२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मुगालीका ती दिन

एक माना चामल र एक बट्टा घिउ बोकेर सिँजा पुगी निगालोको कलम, भोजपत्रको कापी र जडीबुटीको रस निकालेर मसी बनाई पढ्ने जमाना थियो । कर्णाली नदीमा पुल थिएन, बाबियाको डोरीमा तागुलो लगाएर वारिपारि गरिन्थ्यो ।
राजबहादुर शाही

(मुगु) — ट्वाइके रोकायाले ६० वर्षसम्म कष्टकर जीवन बिताए । छायानाथ रारा नगरपालिका–९, मुर्मा गाउँका ८१ वर्षीय उनलाई तन्नेरी छँदा १० किलो नुन, लत्ताकपडा र भाडावर्तन किन्न एक महिना हिँडेर बर्दियाको राजापुर र चिसापानी पुगेको अझै सम्झनामा छ । 

मुगालीका ती दिन

‘धेरै दु:ख भोगियो,’ उनी भन्छन्, ‘गाउँमा सबै सुविधा आएको देख्दा सपनाझैं लाग्छ ।’ अहिले उनको घर अगाडिबाटै मोटर गुड्छ, बाहिर रहेका आफन्तसँग भिडियो कलमै कुराकानी गर्छन् । बुढ्यौलीसँगै बिमारीले घेर्न थालेपछि मात्रै सुखका दिन देख्न पाउँदा नमज्जा पनि लाग्छ । उनले चाँदीका सिक्का बोकेर सामान किन्न हाट गएको सम्झिए । ‘एक सय चाँदीका सिक्का खर्च गरे बोक्न नसक्ने भारी हुन्थ्यो,’ उनले भने, ‘खुट्टामा लगाउने पौला (जुत्ता) थिएनन्, नाङ्गै खुट्टा हिँडेर एक महिनामा राजापुर पुग्थ्यौं ।’ १२ वर्षको उमेरैदेखि नै हाट जाने गरेको उनले सुनाए । उनले केही समय भेडा र खसी लिएर तिब्बतको तालाखार पुगी ऊन र नुन ल्याए ।


रोकायाका अनुसार गाउँमा एक माना नुन पाउन निकै मुस्किल थियो । ‘पुल नहुँदा कर्णाली नदी पार गर्न बाबियाको डोरीमा तागुलो लगाएर वारिपारि गर्थ्यौं,’ उनले उतिबेलाको समस्या सुनाए, ‘भगवान्को नाम जप्दै जंघार तरिन्थ्यो ।’


रुगा गाउँका ७४ वर्षीय धनजित लावडको दु:ख पनि कहालीलाग्दो छ । ०४५ सालमा भोकमरीको चपेटामा पर्दा उनलाई अब धेरै बाँचिँदैन जस्तो लागेको थियो । जग्गामा अन्न नफल्दा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ताले दैनिक सताउने गरेको उनी बताउँछन् । ‘उहिलेको कहालीलाग्दो भोमकरीको दु:ख सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ,’ उनले भने, ‘२० दिन हिँडेर अछामको साँफेबगर पुगेर ३० किलो चामल र पाँच पाथी गहुँ ल्याएर परिवार पालियो ।’ उनले सहरका सबै सुविधा गाउँ पुगेपछि बाँच्न सहज भएको सुनाए ।


सुविधासँगै तन्नेरी पुस्ता बिग्रन थालेको लावडले गुनासो गरे । ‘सुविधाले सबैको बानी बिग्रियो, पढेलेखेका युवाले खेतीपाती गर्न छाडे,’ उनी भन्छन्, ‘जाँडरक्सी खाएर झगडा गर्ने, पैसा जथाभावी फाल्ने फुर्मासे बानी बढ्यो ।’ उनले केही वर्ष कर्णालीका माछा र सिस्नो खाएर भोकमरी टारेको जनाए । उनका अनुसार कोदो र कागुनो उत्पादन हुन थालेको ३० को दशकपछि मात्र हो ।


जिल्लाका अधिकांश बस्तीमा ०५० सालअघिसम्म ढोका थुन्ने गरी हिउँ पर्ने गरेको बूढापाका सुनाउँछन् । ०४० सालअघि एक पाथी अन्नमा कुखुरा, दुई सय रुपैयाँमा खसीबाख्रा र पाँच सय रुपैयाँमा गाईभैंसी पाइने गरेको खत्याड गाउँपालिकास्थित गम्था गाउँका गौरी उपाध्यायले बताए । कार्कीबाडाका ६८ वर्षीय देवीकृष्ण रावलले जुम्लाको सिँजा गई कखरा सिकेको बताए । उनका अनुसार गाउँका पुरोहितलाई गुरु मानेर शिक्षा लिने जमाना थियो । ‘एक माना चामल र एक बट्टा घिउ बोकेर सिँजा पुगी नाम लेख्न सिकेको हुँ,’ उनले भने, ‘निगालोको कलम, भोजपत्रको कापी र जडिबुटीको रस निकालेर मसी बनाई पढ्ने जमाना थियो ।’ उनले ००९ सालमा छत्यालबाडा गाउँमा पहिलो पाठशाला खुलेपछि हुनेखानेका छोराछोरीले पढ्न थालेको जानकारी दिए । ०११ सालमा रारा हुटुमा जिल्लामै पहिलो प्राथमिक विद्यालय खुलेको हो । ०४८ सालमा मुगुका हस्तबहादुर मल्ल शिक्षा राज्यमन्त्री हुँदा दुई सय १९ बस्तीमा विद्यालय खुलेपछि विपन्न र दलित समुदायका बालबालिकाले पठनपाठन सुविधा पाएका हुन् । गमगढीमा रारा बहुमुखी क्याम्पस स्थापना भएपछि उच्च शिक्षा पढ्न सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् ।


जिल्लामा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकले ६ दशक दु:खकष्टमै बिताए । गाउँमा झाडापखाला चल्दा बर्सेनि एक दर्जन बढीको ज्यान जाने गरेको लावडले बताए । ‘विरामीले थला परे भूत लागेको भन्दै उसको नजिक नजाने जमाना पनि भोगियो,’ उनी भन्छन्, ‘अहिले गाउँगाउँमा स्वास्थ्यचौकी खुले, धेरैको ज्यान बचेको छ ।’ ०६३ सालमा गमगढीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि जिल्लाको स्वास्थ्य अवस्था सुध्रिएको हो । ०६० सालअघि स्थानीयलाई सुर्खेत र नेपालगन्ज जान जहाज चढ्नकै लागि दुई दिन हिँडेर जुम्ला पुग्नुपर्ने बाध्यता थियो । ‘हिँडेर जानेहरू १५ दिन पुग्ने खाद्यान्न पोको पारेर जुम्लाको सिँजा हुँदै सुर्खेत र नेपालगन्ज पुग्थ्यौं,’ उपाध्यायले भने, ‘खानेकुरा बाटोमा सकिए बाटोमै ज्यान जान्थ्यो ।’ अहिले ताल्चा (रारा) विमानस्थलबाट दैनिक पाँचवटासम्म उडान भइरहेका छन् ।


स्थानीयलाई ०६८ अघि पाँच किलो चामल र एक किलो नुन किन्न दिनभर गोदाममा लाइन बस्नुपर्ने बाध्यता थियो । कर्मचारीले कार्यालय प्रमुखबाट र स्थानीयले प्रमुख जिल्ला अधिकारीबाट रासनकार्ड बनाएपछि मात्र चामल र नुन पाइन्थ्यो । ०६९ साल पुसबाट मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि स्थानीयले खाद्यान्न अभावको समस्याबाट मुक्ति पाएका हुन् । ‘सडक नपुग्दासम्म सुर्खेत र नेपालगन्जबाट हेलिकप्टरमा प्रतिकिलो एक सय २० रुपैयाँ भाडा तिरेर सामान ल्याएर बेच्थ्यौं,’ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जयबहादुर शाहीले भने, ‘गाडी पुगेपछि नेपालगन्जबाट प्रतिकिलो ७ रुपैयाँमा सामान गमगढी पुग्न थालेको छ । सडकले गर्दा जिल्लामा तीन तिहाइ महँगी घटेको उनले सुनाए । सोरु गाउँपालिकास्थित सीप गाउँकी जानसरा विष्टले गाडी हेर्न दुई दिन हिँडेर सदरमुकाम गएको सम्झिन् । ‘गाउँमा गाडी पुग्लान् भन्ने सपना पनि थिएन,’ उनले भनिन्, ‘सुख र सुविधा पुगेपछि पुराना दु:ख भुल्दै गएका छौं ।’ अहिले सोरु गाउँपालिकाको सोरुकोट, खत्याड गाउँपालिकाको गम्था, सेरी, श्रीकोट, खमाले र मुगुमकार्मारोङ गाउँपालिकाको छाइलसम्म नियमित यातायातका साधन चल्छन् ।


अहिले जिल्लाभरिका खोला र कर्णाली नदीमा परम्परागत तुइन विस्थापित गरी ६१ झोलुंगे पुल निर्माण भएका छन् । गाउँहरूको आपसी सम्बन्ध पुलकै कारण जोडिएको आरसिडी संस्थाका कार्यक्रम संयोजक जर्मन नेपालीले बताए । घरमै सुत्केरी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतबाट गर्भवती महिलाले मुक्ति पाएको जिल्ला अस्पताल प्रमुख डा. निर्मल नगरकोटीले बताए । उनका अनुसार अहिले करिब ९० प्रतिशत गर्भवती महिला स्वास्थ्यचौकीमै सुत्केरी हुने गरेका छन् । उनका अनुसार जिल्लाभरि २० प्रसूतिगृह सञ्चालनमा छन् ।


कुनै समय एक कल फोन गर्न गमगढी बजार धाउने स्थानीयले घरमै बसी मोबाइलमार्फत आफन्तसँग घण्टौं कुरा गर्न पाएको स्थानीय जंगम शाहीले बताए । उनका अनुसार ०६४ सम्म एक कल फोन गर्न एक साताअघि नै नाम लेखाउनुपर्ने बाध्यता थियो । नेपाल टेलिकमले जिल्लाका १३ स्थानमा मोबाइल टावर जडान गरिएको जनाएको छ । अहिले राराताल आसपासका क्षेत्रमा फोरजी इन्टरनेट चल्छ ।


गाउँमै रोजगारी पाइन थालेपछि पछिल्लो समय मजदुरीका लागि भारतको कालापहाड जानेको संख्या घटेको शाही बताउँछन् । ‘एक दशकअघिसम्म १६ वर्ष पुगे कालापहाडमा मजदुरी गर्न नगई सुखै थिएन,’ उनले भने, ‘गाउँमै विकास निर्माण बढेपछि मजदुरी गर्ने मान्छे पाउनै मुस्किल छ ।’ उनका अनुसार डेढ दशकअघिसम्म अधिकांश गाउँ पुरुषविहीन हुन्थे । गाउँगाउँमा लघु जलविद्युत् सञ्चालन भएपछि सल्लाको दियालो बालेर अँध्यारो हटाउने बाध्यताबाट स्थानीयले मुक्ति पाएको स्थानीय मानबहादुर रावलले जनाए । उनका अनुसार घरघरमा सौर्य ऊर्जा जडान गर्ने र आधुनिक चुलो प्रयोग गर्नेको संख्या बढिरहेको छ ।


लामो समय दु:ख बिताएका ज्येष्ठ नागरिक सुरक्षा भत्ता पाउन थालेपछि सहज जीवन बिताउन थालेका छन् । ‘भत्ताले बाँच्न र औषधिउपचार गर्न सजिलो भयो,’ छायानाथरारा नगरपालिकास्थित ढुमकी ७६ वर्षीया चाखुल्ली विकले भनिन्, ‘गाउँगाउँमा सुविधा थपिए, सुखका दिन बढ्दै छन् ।’ सरकारले ६० देखि ७० सम्मका ज्येष्ठ नागरिकलाई दुई हजार र ७० भन्दा माथिकालाई तीन हजार रुपैयाँ सुरक्षा भत्ता दिँदै आएको छ ।


प्रकाशित : मंसिर २८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?