ललितादेवीकी छोरीलाई कुपोषण
राजविराज — सुत्केरी गराउँदा लागेको उपचार खर्च तिर्न नसक्दा १२ दिनदेखि विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन नसकेकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवीकी जीवित नवजात छोरी कुपोषणबाट ग्रसित भएकी छिन् ।
तिलाठी कोइलाडी–८ का गोपीकुमार खंगकी श्रीमती ललितादेवीले विराटनगरमा दुई छोरीलाई गत कार्तिक २७ गते जन्म दिएकी थिइन् । जन्मिँदा स्वस्थ्य नै रहेका दुवै नवजात छोरी डिस्चार्ज भएपनि आमाको उपचार भइरहँदा उनीहरुलाई बुवा गोपीले आमासँगै अस्पतालमै राखेका थिए । अस्पतालमा चिसो लागेर एक छोरीको मृत्यु भइसकेको छ ।
सुत्केरीपछि ललितादेवी निको भएको १२ दिन बित्दा पनि लागेको खर्च तिर्न नसक्दा अस्पतालले डिस्चार्ज नदिँदा गोपी जीवित छोरीलाई काखमा लिएर विराटनगरबाट सप्तरीस्थित घर आएका थिए । बच्चा जन्मिएपछि आमाको दुध सबैभन्दा पोषिलो आहार भएपनि ललितादेवीकी छोरी आमाभन्दा टाढा बस्दा उनलाई कुपोषण भएको हो । ‘बच्चीको अवस्था हेर्दा कुपोषणले अति ग्रस्त पारेको देखिन्छ’ राजविराजस्थित पोषण पुर्नस्थापना गृहकी प्रमुख रश्मी झाले भनिन्, ‘बच्चीको शरीरमा मासु छैन्, छाला र हाड मात्रै देखिन्छ ।’ ललितादेवीका पति गोपीले बच्चालाई घरमा कोही स्याहार गर्ने भएकाले बिरामी परेको दिनदिनै सुक्दै गएको बताए ।
हुन सकेन् पैसाको व्यवस्था
यता अस्पतालमा सुत्केरी गराउदा भएको ३ लाख र औषधि बापतको ५० हजार गरी ३ लाख ५० हजार रुपैयाँको व्यवस्था हुन नसक्दा शुक्रबार १२ औं दिन पनि ललितादेवी अस्पतालवाट डिस्चार्ज हुन सकेकी छैनन् । ‘अहिलेसम्म कान्तिपुरमार्फत हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेश साहले दिएको २५ हजार रुपैयाँ सहयोग आएको छ’ ललितादेवीका पति गोपीले भने, ‘सबैतिर सहयोगको खोजी गरिईरहेका छौ, रकमको व्यवस्था भए पो श्रीमतीलाई ल्याउन जानु ।’