यसरी उम्कियो १७ बैंकबाट १७ करोड

मातृका दाहाल

काठमाडौँ — अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्‍याउने गरेको खुलेको छ । पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगेको र वित्तीय संस्थाको सर्भर ह्याक गरेर जम्मा पारेको रकम गिरोहले स्थानीय एजेन्टमार्फत विभिन्न व्यक्तिका नाममा राखी बैंकबाटै उम्काइरहेको भेटिएको हो । 

यसरी उम्कियो १७ बैंकबाट १७ करोड

अन्तर्राष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पिटर र स्मिथका सहयोगी तीन नेपालीलाई पक्राउ गरेपछि ठगीको रहस्य बाहिर आएको हो । महानगरीय अपराध महाशाखाको टोलीले ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासीकै मनी एक्सचेन्ज सञ्चालक १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरेको थियो । प्रहरीले खड्कालाई काठमाडौंबाटै पक्रेको हो भने तिवारी र कलवार नवलपरासीबाट समातिएका हुन् । प्रहरी स्रोतका अनुसार १० सहयोगीसहित भारतमा बसेर अपराध सञ्जाल चलाइरहेका पिटरलाई पनि केही समयअघि भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।


महाशाखा प्रमुख एसएसपी सहकुल थापाले करिब १७ करोड रुपैयाँ बैंकमार्फतै बाहिर गएको प्रमाण भेटिएको बताए । ‘विदेशबाट पार्सल आएको छ भन्दै सर्वसाधारणबाट असुलेको तथा बैंकको सिस्टम ह्याक गरी संकलन गरेको रकम वाणिज्य तथा विकास बैंकको खाताबाट बाहिर गएको देखिन्छ,’ एसएसपी थापाले भने, ‘त्यसका लागि स्थानीय एजेन्टका रूपमा काम गर्नेलाई २० देखि २५ प्रतिशतसम्म कमिसन दिने गरेको पाइयो ।’ एजेन्टहरूले विभिन्न व्यक्तिका नाममा सयवटाभन्दा बढी खाता खोलेको र एकै व्यक्तिका नाममा धेरैवटा खातामा रकम जम्मा गरेको उनले बताए । पिटर र स्मिथ असोजमा कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनाका मुख्य योजनाकार भएको प्रहरले जनाएको छ । कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गर्ने तथा केही दिनअघि बैंकहरूबाट रकम चोरी गर्ने समूह एउटै भएको प्रहरीको दाबी छ । दुवैको एकसाथ सूक्ष्म अध्ययन गरिरहेको महाशाखाले ह्याकिङको उच्च जोखिम औंल्याउँदै सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ ।


थापाका अनुसार बैंक अफ काठमान्डु, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी विकास, माछापुच्छ्रे, एसबीआई, नेपाल बंगलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकका खाताबाट रकम ट्रान्सफर भएको छ । यसबारे महाशाखाले सबै बैंकलाई राष्ट्र बैंकमार्फत जानकारी गराइसकेको जनाएको छ । डीएसपी दुर्गा दाहालले नाइजेरियाली, बेलायती र भारतीय नागरिकले भारत (दिल्ली, मुम्बई), पाकिस्तान, चीन, तान्जानिया, इथियोपियालगायत मुलुकमा बसेर ह्याकिङ र अनलाइन ठगीको सञ्जाल चलाइरहेको बताए । ‘नाइजेरियाली, भारतीय र बेलायती गिरोहले विदेशबाटै नेपालमा करिब ४० जनाको समूहलाई अनलाइन ठगी र ह्याकिङका लागि एजेन्टका रूपमा परिचालन गरेको देखिन्छ,’ डीएसपी दाहालले कान्तिपुरसँग भने, ‘हालसम्म १५ जना मानिस आफू ठगिएको भन्दै सम्पर्कमा आएका छन्, करिब एक करोड रुपैयाँ ठगिएको उजुरी पीडितबाट दर्ता भएको छ ।’ त्यसबाहेक १७ बैंकबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद कारोबार भइसकेको देखिएको उनले बताए । केही पीडित सम्पर्कमा आउने क्रममा रहेको उनले जनाए ।


ह्याकिङ र ठगी गर्न १० वर्षअघि नै योजना

प्रहरीका अनुसार नाइजेरियाली नागरिक पिटरले मंगलबार पक्राउ परेका खड्कासँग मिलेर १० वर्षअघि नै बैंकको सिस्टम ह्याकिङ र अनलाइन ठगीको योजना बनाएका थिए । नेपालमै योजना बनाएर विदेश गएका पिटरको गिरोहले उतैबाट नेपालका बैंक खातामा निगरानी राख्ने गरेको अनुसन्धान अधिकारीले बताए । ‘एक जनालाई ६ वटाभन्दा बढी बैंक खाता खोल्न लगाउने र त्यसको सबै विवरण खड्कामार्फत पिटर र स्मिथलगायतका व्यक्तिको नेटवर्कमा पठाउने गरेको देखियो,’ डीएसपी दाहालले भने ।


रमेशको खाताबाट मात्रै ७ करोडको शंकास्पद कारोबार भएको देखिएको छ । दाहालका अनुसार विभिन्न व्यक्तिका नाममा खोलिएका खाता र तिनमा राखिएको रकमबारे रमेशबाट विवरण पाएपछि गिरोहले विदेशबाटै खातावालालाई लट्री परेको र त्यसबापत पार्सलबाट उपहार आएकाले भन्सार क्लियर गर्न केही रकम पठाउन प्रस्ताव गर्ने गरेको देखिएको छ । ‘५० लाखदेखि १ करोडसम्मको पार्सल छ तर भन्सार क्लियर गर्न पैसा पुगेन भन्दै विदेशबाटै खाता नम्बरसहित रकम डिपोजिट गर्न प्रस्ताव आउने गरेको देखियो,’ दाहालले भने, ‘५० लाख, १ करोडसम्मको सामानका लागि २/४ लाख किन नपठाउने भन्दै एजेन्टका खातामा रकम डिपोजिट गरेको पाइएको छ ।’ पिटरसँग भेट भएपछि खड्काले चिनजानका मानिसलाई विभिन्न बैंकमा खाता खोल्न लगाएका थिए । प्रहरीको सम्पर्कमा आएका पीडित पनि विदेशमा रहेको गिरोहसँग भाइबर, ह्वाट्स एप, फेसबुकलगायत माध्यममार्फत सम्पर्कमा रहने गरेको देखिएको छ । त्यस्तै सम्पर्कमा रहेकी शान्ता तामाङ पार्सलका नाममा रकम पठाउँदा पठाउँदै लाखौं ठगिएको थाहा पाएपछि प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।


ह्याकर र ठगीमा संलग्न गिरोहले भारतका विभिन्न स्थानमा कोठा भाडामा लिएर अपराधको धन्दा चलाइरहेको पाइएको छ । पिटरसहित १० जनाको समूहले योजना बनाउने र उसको योजनाअनुसार थप ५ जनाको समूहले नेपालका बैंक खातावालालाई सीधा सम्पर्क गर्ने गरेको भेटिएको छ । त्यसमध्ये पिटरसहितको एउटा समूह पक्राउ परिसकेको छ । उनलाई पक्राउ गर्न महाशाखाबाट समेत विशेष टोली केही समयअघि भारत गएको थियो । भारतमै ठगी कसुरमा पिटरमाथि अनुसन्धान भइरहेको छ । पिटरकै योजनाअनुसार नक्कली पार्सलका नाममा कस्टम क्लियर गर्ने भन्दै रकम झिकाउनेदेखि ह्याकरलाई खाता नम्बर उपलब्ध गराउनेसम्मको सञ्जाल भारतमै सक्रिय छ । त्यसको खोजीमा पनि प्रहरी जुटेको छ ।


हुन्डी र अनलाइनमार्फत ह्याकरलाई पैसा

ठगी र ह्याकिङबाट संकलन भएको पैसा गिरोहले अनलाइन र हुन्डीबाट रकम पाउने गरेको पनि खुलेको छ । प्रहरीका अनुसार नेपाली एजेन्टमार्फत खोलेका खातामा पैसा जम्मा भएपछि गिरोहले हुन्डी, अनलाइन र स्थलमार्गबाट ओसारपसार गरेर रकम हात पार्ने गरेको भेटिएको छ । यसका लागि अन्तर्राष्ट्रिय गिरोहबाट नेपालमा खड्काको समूहले २५ प्रतिशतसम्म कमिसन लिने गरेको महाशाखा प्रमुख थापाले बताए । ‘१७ करोडको कारोबार अनलाइन ठगीबाट मात्रै हुनै सक्दैन, यो बैंक ह्याक गरेको रकम नै हो भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने ।


प्रकाशित : मंसिर २६, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?