धनुषामा बम विस्फोट हुँदा बाबु-छोराको मृत्यु, ४ सुरक्षाकर्मी घाइते
(जनकपुर ) — धनुषाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलमा रहेको एक औषधि व्यवसायीको घरमा शुक्रबार अबेर राति बम विस्फोट हुँदा घरधनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।
स्थानीयवासीले दिएको जानकारी अनुसार स्थानीयस्तरमा निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखा परेको थियो । उनले नजिकको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए । सूचना पाएलगतै सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।
सुरक्षाकर्मीहरु निजको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु-छोराको मृत्यु भएको थियो । कम्तीमा ४ सुरक्षाकर्मी घाइते भएका थिए । घाइते सुरक्षाकर्मीहरुलाई उपचारका लागि राति नै धरान लगिएको थियो । प्राप्त जानकारीअनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमीरकुमार दाहालको अवस्था चिन्ताजनक छ । प्रहरी उच्च पदाधिकारीहरु घटनास्थलर्फ खटिएका छन् ।
एक कार्यक्रममा सहभागी हुन हेटौंडा गएका क्षीरेश्वर नगरपालिकाका मेयर योगी पजियार घटनाको जानकारी पाउनबित्तिकै नगर फर्किदै छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले बाबु-छोराको मृत्यु भएको जानकारी दिए ।