कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शुल्क लिएर ‘प्रि–सेन्डअप’

काठमाडौँ — निजी विद्यालयले एसईई प्रि–सेन्डअप परीक्षाका नाममा अभिभावकसित शुल्क असुलेका छन् । उपत्यकाका विद्यालयले प्रत्येक विद्यार्थीबाट न्यूनतम पाँच सय रुपैयाँ असुलेका हुन् । निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन र एनप्याब्सनका पदाधिकारीले शैक्षिक गुणस्तर बढाउन थोरै शुल्क लिएको स्विकारेका छन् ।शिक्षा नियमावलीअनुसार कुनै पनि विद्यार्थीलाई कक्षा १० मा फेल गराएर एसईई परीक्षा दिनबाट वञ्चित गर्न पाइँदैन । 

विद्यालयले भने विद्यार्थीलाई परीक्षाको अभ्यास गराउने र अनुत्तीर्ण भएमा नियमित कक्षामा रोक्ने गरेको पाइएको छ । ‘मेरो बच्चाले राम्रो पढेन भनेर प्राइभेट एसईई दिन भन्यो, मैले मानिनँ,’ एक अभिभावकले दुई वर्षअघिको घटना सुनाए, ‘त्यसपछि तिनीहरूले (विद्यालय सञ्चालक) ले नै खोलेको अर्को विद्यालयबाट जाँच दिन लगाए । अर्को छोराले अहिले प्रिसेन्डअप दिँदै छ ।’ यसअघि अन्तिम परीक्षाअघि एक पटक मात्र सेन्डअप परीक्षा लिने गरिएकामा अहिले दुई पटक जाँच दिन लगाइएको उनले जनाए ।


विद्यार्थीको मिहिनेत बढाउन पटकपटक परीक्षा लिनुपरेको प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाको दाबी छ । ‘एसईईको नतिजा ग्रेडिङ सिस्टममा हुने भएकाले बच्चाहरू पढाइमा मिहिनेत गर्दैनन्,’ उनले भने, ‘उनीहरूलाई सचेत तुल्याउन परीक्षा लिनैपर्छ । विद्यालयहरूको क्षेत्रीय क्लस्टरले सामूहिक प्रश्नपत्र निर्माण गरेर परीक्षा सञ्चालन गर्दै आएको छ । यसलाई अन्यथा लिइनु हुँदैन ।’


निजीले मात्र नभई सरकारी विद्यालयले समेत प्रिसेन्डअप परीक्षा लिने गरेको एनप्याब्सनका महासचिव सुवास न्यौपानेले बताए । ‘प्याब्सन र एनप्याब्सनले होइन, क्षेत्रीय क्लस्टरले यो परीक्षा लिन्छन्,’ एपेक्स स्कुलका प्रिन्सिपलसमेत रहेका उनले भने, ‘ग्रेडिङ प्रणालीले गर्दा विद्यार्थीले मिहिनेत गर्न छाडेका छन् । त्यसैले पटकपटक परीक्षा नलिई राम्रो नतिजा आउँदैन ।’

प्रकाशित : मंसिर २६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?