शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुने

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । 

शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुने

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको छ । महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ । ‘मुलुकको पश्चिमी भूभागका केही स्थानमा शुक्रबार हावाहुरी आउनेसमेत सम्भावना छ,’ बुलेटिनमा छ ।


महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बुलेटिनमा शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।


विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ । महाशाखाले बिहीबार पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ । बुलेटिनमा बिहीबार पश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात भएको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भएको जनाएको छ ।


हुम्ला र मनाङमा हिमपात

हुम्ला– हुम्लामा यो वर्ष बिहीबार दोस्रोपटक हिमपात भएको छ । हिमपातका कारण सुर्खेत र नेपालगन्जबाट सिमकोटमा कुनै पनि उडान भएनन् ।


सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । चिसोका कारण शुक्रबारदेखि सुरु हुने सिमकोट गाउँपालिकास्तरीय कक्षा ८ र ५ को परीक्षा प्रभावित हुने भएको छ । सिमकोट गाउँपालिकामा २२ विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत कक्षा ८ र ५ का ३ सय ४८ विद्यार्थी परीक्षाबाट प्रभावित हुन सक्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख उजिर रोकायाले बताए ।


उत्तरी नाम्खा गाउँपालिकामा सिमकोटभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालयका निमित प्रमुख राजेन्द्र सिंहले बताए । हिमपातले दक्षिणी क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ लगाउन खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो भएको चंखेली गाउँपालिका नेप्कागाउँका तिलक तामाङले बताए ।


मनाङमा पनि माइनस

मनाङमा हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ । माथिल्लो मनाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका अनुसार माथिल्लो क्षेत्रमा साँझबिहान माइनस ८ र दिउँसो माइनस ५ डिग्रीसम्म तापक्रम झर्ने गरेको छ । मौसम मापनयन्त्र (थर्मोमिटर) र मौसम पूर्वानुमानसम्बन्धी विभिन्न वेबसाइटमार्फत मनाङमा तापक्रम मापन गरिँदै आएको छ ।

सातायता बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । स्थानीय सबेरै घरबाहिर निस्कन नसकेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । प्रमुख जिल्ला अधिकारी पुष्पराज बरालका अनुसार पानी पनि जम्न थालेको छ ।

प्रकाशित : मंसिर २७, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?