१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दस्ताबेज बनाउन ‘एकान्तवास’

बिनु सुवेदी

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्ताबेज तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

दस्ताबेज बनाउन ‘एकान्तवास’

शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो । दाहाललाई स्पष्ट काम र समयतालिकासहितको ६ महिने कार्ययोजना ल्याउन गत मंसिर २३ को सचिवालय बैठकले निर्देशन दिएको थियो । त्यसपछि दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन् । ‘उहाँ (दाहाल) बिहानैदेखि भेटघाट बन्द गरेर कार्ययोजना लेखनमा व्यस्त हुनुहुन्छ,’ दाहाल सचिवालयका एक सदस्यले बिहीबार साँझ कान्तिपुरसँग भने, ‘दुइटा विषयको प्रस्ताव तयार भइसकेको छ ।’ शुक्रबार साँझसम्म कार्ययोजना तयार पार्ने लक्ष्य रहेको पनि उनले सुनाए ।


दाहालले स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजना पारित गर्नका लागि शुक्रबार सचिवालय बैठक बोलाएका थिए । कार्ययोजनै तयार नभएपछि सचिवालय बैठक सरेको छ । महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठक शनिबार हुनेछ । अध्यक्ष दाहालले तयार पारेको प्रस्तावित कार्ययोजना अर्का अध्यक्ष ओलीलाई देखाएर परिमार्जन गरिसकेपछि मात्रै स्थायी समिति बैठकमा पेस गरिने भएको छ । सचिवालय बैठकमा नयाँ सभामुख बनाउने विषयमा पनि प्रस्ताव पेस गर्ने तयारीमा अध्यक्ष दाहाल छन् । दुई अध्यक्षबीच भएको भेटमा सभामुखबारे सहमति जुटिनसकेकाले पनि दाहालले सचिवालय बैठक सारेको स्रोतको भनाइ छ ।


ओली र दाहालबीच बुधबार भएको भेटमा कस्ता–कस्ता विषय समेटर कार्ययोजना बनाउने भन्नेबारे छलफल भएको थियो । छलफलमा ओलीले ‘तपाईं प्रस्ताव तयार पार्नुस्, एक पटक दुई जना अध्यक्ष बसेर हेरौंला, त्यसपछि सचिवालय बैठकबाट पारित गराउनुहोला’ भनेपछि दाहाल दस्ताबेज लेखनमा जुटेका हुन् । सचिवालय सदस्य रामबहादुर थापाका अनुसार दाहालले पार्टीको वैचारिक सांगठनिक एकता हुने गरी राजनीतिक प्रतिवेदन बनाउनेछन् । ‘उहाँले हामी सबैसँग एकसरो छलफल गर्नुभयो, पार्टी संगठन, जनपरिचालन, प्रदेश र स्थानीय तहका कमिटी कार्यकर्ताको पनि कार्यविभाजन गर्ने गरी कार्ययोजना तयार पार्नुहुनेछ,’ थापाले भने, ‘स्थानीय तहको विकास निर्माणका लागि पार्टीको भूमिकाबारे पनि केही खाका आउला ।’


अध्यक्ष दाहालले स्थायी समितिको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने, पार्टी विभाग तथा जनवर्गीय संगठनहरूलाई पूर्णता दिने, पार्टी स्कुल सञ्चालन पोलिटब्युरो गठन गर्ने, पार्टीको विधान संशोधन गर्ने, आर्थिक परिचालन गर्ने र पार्टीको आम्दानीको स्रोत जुटाउने विषयमा राजनीतिक कार्ययोजना तयार पार्दै छन् ।


गत २३ गते बसेको सचिवालय बैठकले पार्टीको कार्यक्रम ३ भागमा बाँड्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार नेकपाको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद, तात्कालिक कार्यक्रम समाजवादउन्मुख, जनताको जनवाद र दीर्घकालीन कार्यक्रम साम्यवाद छ । ‘अब पार्टी कार्यक्रमसँग मेल खाने गरी योजनाहरू ल्याउनुपर्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार आउँदो फागुन र चैतमा नेकपाले देशव्यापी अभियान सुरु गर्दै छ । अभियानमा पार्टीका नेता र कार्यकर्तालाई पार्टीको नीति र सिद्धान्तबारे प्रशिक्षण दिने तयारी नेकपाको छ ।


नेपालले पोलिटब्युरो गठनको प्रस्ताव लैजाने

सचिवालय सदस्य माधवकुमार नेपालले पोलिटब्युरो गठनसँगै यसअघि सचिवालय बैठकमा राखेका लिखित फरक मतलाई छलफलका लागि स्थायी समिति बैठकमा पनि लैजाने तयारी गरेका छन् । ‘एक व्यक्ति एक कार्यकारी पद अध्यक्षहरूमा मात्रै होइन, बीचमा र तल्लो तहमा पनि छ,’ नेपालनिकट स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने, ‘पार्टीको प्रदेश इन्चार्ज नै मुख्यमन्त्री हुने, मेयर नै जिल्ला कमिटीको प्रमुख हुने चलन पनि हटाउनुपर्छ ।’ उनले पार्टीलाई बहुपदीय पद्धतिमा लानुपर्ने आफूहरूको जोड रहेको र नेतृत्वलाई पनि त्यही किसिमको सुझाव दिएको जानकारी दिए ।


नेता नेपालले भदौ ३ गते बसेको सचिवालय बैठकमा एक व्यक्ति कार्यकारी पद हुनुपर्ने, तत्कालीन एमालेका सबै उपाध्यक्षलाई सचिवालयमा ल्याउनुपर्ने, पार्टीको विधानअनुसार बैठकहरू नियमति बोलाउनुपर्ने लगायत मागसहित फरक मत राखेका थिए ।

प्रकाशित : मंसिर २७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?