३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्मचारीसँग सल्लाहकारको छलफल, पद्धति ठीक नभएको कर्मचारीको भनाइ

काठमाडौँ — प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले सरकारका राम्रा कामलाई प्रेसमार्फत प्रवाह गर्न मन्त्रालयका प्रवक्ताहरूसँग छलफल गरेका छन् । सरकारको ‘चेन अफ कमान्ड’ मा नरहने प्रधानमन्त्रीका सल्लाहकारले निजामती सेवाका प्रथम श्रेणीका कर्मचारीलाई सामूहिक रूपमा गरेको छलफललाई प्रवक्ताहरूले भने रुचाएका छैनन् ।

कर्मचारीसँग सल्लाहकारको छलफल, पद्धति ठीक नभएको कर्मचारीको भनाइ

‘सल्लाहकार सरकारको सिस्टमभित्रका होइनन् । अनुरोधको शैलीमा उहाँहरूले निर्देश गर्न खोज्नुभएको छ,’ सल्लाहकारसँगको छलफलमा सहभागी एक सहसचिवले भने, ‘छलफलको विषय राम्रो भए पनि पद्धति ठीक भएन ।’


सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा छन् । उनी उक्त छलफलमा उपस्थित थिएनन् । प्रेस सल्लाहकारले संयोजन गरेर प्रवक्ताहरूलाई बोलाइएको उक्त छलफलमा मुख्य सल्लाहकार रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई उपस्थित थिए ।

सल्लाहकारहरूले मन्त्रालयबाट भएका राम्रा कामकारबाही, उपलब्धिलाई सक्रियताका साथ प्रेसमा पठाउन आग्रह गरेको सहभागी अर्का प्रवक्ताले बताए । ‘स्रोत भन्दै नकारात्मक समाचार धेरै आएकाले त्यस्तालाई निरुत्साहित गर्न र राम्रा पक्षलाई बाहिर ल्याउन उहाँहरूले जोड दिनुभयो,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयका दुई जना सचिव र विभिन्न मन्त्रालयका करिब २० जना प्रवक्ता बैठकमा उपस्थित थिए । प्रधानमन्त्री कार्यालयमा प्रवक्ताहरूसँगको छलफल करिब डेढ घण्टा चलेको थियो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव यमलाल भुसालले मन्त्रालयले गरेको कामकारबाहीलाई कसरी व्यवस्थित पार्ने र सूचना प्रवाहलाई सहज बनाउने लगायतका विषयमा छलफल भएको बताए ।


‘प्रेस सल्लाहकारले प्रवक्ताहरूसँग छलफल गरेको यो पहिलो होइन, यसअघिका सल्लाहकारले पनि गर्नुहुन्थ्यो,’ उनले भने, ‘यो छलफल परिचयात्मक पनि हो । यो अस्वाभाविक मान्नुपर्ने विषय होइन ।’

प्रकाशित : मंसिर २६, २०७६ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?