२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आलम प्रकरण : अदालतले बोलायो प्रतिवादी

शिव पुरी

(रौतहट) — राजपुर बमकाण्डका फरार प्रतिवादीलाई हाजिर हुन जिल्ला अदालतले पत्र पठाएको छ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लागेका १० जना प्रतिवादीलाई अदालतले ३५ दिनभित्र हाजिर हुन पत्र पठाएको हो । 

आलम प्रकरण : अदालतले बोलायो प्रतिवादी

पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा ०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई चिम्नीभट्टामा हालेर जलाएर मारेको भन्दै ११ जनाविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोगमा मुद्दा चलाइएको थियो । यस प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि नख्खु जेलमा छन् । आलमबाहेक अरू पक्राउ परेका छैनन् ।


राजनीतिक शक्तिको आडमा १० वर्षसम्म गुपचुप पारिएको घटनाको अनुसन्धान जिल्ला प्रहरी प्रमुख भएर एसपी भूपेन्द्र खत्री आएलगत्तै सुरु भएको थियो । खत्रीले आलमलाई असोज २६ गते पक्राउ गरेका थिए । चिम्नीमा जिउँदै हालेर हत्या गरिएको अभियोगमा प्रहरीले सांसद आलम तथा उनका भाइ महताब आलमसँगै मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएको थियो । आलम पक्राउ परेपछि सबै फरार भएको जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले बताए । ‘अदालतले ३५ दिनभित्र हाजिर हुन भनिसकेको छ । आफ्नो संलग्नता छ/छैन प्रमाणसहित हाजिर हुन अदालतले पत्राचार गरेको हो,’ उनले भने, ‘घटनाका प्रतिवादी हामी पनि खोजिरहेका छौं ।’ फरार सबै भारतमा लुकेको प्रहरीको अनुमान छ । अदालतले प्रतिवादी सबैको घरमा पत्र पठाएको हो ।


प्रहरीको सुरक्षा निरन्तर

राजपुर फरदहवा बमकाण्डका जाहेरवाला, प्रत्यक्षदर्शी, साक्षी र पीडितलाई प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ । घटनासित प्रत्यक्ष सरोकार राख्ने पीडित लगायतकालाई कडा सुरक्षा दिइएको छ ।


जिल्ला प्रहरीले पीडितलगायत साक्षीहरूसित टेलिफोन र प्रत्यक्ष भेटेरै संवाद गरिरहेको छ । अदालतले साक्षी सुरक्षालाई ध्यान दिन भनी आदेश गरेको थियो । यही कारण प्रहरीले उनीहरूको निगरानी बढाएको हो । घटनाका एक घाइते भारतीय भएकाले प्रहरी प्रधान कार्यालयले भारतीय सुरक्षा अधिकारीलाई सुरक्षा दिन अनुरोध गरेको छ । बम विस्फोटमा छोरा गुमाएका सरुअठाका श्रीनारायण सिंहलाई सबैभन्दा बढी सुरक्षा थ्रेट छ । उनका लागि जिल्ला प्रहरीले हतियारधारी सुरक्षाकर्मी खटाएको छ । ‘हामीले अधिकतर साक्षी तथा सरोकारवालालाई २४ सै घण्टा सम्पर्कमा रहन अनुरोध गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख खत्रीले भने, ‘हामी कुनै पनि साक्षी र पीडितलाई केही हुन दिँदैनौं ।’

प्रकाशित : मंसिर २८, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?