लिएका छन् ।

केही वर्षदेखि चिराग समाउने गुठीयार पनि छैनन् । नवदुर्गा नाच एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा, नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने धार्मिक परम्परा छ । गुठीयार नभए पनि श्यामबहादुर माली, राजन, कविन, महेन्द्र, मनोज, बिकी, रोशन माली पोमी (देवता समात्ने व्यक्ति) को भूमिका निर्वाह गरेका थिए । गुठीमा बाराही, काली, कुमारी, ब्रह्मायणी, महालक्ष्मी, सिघिनी र ब्याघिनी समात्ने गुठीयार खाली छन् । गुठीयार अभावमा नाच सञ्चालन गर्न कठिनाइ भएपछि संस्कृति जोगाउन अग्रसर भएको उनीहरू बताउँछन् ।

नाचको उल्लास
योमरी पूर्णिमाकै अवसरमा मनाइने नवदुर्गा नाचसँगै माथिल्लो लाछी टोलस्थित बालकुमारी र तल्लो लाछी टोलस्थित ब्रह्मायणीको खटजात्रा हर्षोल्लासका साथ मनाइएको छ । जात्रा प्रत्येक वर्ष मार्ग शुक्लपक्ष चतुर्दशीदेखि चार दिनसम्म हुने गर्छ । जात्राको पहिलो दिन मंगलबार माथिल्लो लाछीमा चार वटा र तल्लो लाछीमा तीनवटा राँगा काटी आ–आफ्नो गुठीका देवतालाई बलिको प्रसादसहित पूजाआजा गरिएको थियो । नेपाल भाषामा यस दिनलाई ‘छोय्ला बु:’ भनिन्छ । शुक्रबार बिहान सबेरै नवदुर्गा मन्दिरबाट देवगणहरू पंक्तिबद्ध भई तल्लो लाछीस्थित मूल डबलीमा आई सामूहिक नृत्य गरेका थिए । नवदुर्गा गुठीका नाइके जितेन्द्र मालीका अनुसार यस नृत्यलाई नेवारीमा प्यपु द्य:ल्हायेगु भनिन्छ । बेलुका नवदुर्गा भवानी देवी गुठीले बलिसहित पूजाआजा गरेपछि कालीको नृत्य प्रस्तुत गरिएको थियो । यस दिनलाई ठेचोवासीले न्हि प्यांख भन्छन् । अर्को मुख्य आकर्षण गु: (गुठी) द्य: (देवता) हुन् ।

गुठीयारहरूको मृत्यु र जात्राको समयमा बाहिर ल्याइने गु: द्य: जात्रामा बेलुका पालाको घरमा विधिपूर्वक गुठीमा भित्र्याइन्छ । गु: द्य: भित्र्याउने समयमा पाला घरकी थकाली नकीं (थकाली महिला) को मुख्य भूमिका हुने नाइके मालीले बताए । ‘यसदिन उपवास बस्ने, देवता घरमा भित्र्याएदेखि पूजाआजा गर्ने, देवतालाई दैनिक घरमा पकाएको बिहानको भात चढाउने इत्यादि कार्य एक वर्षसम्म थकाली नकींले गर्ने गर्दछन् ।’

गु: द्य: भित्र्याउँदा का: (इन्द्र बाजा) अनिवार्य बजाउनुपर्ने मान्यता छ । नेवारी समुदायमा का: बाजा जात्रा पर्व र मानिसको मृत्यु हुँदाबाहेक अन्य समयमा बजाउन नहुने मान्यता छ । अन्तिम दिन शनिबार बिहान गणेश देवतालाई पालो थाप्नेको घरमा र भैरवलाई धुमधामसँग सिन्दुर जात्रा गरी पुखुसी टोल पुर्‍याइन्छ । जात्रामा तल्लो लाछीका मुख्य तीन र माथिल्लो लाछीका सात गुठी प्रत्यक्ष संलग्न हुन्छन् । गोदावरी नगरपालिका–१२ ठेचोका वडाध्यक्ष जगतबहादुर महर्जनले लोपन्मुख बन्दै गएको सांस्कृतिक सम्पदा जोगाउन स्थानीय सरकार सञ्चालन ऐनमा तेकेर नीतिगत व्यवस्था गर्ने योजना रहेको बताए । ‘वडा प्रोफाइल बनाउन बजेट विनियोजित गरेका छौं,’ उनले भने ।

प्रकाशित : मंसिर २८, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×