२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्रीको पुरस्कार घोषणा सन्तुलित नभएकाे खेलाडी–प्रशिक्षकको गुनासो

नमिता दाहाल

काठमाडौँ — १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको पुरस्कारप्रति प्रशिक्षक तथा खेलाडीहरु असन्तुष्ट देखिएका छन् । शुक्रबार भएको विजय र्‍यालीमा सहभागि प्रशिक्षक तथा खेलाडीहरु सरकारले गरेको घोषणा असन्तुष्ट देखिएका हुन । 

प्रधानमन्त्रीको पुरस्कार घोषणा सन्तुलित नभएकाे खेलाडी–प्रशिक्षकको गुनासो

२० बर्ष अगाडीको साग प्रतियोगिताका बेला सरकारले घोषणा गरेको पुरस्कार र अहिले घोषणा गरेको पुरस्कार तुलना गर्दा अहिलेको निकै कम भएको तेक्वान्दोका प्रमुख प्रशिक्षक नविन कुमार श्रेष्ठले बताए । ‘२० बर्ष अगाडिको सागमा स्वर्ण विजेतालाई ३/३ लाख रुपैयाँ दिने घोषणा भएको थियो । त्यसले काठमाडौंमा घर बनाउन पुग्थ्यो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘अहिले ९ लाखले केही गर्न मिल्दैन । खेलाडीलाई स्वर्ण पदक जितेर आएको बेला आर्थिक रुपमा बलियो बनाउनु पर्ने थियो ।’


प्रशिक्षक श्रेष्ठले प्रशिक्षकहरुले मिहिनेतको आधारमा पुरस्कार नपाएको बताए । ‘हामी १२ स्वर्ण जित्ने र एक स्वर्ण जित्ने प्रशिक्षकलाई दामासाहीले पुरस्कार वितरण गरिएको छ, त्यस्तो गर्ने होइन । यसले प्रतिस्पर्धी बनाउँदैन,’ श्रेष्ठले भने ।


२० वर्षअघि नेपालमा ८ औं साग भएको थियो ।


महिला भलिबल टीमकी कप्तान अरुणा शाही पनि सरकारले घोषणा गरेको पुरस्कारमा सन्तुष्ट छैनन् । ‘महिला भलिबल टीमले धेरै नै मेहनत गरेर फइनलसम्म पुग्यौ । तर, हामीले विजेताको मेडल त पाएनौ नै, सरकारको घोषणा गरेको पुरस्कार समेत पाएनौ,’ कप्तान शाहीले भनिन्, ‘टीममा स्वर्ण जित्नेलाई मात्रै ५/५ लाख दिने घोषणा गर्‍यो । हामीलाई केहि पनि घोषणा गरेन । मेहनत त हामीले पनि उत्तिकै गरेका हौं । फेरि गर्छ कि हेरौ ।’


यसपटकको सागमा कुस्तीबाट नेपालले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्यो । तर, कुस्तीका खेलीडीहरुले विजय र्‍यालीमा खेल्नका लागि हलको अभाव रहेको गुनासो गरे । अन्य विधाका खेलाडीलाई विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिने व्यवस्था गरिए पनि कुस्तीका खेलाडीलाई स्वदेशी प्रशिक्षकमात्रै राखेकोमा पनि खेलाडीहरुको गुनासो थियो ।


विजय र्‍यालीमा सहभागि खेलाडीहरुले आफ्नो सफलताका र सरकारले गरेको बिशेष प्याकेजको बारेमा फरक फरक धारणा व्यक्त गरे । करातेमा स्वर्ण पदक विजेता अनुपमा मगरले समग्रमा सागको अनुभव प्रेरणादायी भएको बताइन । ‘समग्रमा सागको अनुभव प्रेरणा दिने खालको छ । सरकारले गरेको पुरस्कार घोषणाले खेलप्रति अझ बढी प्रेरित गरेको छ,’ मगरले भनिन ।


करातेमा स्वर्ण पदक विजेता नविन रसाइलीले अर्न्तराष्ट्रिय कोचबाट पाएको प्रशिक्षणले धेरै विषयमा जान्ने मौका मिलेको बताए । ‘बाहिरबाट आएका कोचहरुबाट ट्रेनिङ पायौँ, त्यसको नतिजा स्वरुप हामीले अत्याधिक स्वर्ण जित्यौ,’ रसाइलीले भने, ‘सरकारले गरेको पुरस्कार घोषणाबाट हौसला प्राप्त भएको छ ।’


करातेमै स्वर्ण पदक जितेकी सुनिता मर्हजनले सरकारको घोषणाले आफुलाई खेल्न अझ प्रेरणा मिलेको बताइन । उनले भनिन ‘सरकारले गरेको पुरस्कार घोषणा एकदमै प्रशंसनिय छ । अझै खेलाडीको लागि स्थायी केहि व्यवस्था भए झन राम्रो हुन्थ्यो ।’


शुक्रबार विजेता खेलाडीहरुलाई फुलमाला, अबिर र बाजागाजासहित दशरथ रगंशालाबाट मध्यान्ह १२ बजे र्‍याली सुरु गरी उपत्यकाका तिनै शहर घुमाइएको थियो । र्‍यालीमा विभिन्न खेलबाट स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेलकुद परिषदका पदाधिकारी सहभागि थिए ।

२४ गते सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको थियो ।


प्रकाशित : मंसिर २७, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?