कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखैअघि गुम्यो छोरो

देवनारायण साह

(मोरङ) — आफ्ना दुई छोरालाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेकी बेलबारी–५ रामपुरकी शिवकुमारी साहको सपना धमिलिएको छ । दुई छोरामध्ये बुधबार कान्छो उनीबाट सदाका लागि टाढा भएका छन् ।

शिवकुमारी ६ वर्षीय योगराजलाई विद्यालय पठाउन बस चढाउन गएकी थिइन् । अघिअघि ठूलो छोरालाई लिएर आइरहेको अवस्थामा घरमा रहेको २० महिने कान्छो छोरो राजले पछ्याउँदै आएको उनले थाहै पाइनन् । योगराजलाई बस चढाएर फर्कंदै गर्दा छोरा राज बसमुनि पुगिसकेका रहेछन् । अतालिएर शिवकुमारीले चिच्याउँदै बस रोक्न भनिन् । हुइँकिएको बस रोक्न त रोकियो, तर चक्काले नाबालकलाई किचिसकेको थियो । बेलबारी–५ का वडाध्यक्ष विश्वबन्धु बस्नेतले निमेषभरमै भएको घटनाले साह परिवारमा ठूलो शोक परेको बताए ।


स्थानीय कसेनी बोर्डिङ स्कुलको को१क ३०४६ नम्बर बसले राजलाई किचेको इलाका प्रहरी बेलबारीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । योगराज त्यही स्कुलमा एलकेजीमा पढ्छन् । गाउँमा लाग्ने साप्ताहिक हाटमा लुगाकपडा पसल चलाएर गुजारा गर्दै आएका शिवकुमारी र प्रमोद साहलाई ठूलो चोट परेको छ । ‘राम–लक्ष्मणजस्ता छोरालाई राम्रो शिक्षादीक्षा दिएर असल मान्छे बनाउने सपना थियो, तर भगवान्ले एउटालाई लगिदिए,’ प्रमोदले भक्कानिँदै भने, ‘पढ्न–लेख्न नसकेका हामीले दुवै छोरालाई पढाउन दिनरात मिहिनेत गर्दै आएका थियौं, तर के गर्नु दैवको इच्छा...।’ आफूले रोक्न भन्दै चिच्याए पनि चालकले समयमै बस नरोकेकाले छोराको अकालमै ज्यान गएको शिवकुमारीले बताइन् । ‘ड्राइभरले बस चलाउनु अगाडि कोही भए/नभएको नहेरी बेवास्ता गर्दा मेरो बाबुको ज्यान गयो,’ उनले भनिन् ।


पुराना सवारीचालक कृष्ण धिमाल दुर्घटनाका कतिपय अवस्थामा चालकको लापरबाही देखिने गरे पनि अन्य पक्ष पनि कारक हुने गरेको बताउँछन् । ‘सडक र सवारी प्रयोग गर्ने सबै पक्षले सजगता अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘अझ स–साना बालबालिका लिएर हिँड्दा त अभिभावक र गाडीका कर्मचारीले विशेष ध्यान दिनुपर्छ ।’ चालु आर्थिक वर्षको कात्तिकसम्ममा मोरङ जिल्लामा भएका ४ सय ८७ सवारी दुर्घटनामा सय जनाको मृत्यु भएको छ । ३ सय ३४ गम्भीर र ५ सय ६८ जना सामान्य घाइते भएको मोरङ जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले गत वर्षको तुलनामा दुर्घटना संख्या वृद्धि भएको बताए ।

प्रकाशित : मंसिर २६, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

स्कुलेलाई सडक पार गर्न जहिल्यै डर

प्रदेश ब्युरो

(बुटवल) — बुटवलको कालिकानगरका सुजल र साहस भण्डारी न्यु होराइजन माविमा पढ्छन् । विद्यालय नपुगुन्जेल ठूला र साना सडक पार गर्नुपर्छ । उनीहरूलाई आमा रञ्जुले प्रत्येक बिहान विद्यालय पुर्‍याउँछिन् र छुट्टी भएपछि लिन पनि पुग्छिन् । ‘एक्लै बाटो काट्न डर लाग्छ,’ सुजलले भने, ‘सधैं ममीको हात समातेर स्कुल पुग्छौं ।’ सुजलका अनुसार मुख्य सडकमा गाडीको रफ्तार धेरै हुन्छ ।

भित्री सडकमा पनि गाडी धेरै हुन्छन् । सडकमा जेब्राक्रस छैन । ‘जहाँ गाडीको चाप कम देखिन्छ, त्यहींबाट सडक पार गर्नुपर्छ,’ रञ्जुले भनिन् ।

रञ्जुका कान्छा छोराको छुट्टी ३ बजे हुन्छ । जेठो छोराको पढाइ ४ बजे सकिन्छ । त्यसैले रञ्जु छोरा लिन दुईपटक विद्यालय पुग्नुपर्छ । ‘मसित हिँड्दा त छोराहरू आत्तिन्छन्,’ उनले भनिन्, ‘एक्लै पठायो भने झन् के होला !’ न्यु होराइजनमै नर्सरीमा अध्ययनरत आविष्कार भट्टराईकी आमा सरिताले छोरालाई सुरक्षित ढंगले विद्यालय पुर्‍याउन आफैं जानुपरेको बताइन् । ‘आफू नजाने हो भने बसस्टप लगेर गाडी चढाउनुपर्छ,’ उनले भनिन्, ‘विद्यालय समयमा भित्री सडकमा भीडभाड हुने भएकाले अरू काम थाती राखेर छोरा छाड्न/लिन आउने गरेकी छु ।’

रञ्जु र सरिताजस्तै थुप्रै अभिभावकले सडकमा जोखिम रहेका कारण छोराछोरीलाई आफैं विद्यालय पुर्‍याउने र त्यहाँबाट ल्याउने गर्छन् । न्यु होराइजनमा कक्षा ८ मा पढ्ने ओजस्वी आचार्य, कक्षा ७ का पूर्णिमा श्रेष्ठ र प्रज्ञा रानाले भित्री सडकमा पनि विद्यालय परिसर नजिक जेब्राक्रस हुनुपर्ने बताए । ‘भीडका कारण सडक पार गर्न गाह्रो हुन्छ,’ ओजस्वीले भनिन्, ‘आँखा झिमिक्क गर्‍यो कि गाडी ठोक्किन आइसक्छ ।’

बुटवल–बेलहिया ६ लेन सडकसँग जोडिएको कालिका माविमा अध्ययनरत नीरञ्जन चौधरीले आकाशे पुल बनेपछि ढुक्क भएको बताए । ‘जेब्राक्रसबाट हिँड्दा पनि गाडी रोकिँदैनन्,’ ११ कक्षामा अध्ययनरत उनले भने । उनका साथीहरू मोहम्मद उस्मान, सराफत अली, आकाशराज भट्ट, धीरेन्द्र विक र सुदीप जीसीले सडकमा गाडीको लापरबाही देखेर हिँड्न मन नलाग्ने बताए । भित्री सडक होस् या मुख्य राजमार्ग, पैदलयात्रीका लागि जोखिमयुक्त रहेको सराफत अलीले बताए । ‘जेब्राक्रसबाट पार गरे पनि चालकले हतपत गाडी रोक्दैनन्,’ उनले भने, ‘मौका छोपेर पार गर्नुपर्छ ।’

पाल्पाको तानसेनस्थित कक्षा–८ मा अध्ययनरत आस्मा रेग्मीलाई विद्यालय आउजाउ गर्दा सडक पार गर्नुपर्छ । बर्तुङ–तानसेन सडक खण्डअन्तर्गत काजीपौवाबाट सडक पार गरेपछि मात्र विद्यालय पुगिन्छ । ‘सडक काट्ने बेला डर लाग्छ,’ उनले भनिन् ।

दाङको घोराही–१५ का १३ वर्षीय नारायण पोख्रेल विद्यालय जाँदा–आउँदा डराउँछन् । मोटरको अनियन्त्रित गतिले तर्साइरहन्छ । ‘कतिबेला के हुन्छ भन्ने डर हुन्छ,’ कक्षा ८ मा अध्ययनरत उनले भने, ‘गाडी चालकले पैदल यात्रुको ख्याल गर्दैनन् ।’ घोराही–११ की ११ वर्षीया निर्मला चौधरी दिनहुँ सडक किनारबाट पैदल विद्यालय पुग्छिन् । ‘सडक छेउमै विद्यालय छ, कतिपटक गाडी नजिकबाट कुद्छन्,’ ६ कक्षामा अध्ययनरत उनले भनिन् ।

सडक छेउमा विद्यालय हुँदा अधिकांश बालबालिका र अभिभावक दुर्घटनाको त्रासमा रहन्छन् । ‘बालबालिका विद्यालयबाट नफर्किंदासम्म मन ढुक्क हुँदैन,’ तुलसीपुर–१८ की अभिभावक निमा रावतले भनिन्, ‘गाडीले बालबालिका हिँडेको ख्यालै गर्दैनन् । विद्यालय नजिक गाडीको गति नियन्त्रण गर्न आवश्यक छ ।’ प्राय: सडकमा पैदल यात्राका लागि छुट्टै लेन व्यवस्था गरिएको छैन । ‘साना बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिँदैन,’ तौलिहवा, कपिलवस्तुकी सुनीता मालीले भनिन्, ‘काम थाती राखेर भए पनि बच्चालाई विद्यालय छाड्न जान्छु ।’

सडक दुर्घटनाबाट बालबालिकाले ज्यान गुमाउँदा या घाइते हुँदा ट्राफिक प्रहरीले चालकलाई प्रशिक्षण, विद्यार्थी र अभिभावकलाई सुरक्षित यात्राबारे प्रशिक्षण दिने गरेको छ । ट्राफिक सप्ताहका बेला पनि यस्ता प्रशिक्षण र चेतना फैलाउने कार्यक्रम गरिन्छ । तर अरू बेला वास्ता गरिँदैन । पाल्पाका जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले सडक छेउका विद्यार्थीलाई जोखिम रहेकाले बेलाबेला ट्राफिक चेतना जगाउने कार्यक्रम गरिरहेको जानकारी दिए ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार यो वर्षको साउनदेखि कात्तिकसम्म २ सय १४ ले दुर्घटनामा ज्यान गुमाएका छन् । दाङमा मात्रै साउनयता दुर्घटनामा १ बालक र ५ बालिकाको मृत्यु भएको छ । सडकको नजिकमा विद्यालय हुँदा दुर्घटनाको उच्च जोखिम हुने गरेको दाङका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले बताए ।

(रूपन्देहीबाट सञ्जु पौडेल र घनश्याम गौतम, दाङबाट दुर्गालाल केसी र पाल्पाबाट माधव अर्याल)

प्रकाशित : मंसिर २६, २०७६ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×