कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तातोपानी भन्सार प्रमुख बस्नेतमाथि १० करोड भ्रष्टाचारको मुद्दा

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा १० करोड ५६ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका उपसचिव बस्नेतमाथि आफ्नो र जेठानको नाममा सम्पत्ति लुकाएको आरोप छ । अख्तियारले उनीमाथि १७ लाख रुपैंया घुस लिएको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।

तातोपानी भन्सार प्रमुख बस्नेतमाथि १० करोड भ्रष्टाचारको मुद्दा

बस्नेतमाथि मुद्दा जाने निश्चित भइसकेपछि केही दिनअघि अर्थ मन्त्रालयले बस्नेतलाई तातोपानी भन्सारबाट मन्त्रालयमा तानेको थियो । बस्नेतले ९ करोड २१ लाख रुपैंया संखुवासभाको खाँदवारीमा बस्ने जेठान नविनकुमार गौलीको खातामा लुकाएको आरोप लगाएको छ । बस्नेतले आफ्नो नाममा लुकाएको १ करोड ३५ लाख रुपैंयासमेत गैरकानुनी भएको अख्तियारको दावी छ ।


२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेत अहिले उपसचिव छन् । विभिन्न स्रोतबाट १ करोड ७८ लाख रुपैंया आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको अख्तियारको दावी छ । आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरी एक करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको पुष्टि गरेको अख्तियारको दावी छ ।


भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घुस लिएको उजुरीमाथि छानविन हुदा बस्नेतले उक्त रकम जेठान नविनकुमार गौलीको खातामा लुकाएको अख्तियारको भनाई छ । अनि जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसको रुपमा लिने गरेको अख्तियारको दावी छ । उनीहरुको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको अख्तियारले जनाएको छ ।


अख्तियारका अनुसार बस्नेत विराटनगर भन्सारमा काम गरेको अवधिमा गौलीले खाँदवारी वरपर सय रोपनीभन्दा बढी जग्गा खरिद गरेका थिए भने अन्यत्र पनि लगानी फैलाए । अख्तियारले बस्नेतका साथै उनकी श्रीमती सविता गौली, जेठान नविनकुमार गौली र नविनकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौली विरुद्धसमेत मुद्दा चलाएको छ ।


उपसचिव बस्नेतको सम्पत्ति छानविनको क्रममा उनको खातामा १७ लाख रुपैंया जम्मा भएको खुल्यो । जम्मा गर्नेमाथि छानविन हुदा विदेशबाट सामान ल्याउने व्यवसायीले भन्सार छुटाउने प्रयोजनका लागि घुस बुझाएको बयान दिए ।


त्यो रकम पछि उनका जेठान गौलीको खातामा सारिएको खुल्यो । अख्तियारले बस्नेत र गौलीमाथि १७ लाख रुपैंया घुस खाएको अभियोगमा समेत शुक्रवार नै विशेष अदालतमा मुद्दा चलाएको छ ।

प्रकाशित : मंसिर २७, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?