ह्याकरको बिहे प्रस्ताव ! 

मातृका दाहाल

काठमाडौँ — दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन् । नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुलले सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुन: सन्देश पठाइन् ।

ह्याकरको बिहे प्रस्ताव ! 

‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनको निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन, मलाई तपाईंको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग परे । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए, ‘यसमा म तपाईंलाई के सहयोग गर्न सक्छु ?’


युवतीले तुरुन्तै लेखिन्, ‘तपाईं बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्‍यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’ युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो । ती युवतीले नेपाल आएर राहुलसँग बिहे गर्ने अनि प्रक्रिया पुर्‍याएर फर्किने बाचा गरिन् । राहुल राजी भए । बैंकमा रहेको डलर झिकेर खाता बन्द गर्नेबारे पनि पटक–पटक कुराकानी भयो । बैंकको ८ करोड झिकेर खाता बन्द गर्न केही डलर आवश्यक भएकाले नेपालबाट पठाइदिन राहुललाई ती युवतीले फेरि इमेल पठाइन् । यससम्बन्धी लामो कुराकानीपछि युवतीलाई पैसा पठाउन राहुल तयार भए । युवतीले काठमाडौंमा भएका रमेश खड्काको ठेगाना दिइन् । राहुल युवतीलाई पैसा पठाउन रमेशको सम्पर्कमा पुगे । राहुलले रमेशको खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ इन्डोनेसियाकी युवतीलाई पठाइदिन भन्दै जम्मा गरे ।


राहुलले रमेशको खातामा ७ लाख रुपैयाँ जम्मा गरेपछि न रमेश सम्पर्कमा आए, न ती विदेशी युवती । युवतीसँग भएको कुराकानी र ती युवतीलाई दिन भन्दै रमेशको बैंक खातामा जम्मा गरेको ७ लाखबारे राहुलले आफ्नी पत्नीलाई सुइँकोसम्म दिएका थिएनन् । रमेश र ती युवती सम्पर्कविहीन भएपछि राहुलले आफू ठगिएको चाल पाए ।


आफूलाई इन्डोनेसियाको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ८ करोड डलर भएको बताउने ती युवती अरू कोही नभएर अन्तर्राष्ट्रिय ठगी र बैंक ह्याकरका नाइके नाइजेरियन नागरिक पिटर हर्मन थिए । पिटर बैंक/वित्तीय संस्थाको सर्भर ह्याकिङ र अनलाइन ठगी अभियोगमा नेपाल र भारतीय प्रहरीको अनुसन्धानमा छन् । उनलाई एक महिनाअघि भारतीय प्रहरीले पक्राउ गरेको छ । पिटरसहितको गिरोहबाट राहुलजस्तै अरू १५ जना यसरी नै ठगिएको भेटिएका छन् ।


महानगरीय अपराध महाशाखाले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । ‘अन्तर्राष्ट्रिय ह्याकर र ठग तथा नेपालस्थित उनीहरूका एजेन्टको फन्दामा परेका १५ जना सम्पर्कमा आएका छन्,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘गिरोहले विदेशबाट पार्सल आएको, विदेशी बैंकमा डलर भएको, विकसित मुलुकमा लैजाने भन्दै विवाह गर्नेलगायत लोभ देखाएर नेपालीलाई ठग्ने गरेको अनुसन्धानबाट देखिएको छ ।’ अपरिचित व्यक्तिबाट आएका यस्ता प्रलोभनका कारण थुप्रै व्यक्ति पीडित हुने गरेको भन्दै थापाले यसप्रति सजग रहन र त्यस्ता प्रलोभनमा नपर्न पनि सबैलाई आग्रह गरे ।


गोवामा बसेर डिल

ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका दोलखाका रमेश खड्काको समूहमार्फत नेपालमा ठगी र ह्याकिङको धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहले भारतको गोवासहितका स्थानमा बसेर दुवै देशमा अपराध योजना बनाउने गरेको पाइएको छ । खड्का, विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार मंगलबार पक्राउ परेपछि ह्याकरको सञ्जाल फेला परेको हो ।


पानस रेमिट र कृषि विकास बैंकको सिस्टम ह्याक गरी करिब ५ करोड झिकेको घटनाका आरोपित असोज पहिलो साता पक्राउ परेपछि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धानका लागि गोवासम्म पुगेको थियो । त्यसक्रममा नेपालका अन्य बैंक/वित्तीय संस्थाबाट समेत करिब १७ करोड रुपैयाँ ह्याकरले लगिसकेको तथ्य भेटिएको थियो ।


अनुसन्धानकै क्रममा खड्कासहितको समूह पक्राउ परेको हो । ‘बैंक ह्याकिङ र अनलाइन ठगीबाट संकलित रकम सुरुमा केही कमिसन लिएर खड्काको समूहले गिरोहलाई हुन्डी र अनलाइन भुक्तानीमार्फत पठाउँदै आएको रहेछ,’ एक अनुसन्धान अधिकृतले कान्तिपुरसँग भने, ‘पछि खड्काले ह्याकरलाई पैसा पठाउन छोडेपछि धादिङका खम्ब घले र नुवाकोटका लवाङ तामाङको समूहमार्फत सेटिङ मिलाइएको पाइयो ।’


अनुसन्धान क्रममै प्रहरीले खड्काको बैंक अफ काठमाडौंको खाताबाट ३ करोड र लुम्बिनी विकास बैंकबाट २ करोड बाहिरिएको भेटेको छ । यसबाहेक करिब १७ करोड रुपैयाँ ह्याकर र अनलाइन ठगीको गिरोहले लगिसकेको अनुसन्धानबाट खुलेको छ । त्यसको विवरण बैंकले दिन अटेर गरेको महाशाखाका एक अधिकारीले बताए । खड्कापछि गिरोहले परिचालन गरेको सेटिङमा भक्तपुरकी दिलमाया थापासहितका व्यक्ति पनि एजेन्टका रूपमा सक्रिय छन् । त्यसमध्ये लवाङ असोजमा पक्राउ परिसकेका छन् । खम्ब र दिलमायासहित गिरोहका ३ दर्जन एजेन्ट अझै फरार रहेको महाशाखाका अधिकारीले जानकारी दिए ।


ह्याकरकै आयात–निर्यात कम्पनी

बैंक ह्याकिङ र अनलाइनमार्फ विश्वभर ठगीको सञ्जाल फैलाएको गिरोहका नाइके नाइजेरियाली नागरिक पिटर हर्मनले भारतमा आयात–निर्यात कम्पनी नै स्थापना गरेको पाइएको छ । पिटरले केही भारतीय नागरिकलाई एजेन्टका रूपमा परिचालन गरेर खाद्यसामग्री आयात–निर्यात गर्ने कम्पनी दर्ता गरेको पाइएको हो ।


ह्याकरको समूह खोजी गर्ने क्रममा तिहार अघि र पछि गरी दुईपटक महानगरीय अपराध महाशाखाको टोली गोवा पुगेको थियो । डीएसपी दुर्गा दाहालको नेतृत्वमा गएको टोलीले पिटर र बेलायती नागरिक मोरिस स्मिथसहितको गिरोह तथा उसले नेपालमा विस्तार गरेका एजेन्टबारे भारतीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरेको थियो । ‘पिटर र मोरिसको गिरोहले आवरणमा आयात–निर्यात कम्पनी खडा गरेर ठगी र ह्याकिङको सञ्जाल चलाउने रहेछ,’ स्रोतले भन्यो, ‘नेपालका एजेन्ट पनि गोवास्थित गिरोहमार्फत नै सञ्चालित छन् ।’

प्रकाशित : मंसिर २८, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?