कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सभामुख चयनमा राष्ट्रपतिको पनि चासो

नेम्वाङलाई ‌ओली, सापकोटालाई दाहाल र तुम्बाहाङ्फेलाई राष्ट्रपतिको साथ
बबिता शर्मा

काठमाडौँ — भावी सभामुख चयनको विषयमा नेकपाभित्र दुई अध्यक्षका उम्मेदवार देखिए पनि तेस्रो उम्मेदवारको पनि दाबी बलियो बन्दै गएको छ । संसदको हिउँदे अधिवेशन नजिकिँदै गर्दा सभामुख चयनको विषयमा ध्यान केन्द्रीत भएको हो ।

सभामुख चयनमा राष्ट्रपतिको पनि चासो

पुस ४ गते संसदको पाँचौं अधिवेशन आह्वान भएको छ, जसको पहिलो कार्यसूची नै नयाँ सभामुख चयन रहेको छ ।

सभामुखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन् । राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फे रोजेकी छन् । नेम्वाङ र सापकोटामध्ये एक सभामुख बन्ने अनुमान गरिएकोमा उपसभामुख शिवमायालाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ ।


नेकपाभित्रको शक्ति बाँडफाँडमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएको भनेर आलोचना हुँदै आएको छ । राष्ट्रपति निकट मानिने नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार सभामुखमा राष्ट्रपति भण्डारीले चासो राखेकी छन् । उनले महिला र आफू निकट रहेको भन्दै उपसभामुख तुम्बाहाङ्फेको नाम अगाडि सारेकी हुन् ।


तुम्बाहाङ्फेले पनि आफूले अवसर पाए सभामुखको हैसियतमा भूमिका निर्वाह गर्नसक्ने बताउँदै आएकी छन् । यसबाहेक अनुभवी, शालीन र समन्वयकारी भूमिका निभाउन सक्ने नेता भएको भन्दै प्रधानमन्त्री ओलीले नेम्वाङको नाम अगाडि सारेका छन् । ओली निकट मानिने नेकपाको स्थायी कमिटीका एक सदस्य भन्छन्, 'नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्रीले पहल गर्नुभएको छ । तर, अझै यसले आकार ग्रहण गरेको छैन् ।’


प्रधानमन्त्री ओली कार्यपालिकामा रणनीतिक रुपमा सहयोग गर्नसक्ने र संसदका प्रक्रियामा प्रतिपक्षीलाई विश्वासमा ल्याउन वा रणनीतिक रुपमा तल पार्नसक्ने व्यक्तिलाई सभामुख बनाउने अडानमा छन् । ओली आफैंले नभने पनि आफ्ना निकटका नेताहरुमार्फत भावी सभामुखको विषयमा दाहालसँग प्रस्ताव पठाएका छन् ।


उता पार्टी एकतापूर्वको शक्ति बाँडफाडकै आधारमा सभामुख पद पूर्व माओवादी समूहले पाउनुपर्ने दाबी र अडानमा दाहाल छन् । दाहालले पनि नेता सापकोटालाई सभामुखका लागि अगाडि सारेका छन् ।


पूर्व माओवादी समूहका नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दाहालले आफू निकट नेतासँग सापकोटालाई नै सभामुख बनाउँदा पार्टीभित्रको शक्ति सन्तुलन नबिग्रने र यसले सम्रग नेकपालाई फाइदा गर्ने बताउँदै आएका छन् ।


दाहालले मंसिर ४ गतेको सचिवालयको निर्णय अनुसार नेकपामा कार्यकारी अध्यक्षको भूमिका पाएका छन् । त्यसैले सभामुख आफैंले प्रस्ताव गरेको व्यक्ति होस् भन्ने दाहालको बुझाई रहेको स्थायी कमिटीका ती सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । नेकपाका एक सचिवालय सदस्यका अनुसार सभामुखका लागि अहिले त्रिपक्षीय शक्ति संघर्ष देखा परेको छ । तर, अहिलेसम्म पार्टी बैठकमा औपचारिक रुपमा यो विषय प्रवेश नगरेको उनले जानकारी दिए । 'फेरि पनि सभामुखको विषय दुई अध्यक्षले 'वान टू वान' वार्ता गरेर टुंगाउने सम्भावना देखिन्छ,’ ती नेताले भने ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंसिर २७ गते बस्ने सचिवालय बैठकमा यो विषय प्रवेश हुने सम्भावना छ । 'सभामुख चयन गर्नुपर्ने तत्कालकै आवश्यकता हो । सामान्य छलफलहरु पार्टीमा भएका छन्, शुक्रबार बस्ने सचिवालय बैठकपनि यो विषय प्रवेश हुन पनि सक्छ । तर अहिलेसम्म निर्णय भएको छैन ।’ संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणीको आरोपपछि कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँड हुँदा सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । त्यसैअनुसार महरा सभामुख र शिवमाया तुम्बाहाङ्फे उपसभामुख बनेका थिए ।

को बन्ला सभामुख ?

महराको राजीनामापछि खाली सभामुख आफ्नो समूहले पाउनुपर्ने दाबी तत्कालीन माओवादी समूहको छ । तत्कालीन एमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ ।

सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुख तुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ । किनकी एउटै पार्टीको तर्फबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्था छ । नेकपा गठन भएपछि सुरु भएको यो विवाद अहिले अदालतमा विचाराधीन छ । उपसभामुखले राजीनामा गर्ने समाचारहरु प्रकाशमा आइसकेका छन् ।

यो पनि पढ्नुहोस्ः

मन्त्रिपरिषद् पुनर्गठनपछि सभामुखको खोजी

प्रकाशित : मंसिर २६, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?