२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

विदेश उडानमा शतक

पार्टीभित्रैका नेता भन्छन्, 'जहाजको सिट खाली देख्नेवित्तिकै उड्न हतारिन्छन्'
बिनु सुवेदी

काठमाडौँ — जहाज जसै फिलिपिन्सको राजधानी मनिलाको आकाशमा पुग्यो, ढलमल–ढलमल गर्न थाल्यो । जहाजको झ्यालबाट कालो बादलबाहेक अर्को दृश्य देखिएन, जहाज बादलभित्रै हरायो । मृत्युलाई सामुन्ने देख्दा के गर्छ मान्छे ? उनले त्यतिखेर गरेको अनुभूति त्यही नै हो । ‘यात्रु सबै रुन थाले, एयर होस्टेस पनि रोए । अब त जिन्दगी यत्ति नै हो भन्ने लागेको थियो,’ पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पहिलो विदेश यात्रा स्मरण गरे, ‘मलाई बाँचेर फर्कुंला भन्ने आस पनि थिएन ।’ 

विदेश उडानमा शतक

नेपालका अनुसार उनले जिन्दगी माया मारेको त्यो दोस्रो पटक थियो । पहिलो पटक ०२९ सालमा सास फुलेर सिन्धुपाल्चोकको उकालो चढ्न नसक्दा उनलाई अब बाँचिँदैन होला भन्ने लागेको थियो । तराईको मान्छे अचानक पहाड छिचोल्नुपर्दा जति अत्तालिएका थिए, त्योभन्दा धेरै जहाजले बादल छिचोल्न नसक्दा आत्तिए उनी ।


करिब आधा घण्टापछि बादल फाट्यो, उनी चढेको जहाजले बाटो पायो, अचानकै जिन्दगी नसकिएकामा अरू यात्रुजस्तै नेपालको अनुहारमा पनि घाम झुल्कियो । बाल–बाल बाँचेका ३९ वर्षीय नेपाल युवाको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सहभागी भएर फर्किए । यो ०४८ कात्तिकको कुरा हो र वैदेशिक यात्रामा नेता नेपालको ‘डेब्यु’ । त्यसपछिको कुनै एउटा त्यस्तो वर्ष छैन, जुन नेता नेपालले विदेशी भूमिमा नटेकेका होउन् । सम्भवतः त्यसैकारण उनी विदेश यात्रा गर्ने नेपाली नेताहरूको सूचीमा अग्रपंक्तिमा छन् । यो तथ्यमा उनको जवाफ छ, ‘म विदेश मात्रै होइन, देशमा पनि धेरै घुम्ने नेतामा पर्छु । म देशी/विदेशी साथीहरूसँग राम्रो हिमचिम राख्छु ।’ उनी ०५४ सालअघि नै नेपालका सबै जिल्लामा पुगिसकेका थिए ।


मंसिरको पहिलो साता टर्की र मेसेडोनियाको यात्रा गरेर आएपछि उनको वैदेशिक उडानको संख्या सयबाट उकालो चढेको छ ।


यो हिसाबकिताबमा भारत भ्रमण जोडिएको छैन । नेपाल आफैंले पनि भनेका छन्, ‘भारत त कति गइयो गइयो, त्यसको कुनै हिसाब छैन ।’


नेपाल कहिलेकाहीं महिनाको तीन पटकसम्म विदेश गएका छन् । यसरी विदेश गइरहन केले प्रेरित गर्छ उनलाई ? ‘म अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धमा पहिलेदेखि नै रुचि राख्थें, त्यही रुचिले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न प्रेरित गर्‍यो,’ नेता नेपालले भने, ‘त्यसैले वैदेशिक सेमिनारका लागि धेरै निम्तो आउँछन् ।’ उनले अहिले नै पनि आफूलाई विदेशी संघसंस्थाबाट २० भन्दा धेरै निम्तो आएको बताए । उनी पार्टी विदेश विभागको नेतृत्वमा सुरुवातदेखि नै रहे । अहिले पनि नेकपा विदेश विभागको प्रमुख रहेका नेपाल आफूलाई विदेश जाने कुरा त्यति ठूलो नलाग्ने प्रतिक्रिया दिन्छन् । पहिले उनी सम्मेलनहरूमा सहभागीका रूपमा जान्थे, आजकल वक्ताका रूपमा निम्त्याइन्छन् । त्यस्ता फोरममा आफूले नेपालको कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानबारे धारणा राख्ने गरेको उनको भनाइ छ । ‘विदेश भ्रमणमा मैले नेपालको राजनीतिक उतारचढाव, अरू देशसँग नेपालको सम्बन्ध, नेपाली कम्युनिस्ट पार्टीहरूको विशेषताबारे नै कुरा गर्ने हो,’ उनले भने ।


०५० जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधन भएपछि उनी जेठ ९ गते पार्टीको महासचिव भए । त्यसपछिको लगातार १५ वर्षसम्म उनले एमाले नेतृत्वको सिँढीबाट ओर्लिनुपरेन । देशको प्रधानमन्त्री पनि भए । विदेश यात्रामा तत्कालीन एमालेको सिद्धान्त, दर्शन र नीतिबारे पनि जानकारी दिएको नेपाल बताउँछन् । भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादको अवधारणालाई आफू महासचिव भएपछि चीन र भारतका कम्युनिस्ट पार्टीहरूका बीचमा पनि बहस गराएको उनको भनाइ छ । ‘जबजबारे चिनियाँ कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका बीचमा पनि बहस गर्‍यौं,’ नेता नेपालले भने, ‘त्यसले पनि विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध बनाउन र विदेश आउजाउ गर्न मलाई थप सजिलो भयो ।’ त्यही आउजाउले नै होला धेरै चिनियाँहरू उनका ‘प्रिय’ साथी बनेका छन् । अन्ततिरका नेता र संघसंस्थासँगको सम्बन्ध पनि राम्रो छ ।


०५१ को मध्यावधि चुनावमा तत्कालीन एमाले पहिलो पार्टी भयो । पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । नेपाल उपप्रधान एवं परराष्ट्र र रक्षामन्त्री भएर पहिलो पटक सरकारमा गए । ‘त्यतिखेर मैले सबैभन्दा धेरै विदेश भ्रमण गरेँ तर रक्षामन्त्री पनि भएको हिसाबले कतिपय देशमा भने गइनँ,’ उनले त्यो कालखण्डको संवेदनशीलतालाई खोतले । अहिलेसम्म ६८ वटा देशमा पुग्नका लागि सयभन्दा धेरैपटक उडान भरेका नेपाल सबैभन्दा धेरै चोटि त चीन नै पुगेका छन् । उनी चीन मात्रै १० भन्दा बढी पटक पुगेका छन् । यति धेरै विदेश भ्रमण गर्ने नेपालले पासपोर्टचाहिँ कतिवटा फेरे होलान् ? नेपालका अनुसार ०७५ साउन २१ गते अद्यावधिक गरिएको उनको छैटौं पासपोर्ट हो । ‘जति धेरै हिँड्यो पासपोर्टमा उति नै छाप लाग्छ, सकिएपछि नयाँ बनाउन परिहाल्यो,’ नेपाल मुस्काउँछन् ।


नेता नेपालको विदेश भ्रमण आलोचनामुक्त भने छैन । पार्टीभित्रैका आलोचकहरू भने उनलाई ‘जहाजको सिट खाली देख्नेबित्तिकै उड्न हतारिने नेता’ भन्ने गर्छन् । नेकपा सचिवालय सदस्यहरूले नै नेपाललाई सानोतिनो कार्यक्रमका लागि विदेशतिर गइरहने बानी त्याग्न सुझाव दिएका छन् । ‘पार्टीका महत्त्वपूर्ण बैठकहरूमा नबस्ने विदेश मात्रै जाने अनि फर्किएर निर्णयहरूप्रति फरक मत राख्ने प्रवृत्ति देखिएपछि हामीले माधवजीलाई अब यसरी विदेश गइरहने काम छाडिदिनुस् भनेर सल्लाह पनि दियौं,’ एक सचिवालय सदस्यले भने, ‘तर उहाँ फुत्तफुत्त गइरहनुहुन्छ ।’ नेपाल भने आफूले देशलाई नै प्राथमिकतामा राखेको बताउँछन् । ‘म पार्टीको आन्तरिक काम छाडेर बाहिर जाने गरेको छैन, आएजति सबै निम्तोमा जान भ्याइँदैन पनि, विदेश भ्रमणको मामिलामा म सेलेक्टिभ छु,’ नेपालले दाबी गरे ।


कुनै समय थियो तत्कालीन एमालेले पार्टीमा जानकारी नदिई विदेश जाने सांसदलाई समेत छाड्दैनथ्यो । ०४८ देखि ०५१ सालसम्म आइपुग्दा पार्टीलाई नसोधी विदेश गएको भनेर एमालेले केही सांसदलाई कारबाही गरेको थियो । पछिसम्म पनि एमालेका नेता–कार्यकर्ता पार्टीलाई जानकारी नदिई कहीँकतै जाँदैनथे । तर अहिले नेपाललगायत नेकपाका नेताहरूको विदेश भ्रमण उनीहरू पुगिसकेपछि या फर्किएपछि मात्रै थाहा हुन्छ । कति त आए/गएको पनि पत्तो हुँदैन । ‘म मात्रै विदेश आउँदाजाँदा धेरै हल्ला हुन्छ, सुटुक्कै विदेश जाने अरू साथीहरू कति छन् कति,’ नेता नेपालले भने ।


नेता नेपालको अत्यधिक विदेश भ्रमणलाई इंगित गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले गत वैशाखमा दोलखाको एक कार्यक्रममा भनेका थिए, ‘पार्टीको एकता प्रक्रिया ढिलो हुनुमा नेताहरूको विदेशमोह पनि कारक हो ।’ त्यतिखेर नेकपाभित्र एकताबारे लम्बेतान छलफलहरू भइरहन्थे, नेताहरू आ–आफ्ना गुटमा बाँडिएका थिए ।


यसरी पार्टीका नेता–कार्यकर्ताहरूले नै आलोचना गर्दा आफूले गरिरहेको काम ठीक छ कि छैन भनेर समीक्षा गर्नुपर्ने नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीको भनाइ छ । ‘कतिपय कमजोरी नियत नहुँदा नहुँदै पनि हुन्छ, त्यसलाई आफैंले समीक्षा गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘नगई नहुने ठाउँमा त जानै पनि पर्‍यो तर जस्तो पनि कार्यक्रममा जाँदा कार्यकर्ताले राम्रो मान्दैनन् ।’ कार्यकर्ताले मात्रै होइन, नेकपाका शीर्ष नेताहरूले पनि नेपालको विदेश ‘सयर’ लाई उति राम्रो मानेका छैनन् ।


हालैको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एउटा किस्सा सुनाए, ‘माधवजी संसद् बैठकका लागि जानुभयो, सिटमा बस्नुभयो र यताउता हेरेर सिटबेल्ट खोज्नुभयो,’ ओलीले थपे, ‘छेउका सांसदले यो संसद्को बैठक कक्ष हो, जहाज होइन भनेर सम्झाएपछि नेपालजी झसंग हुनुभयो ।’


नेपालको विदेश भ्रमणलाई लिएर ओलीले अर्को पनि कटाक्ष गरेका छन्, ‘माधवजीले नेपाललाई ट्रान्जिट पोइन्ट मात्रै बनाउने हुनुभयो ।’ कहिलेकाहीं नेपालको विदेश दौडले त्यस्तै छनक दिन्छ पनि ।


उनी भने धेरै विदेश गयो भनेर आलोचना गर्नुको कुनै अर्थ नहुने टिप्पणी गर्छन् । ‘ती बिचराहरू जसलाई बिहेको निम्तो पनि आउँदैन, मर्दा मलामी जानुपर्छ भन्ने पनि थाहा छैन, उनीहरूलाई विदेश भ्रमणको पनि निम्तो नआउँदो रहेछ र मेरो आलोचना गर्छन्,’ उनले भने ।


दक्षिण कोरियाको विवादित संस्था ‘युनिभर्सल पिस फेडेरेसन’ले पोहोर मंसिरमा नेपालमा गरेको ‘एसिया प्यासिफिक सम्मेलन’मा सरकारको सहभागितालाई लिएर चर्को आलोचना भयो । उनले सो सम्मेलन र त्यसमा ‘होलीवाइन’ खुवाइएको विषयमा स्थायी कमिटी बैठकमै स्पष्टीकरण दिनुपर्‍यो ।


विदेश यात्रामा ‘शतक’ पार गरेकामा नेपालको संस्मरणबाट नहराएको भ्रमण भनेको उत्तर कोरियाको नै हो । पार्टी महासचिव भएपछि ०५० को असोजमा उनी उत्तर कोरिया भ्रमणमा गए । साथमा वामदेव गौतम र मोदनाथ प्रश्रित पनि थिए । त्यो बेला उत्तर कोरियाका नेता किम इल सुङसँग नेता नेपालको समूहको तीन घण्टासम्म छलफल भयो । त्यो भेटमा सुङले ‘हामी पनि चीनजस्तै खुला बाटोमा जान्छौं र त्यसको पहल गरिरहेका छौं’ भनेको कुरा नेता नेपालले बिर्संदैनन् । ‘उहाँले नेपालमा छिट्टै कम्युनिस्ट पार्टीको सरकार बन्छ र त्यो दिन मेरा लागि सबैभन्दा ठूलो खुसीको क्षण हुनेछ भन्नुभएको थियो तर हाम्रो देशमा कम्युनिस्ट सरकार बनेको सुङले देख्न पाउनुभएन,’ नेपालको अभिव्यक्तिमा थकथकी झल्किन्छ । सुङको ०५१ सालमा निधन भएको हो । उत्तर कोरियाको ढोका भने अझै बन्द छ ।


नेपालकै अनुसार भेनेजुयलाका नेताहरूसँग पनि उनको राम्रो सम्बन्ध छ । भेनेजुयलाका नेताहरूले केही महिनाअघि नेपाल आउँदा यही सम्बन्धको आधारमा नेता नेपालसँग पनि भेटेका थिए । युरोपियन मुलुकका धेरै कम्युनिस्ट नेता त उनका मिल्ने साथीहरू छन् ।


नेता नेपाल अहिले पनि आफ्नो सम्भावित विदेश भ्रमणकै तयारीमा छन् । उनको निवास पुग्दा मंगलबार उनी ‘नेपाल्स, नेसनल इन्ट्रेस्ट’ नामक किताब पल्टाइरहेका थिए । नेपालको राष्ट्रियता र भौगोलिक सीमाबारेका सन्दर्भ सामग्री खोज्ने क्रममा नेपालको हातमा यो किताब पुगेको हो । भारतीय पक्षबाट अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमिबारे भारतीय पक्षसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेपछि नेपालले त्यसको तयारी थालेका हुन् । त्यो प्रस्ताव मात्रै थियो, कुनै तयारी थिएन, कुराकानी कहींकतै भएको पनि थिएन । तर प्रस्तावले मूर्त रूप लिन नपाउँदै नेपालले सचिवालयमा त्यसबारे जानकारी गराएपछि उक्त गोप्य कुरा छरपस्ट भयो । कूटनीतिक अपरिपक्वता देखाएको भनेर नेता नेपाललाई केही विज्ञले गाली पनि गरे । त्यतिखेरै उनलाई एक जना पूर्वपरराष्ट्रमन्त्रीको सल्लाह थियो, ‘विदेश भन्नेबित्तिकै राम्रोसँग कुरा नबुझी दौडिहाल्ने बानी छाड्नुस् ।’


नेपालले भ्रमण गरेका मुलुक

भारत, चीन, हङकङ, रुस, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, लक्जम्बर्ग, जापान, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युबा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, काजकिस्तान, ब्राजिल, पराग्वे, हंगेरी, अस्ट्रिया, नाइजेरिया, इथियोपिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, स्पेन, कम्बोडिया, क्यानडा, कुवेत, साउदी अरेबिया, टर्की, अजरबैजान, लेबनान, पोर्चुगल, इटाली, ग्रीस, पाकिस्तान, बहमास, पूर्वी टिमोर, न्युजिल्यान्ड, म्यानमार, सेनेगल, युगान्डा, घाना, मेसेडोनिया, अल्बानिया ।

प्रकाशित : मंसिर २८, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?