वनमै छुट्यो भारी र रस्सी

हात्तीको आक्रमणबाट २ को मृत्यु
भवानी भट्ट

(कञ्चनपुर) — महाकाली नगरपालिका–२ लाघाट चाँदनीकी वसन्ती भट्ट सधैं झैं बिहान पनि घाँस–दाउरा ल्याउन घरभन्दा केही परको मायापुरी मध्यवर्ती सामुदायिक वनमा गएकी थिइन् । छिमेकीहरूसँग बिहान झिसमिसेमै वनमा जाने उनी १०/११ बजेतिर घर फर्कन्थिन् तर बुधबार भने न उनी फिरिन्, न त उनले बोक्ने भारी नै घर पुग्यो । उनले बोरामा भरेको पातको भारी र रस्सीसमेत वनमै छुट्यो । 

हात्तीको आक्रमणमा परेर ४० वर्षीया उनीसहित ५० वर्षीया भुरी बोहोरा मारिए । सँगै गएका अरू चार महिला घाइते भए । भारतसँग सीमा जोडिएको उक्त वनमा भट्ट छिमेकीहरूसँग पात बटुल्दै थिइन् । नजिकै रहेको झाडीबाट निस्केको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भयो । ‘भाउजू र म नजिकै थियौं, दुवै आआफ्नो बोरामा पात बटुलिरहेका थियौं,’ वसन्तीकी नन्द पर्ने घटनाकी प्रत्यक्षदर्शी गोमती भट्टले भनिन्, ‘झाडीबाट एक्कासि हात्ती निस्कियो । म भाग्न खोज्दा लडिहालेँ, भाउजू केही पर हुनुहुन्थ्यो । उहाँ चिच्याएको आवाज आयो, त्यहाँ पुग्दा त हात्तीले आक्रमण गरेर गइसकेछ ।’


६ बजेतिर वन जाने बोहोरा बुधबार केही ढिला गएकी थिइन् । उनी गएको आधा घण्टामै वनबाट होहल्ला सुनिएको जेठानी शुर्मा बोहोराले बताइन् । ‘हात्तीले आक्रमण गर्दा वनभित्र चिच्याएको बस्तीमै सुनियो,’ उनले भनिन्, ‘हामी सबै दौडेर जाँदा मारिसकेछ ।’ बस्ती छेउमै आएर हात्तीले आक्रमण गरेको घटनाले स्थानीय स्तब्ध छन् । महाकाली–२ चाँदनी जनज्योति टोलका अध्यक्ष मानबहादुर धामीले भने, ‘घर नजिकै आएर यसरी आक्रमण गरेको यो पहिलो घटना हो ।’ मध्यवर्ती सामुदायिक वनमा यसअघि पनि हात्तीका हुल भारतको राष्ट्रिय वन हुँदै आउने गरेका थिए तर हुल राति पसेर बिहान उज्यालो हुँदै फिर्ने गरेको उनले बताए । वन बस्ती नजिकै छ । स्थानीय भागरथी धामीका अनुसार भुरीसहित ४/५ जना बस्ती नजिकको भागमा पात बटुलिरहेका थिए । वनको बीच भागमा रहेका अन्य महिलाले सुनेपछि त्यहाँ आउँदा कोही देखिएन तर उनीभन्दा केही पर रहेकी उमा साउद घाइते अवस्थामा भेटिइन् ।


उनको दायाँ खुट्टामा चोट लागेको छ । इलाका प्रहरी कार्यालय दोधाराका अनुसार घटनामा घाइते हुनेमा स्थानीय ललिता बोहोरा, सुनिता विष्ट, उमा साउद र सरस्वती ओझा छन् । उनीहरूको धनगढी र सीमावर्ती बजार खटिमामा उपचार भइरहेको प्रहरी निरीक्षक चेतराम पनेरुले बताए ।


सधैं त्रास

महाकाली नगरपालिकामा धान पाक्ने बेला र गहुँ उम्रिएका बेला हात्तीका हुल पस्ने त्रास सधैंको हो । भारतसँग सीमा जोडिएका बडुवाल टोल, कञ्चनभोज र चाँदनीमा हात्तीको त्रास बढी छ । उक्त क्षेत्रमा हात्तीले बर्सेनि बालीनालीको नोक्सान गर्नुका साथै घरटहरासमेत भत्काउने गरेको छ ।


‘बडुवा टोलमा त सधैं हात्तीको डर हुन्छ, बालीनाली जोगाउनै गाह्रो हुन्छ,’ स्थानीय महावीर क्षत्रीले भने, ‘एक/दुई वर्षदेखि केही कम भएको छ ।’ ठूलो संख्यामा दिनहुँ आउने क्रम भने घटेको उनले बताए । मध्यवर्ती क्षेत्रमा जंगली जनावरले धनजनको क्षति पुर्‍याएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत तथा क्षतिपूर्ति दिने गरेको छ ।


प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले खेतबारीमा वा घरमै आएर हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख र घाइतेलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार र अन्यत्र भए तीन लाखसम्मको उपचार खर्च दिने व्यवस्था रहेको बताए । ‘तर वनभित्रै घटना भएमा केही पनि दिन मिल्दैन,’ उनले भने, ‘चाँदनीमा भएको घटनाका विषयमा अध्ययन हुन बाँकी छ ।’

प्रकाशित : मंसिर २६, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?