२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लोकसेवा आयोगका क्षेत्रीय र शाखा कार्यालय राख्ने/नराख्नेबारे सांसद र कर्मचारीबीच विवाद

जयसिंह महरा

काठमाडौँ — लोकसेवा आयोगका क्षेत्रीय र शाखा कार्यालय यथावत राख्ने कि हटाउने भन्ने विषयमा सांसद र कर्मचारीहरूबीच विवाद भएको छ ।

लोकसेवा आयोगका क्षेत्रीय र शाखा कार्यालय राख्ने/नराख्नेबारे सांसद र कर्मचारीबीच विवाद

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा आयोगका शाखा र क्षेत्रीय कार्यालय राख्ने कि हटाउने भन्ने बुँदामा विवाद भएको हो ।

समितिमा छलफलमा रहेको विधेयकमा भने लोकसेवा आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र हाल कायम रहेका शाखा र क्षेत्रीय कार्यालय यथावत रहने प्रस्ताव गरिएको छ । विधेयकको दफा ३ को उपदफा ४ मा हाल कायम रहेका आयोगका कार्यालयहरू अर्को व्यवस्था नभएसम्म यथावत रहने भनिएको छ ।

नेकपाका समितिमा रहेका सांसदले प्रदेश लोकसेवा आयोग गठन भएकाले लोकसेवा आयोगको क्षेत्रीय र शाखा कार्यालय आवश्यक नपर्ने तर्क गरेका थिए । नेकपा सांसद पम्फा भुसालले जाँच लिनका लागि प्रदेश लोकसेवा आयोगहरूसँग सहकार्य गर्नुपर्ने र लोकसेवा आयोगका शाखा कार्यालय हटाउनुपर्ने बताइन् ।

आयोगले परीक्षा लिने क्रममा व्यवस्थापकीय सहयोग प्रदेश लोकसेवा आयोगबाट लिनुपर्ने व्यवस्था गर्नुपर्ने भएकाले संघीय लोकसेवा आयोगका कार्यालय राख्न मिल्दैन’, नेकपाकै सांसद रेखा शर्माको भनाइ थियो ।

नेपाली कांग्रेस सांसद डा. डिला संग्रौलाले मुलुक संघीयतामा गइसकेकाले लोकसेवा आयोगका शाखा कार्यालय आवश्यक छैन । कानुनमा त्यस्तो व्यवस्था गर्ने हो भने प्रदेश लोकसेवाको औचित्य हुँदैनन् भनिन् ।

नेकपाका सांसदहरू डा. विजय सुब्बा र शेरबहादुर तामाङले भने आवश्यक संख्यामा लोकसेवा आयोगले शाखा र क्षेत्रीय कार्यालय राख्न पाउनुपर्ने व्यवस्था कानुनमा गर्नुपर्ने बताए ।

सांसद सुब्बाले लोकसेवाको परीक्षा दिनका लागि टाढा जानुपर्ने अव्यवस्थाको अन्त्य गर्न शाखा र क्षेत्रीय कार्यालय आवश्यक रहेको बताए । इलामको मान्छे धनकुटा र तेह्रथुमको मान्छे सामान्य कामका लागि संखुवासभा जानुपर्ने अवस्था आएकाले संघीयताले झन् दुःख दियो कि लागिरहेको छ’, सांसद सुब्बाले भने, ‘लोकसेवा आयोगका कार्यालय हटाएर झन् दुःख हुने काम नगरौँ ।

कांग्रेस सांसद मिना पाण्डेले पनि आवश्यक ठाउँमा आयोगका कार्यालय राख्न पाउने व्यवस्था गर्नुपर्ने बताइन् ।

लोकसेवा आयोगका सचिव आनन्दराज ढकालले स्वास्थ्य सेवाको चौथो तहको, निजामतीको खरिदार र नायब सुब्बाको तथा नेपाल प्रहरी, नेपाली सेनालगायत ९२ संगठीत संस्थाका कर्मचारीको परीक्षा आयोगले लिइरहेको अवस्थामा क्षेत्रीय र शाखा कार्यालय आवश्यक परेको बताए । उनले प्रदेश लोकसेवाको भर परिहाल्नपर्ने अवस्था तत्काल नरहेको धारणा राखे । प्रदेश लोकसेवाहरूलाई संघीय लोकसेवा सरह बलियो बनाउन समय लाग्ने उनले बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले लोकसेवा आयोगका क्षेत्रीय र शाखा कार्यालयको व्यवस्था नगर्ने हो भने हाल रहेका कार्यालय विधेयक पास भएको भोलिपल्ट बन्द हुने अवस्था रहेको बताए । उनले त्यस्तो अवस्था नआओस् भन्ने चाहेर पनि उक्त बुँदा राख्नुपर्ने बताए ।

सरकारी अधिकारीहरूले केही संख्यामा मात्रै लोकसेवा आयोगका शाखा कार्यालय हुने र त्यसमा बढीमा १५ जनामात्रै कर्मचारी रहने भएकाले राज्यलाई बढी आर्थिक भार नपर्ने तर्क गरेका थिए ।

नेकपा सांसद भुसालले भने कर्मचारीहरू पुरानै मानसिकताबाट निर्देशित भएकाले आयोगका क्षेत्रीय र शाखा कार्यालय राख्ने बुँदा विधेयकमा आएको बताइन् । समिति सभापति शशी श्रेष्ठले पनि शाखा र क्षेत्रीय कार्यालयले संघीय व्यवस्थामा आँच आउने धारणा राखेकी थिइन् ।

सांसद-सांसद र कर्मचारीहरूबीच लोकसेवा आयोगका क्षेत्रीय र शाखा कार्यालय राख्ने कि नराख्ने भन्ने विषयमा सहमति हुन नसकेपछि उक्त उपदफा थाती राखिएको छ ।

विधेयकको दफा ३ को उपदफा ४ थाती राखेर परिच्छेद १ र २ समितिबाट पारित भएका छन् । परिच्छेद १ मा सामान्य संशोधन गरिएको छ ।

प्रकाशित : मंसिर २६, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?