तातोपानी भन्सार प्रमुख बस्नेतमाथि १० करोड भ्रष्टाचारको मुद्दा

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा १० करोड ५६ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्थ मन्त्रालयका उपसचिव बस्नेतमाथि आफ्नो र जेठानको नाममा सम्पत्ति लुकाएको आरोप छ । अख्तियारले उनीमाथि १७ लाख रुपैंया घुस लिएको आरोपमा अर्को मुद्दासमेत दायर गरेको छ ।

ZenTravel

बस्नेतमाथि मुद्दा जाने निश्चित भइसकेपछि केही दिनअघि अर्थ मन्त्रालयले बस्नेतलाई तातोपानी भन्सारबाट मन्त्रालयमा तानेको थियो । बस्नेतले ९ करोड २१ लाख रुपैंया संखुवासभाको खाँदवारीमा बस्ने जेठान नविनकुमार गौलीको खातामा लुकाएको आरोप लगाएको छ । बस्नेतले आफ्नो नाममा लुकाएको १ करोड ३५ लाख रुपैंयासमेत गैरकानुनी भएको अख्तियारको दावी छ ।

Meroghar

२०४५ सालमा लेखापाल भएर सेवा प्रवेश गरेका बस्नेत अहिले उपसचिव छन् । विभिन्न स्रोतबाट १ करोड ७८ लाख रुपैंया आर्जन गरेका उनले त्यसको ६ गुणा बढी रकम गैरकानुनी आर्जन गरेको अख्तियारको दावी छ । आफ्नै खाताबाट उनले ३ करोड १३ लाख खर्च गरी एक करोड ३५ लाख अस्वाभाविक आर्जन गरेको पुष्टि गरेको अख्तियारको दावी छ ।

भन्सार छुटाउने क्रममा व्यापारी, व्यवसायी र भन्सार एजेन्टसँग घुस लिएको उजुरीमाथि छानविन हुदा बस्नेतले उक्त रकम जेठान नविनकुमार गौलीको खातामा लुकाएको अख्तियारको भनाई छ । अनि जेठानले खरिद गरेको सम्पत्ति बस्नेतले बकसको रुपमा लिने गरेको अख्तियारको दावी छ । उनीहरुको जग्गा, होटल व्यवसाय र अन्यत्र पनि लगानी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बस्नेत विराटनगर भन्सारमा काम गरेको अवधिमा गौलीले खाँदवारी वरपर सय रोपनीभन्दा बढी जग्गा खरिद गरेका थिए भने अन्यत्र पनि लगानी फैलाए । अख्तियारले बस्नेतका साथै उनकी श्रीमती सविता गौली, जेठान नविनकुमार गौली र नविनकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौली विरुद्धसमेत मुद्दा चलाएको छ ।

उपसचिव बस्नेतको सम्पत्ति छानविनको क्रममा उनको खातामा १७ लाख रुपैंया जम्मा भएको खुल्यो । जम्मा गर्नेमाथि छानविन हुदा विदेशबाट सामान ल्याउने व्यवसायीले भन्सार छुटाउने प्रयोजनका लागि घुस बुझाएको बयान दिए ।

त्यो रकम पछि उनका जेठान गौलीको खातामा सारिएको खुल्यो । अख्तियारले बस्नेत र गौलीमाथि १७ लाख रुपैंया घुस खाएको अभियोगमा समेत शुक्रवार नै विशेष अदालतमा मुद्दा चलाएको छ ।

प्रकाशित : मंसिर २७, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलत्कार प्रयास आरोपमा पक्राउ वडाध्यक्षलाई छोड्न माग गर्दै कांग्रेसको प्रदर्शन

कान्तिपुर संवाददाता

राजविराज — स्थानीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाई माग गर्दै नेपाली कांग्रेस सप्तरीले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का बासिन्दाहरुको सक्रियतामा नेपाली कांग्रेस सप्तरीले प्रदर्शन गरेको हो। गत मंसिर १३ गते आफ्नै वडाकि महिलालाई कुखुरा र्फममा बोलाई जर्बजस्ती बलात्कारको प्रयास गरेको आरोपमा वडाध्यक्ष साह मंसिर २४ गते पक्राउ परेका थिए।

शुक्रबार पार्टी कार्यालयबाट निस्कएको जुलुसले वडाध्यक्ष साहलाई रिहा भन्ने नारा लगाउँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी उपरिक्षक कृष्ण प्रसाईलाई रिहाइ माग गर्दै ज्ञापन पत्र पनि बुझाइयो।


पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी कृष्ण प्रसाइले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। साहसँगै मोहम्मद नसिम र अनिल रायलाई पनि पक्राउ गरिएको छ।

सप्तरी कांग्रेसले भने उनलाई योजनाबद्ध ढंगले फसाउन खोजिएको दावी गरेको छ। ‘राजनीतिक प्रतिशोधनको भावनाले प्रेरित भई नियोजित ढंगले निवेदिका महिलालाई परिचालन गरी फँसाइएको हाम्रो पार्टीको अध्ययनबाट देखिएको छ,’ कांग्रेस सप्तरीका सभापति दिनेश यादवले भने। उनले प्रहरीले विनाअनुसन्धान मुद्दा दर्ता गरेकाले पनि फसाउन खोजेको प्रमाणित हुने दावी गरे।

उनीहरुलाई तत्काल रिहाइ नगरिए बाध्य भई कडा संघर्षमा जाने निश्चित रहेको उनको भनाई छ।

प्रकाशित : मंसिर २७, २०७६ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×