कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खेलाडीलाई कति रकम : सरकारी पदाधिकारी नै द्विविधामा [सुन्नुहोस् अडियो]

प्रेस सल्लाहकार भन्छन्– गौरिकाले ६५ लाख पाउनेछिन्
खेलकुदमन्त्री भन्छन्– स्वर्णको जम्मा ११ लाख, त्यत्रो राज्यले धान्न सक्दैन
सदस्य सचिव भन्छन्– गौरिकालाई एउटा स्वर्णको ११ लाख 

काठमाडौँ — बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको घोषणा अनुसार १३ औं सागका पदक विजेतालाई दिने रकमबारे सरकारी अधिकारीहरु नै अस्पष्ट देखिएका छन् । व्यक्तिगत तर्फ स्वर्ण जित्नेलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा भए पनि दुई वा दुईभन्दा बढी पदक विजेतालाई दिने रकममा उनीहरूबीच द्विविधा देखिएको हो । 

खेलाडीलाई कति रकम : सरकारी पदाधिकारी नै द्विविधामा [सुन्नुहोस् अडियो]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इकान्तिपुरसँग कुरा गर्दै दुई वा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीले प्रत्येक पदकको ११ लाख रुपैयाँ पाउने बताए । ‘दुईभन्दा धेरै जित्नेले प्रत्येक स्वर्णको ११ लाख पाउने हो । ४ स्वर्ण, २ रजत र ३ कास्यसमेत गरी गौरिका सिंहले मात्रै ६५ लाख पाउनेछिन्,’ थापाले भने ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले पनि गौरिकाले प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ पाउने बताए । ‘जम्मा कति हुन्छ, कार्यविधि बनाएपछि हिसाब हुन्छ । अहिलेका लागि दुईभन्दा बढी स्वर्ण जित्नेलाई प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ दिने भनेर प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको हो,’ सिलवालले भने ।


प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । यस्तै दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पााच पााच लाख रुपैयाा पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो ।'

तर, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा भने सल्लाहकार थापाले गलत बुझेको बताउँछन् । ‘त्यस्तो होइन, दुई वा त्यसभन्दा बढी स्वर्ण जित्नेले स्वर्णको जम्मा ११ लाख पाउने हो,’ उनले भने । ‘प्रधानमन्त्रीज्यूले घोषणा गर्दा म पनि त्यहीँ थिएँ, त्यति धेरै रकम राज्यले धान्न सक्दैन,’ उनले भने, ‘हामीले सुनेर धारणा बनाउँदा कहिलेकाहीँ गलत हुनसक्छ, मैले बुझेको चाहिँ प्रति स्वर्ण ९ लाख, एक भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख दिने भनेको हो । गौरिकाले ११ लाख पाउने हुन्,’ मन्त्री विश्वकर्माले भने ।

उनले खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि कार्यविधि बनाएर टुंगो लगाइने पनि बताए।

प्रकाशित : मंसिर २५, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?