१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

आश गुरुङ

(लमजुङ) — अत्याधिक चिसो बढेसँगै हिमाली जिल्ला मनाङका विद्यालय बन्द हुन थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् ।

चिसो बढेसँगै माथिल्लो मनाङका सबै विद्यालय बन्द

शिक्षकहरुका अनुसार यस वर्ष चिसो चाँडै बढ्न थालेपछि अभिभावकले विद्यालय चाँडै बन्द गर्न आग्रह गरेका थिए । गतवर्षभन्दा यो वर्ष एक साता अघि नै वार्षिक परीक्षा सक्काएर हतार–हतार परीक्षाफल प्रकाशित गरी शिक्षक विद्यार्थी स्कुल बन्द गरी हिँडेका हुन् ।


मनाङ ङिस्याङ–९ विद्यालय र नार्पाभूमिका २ विद्यालय बन्द गरिएका छन् । उक्त विद्यालयहरु ३ महिनाका लागि बन्द गरिएका हुन् । चैत १ गतेबाट मात्रै स्कुल खुल्ने उनीहरुले बताएका छन् ।


मनाङ ङिस्याङ गाउँपालिका–६, मनाङ गाउँमा रहेको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेका अनुसार माथिल्लो मनाङका सबै विद्यालय बन्द भएका छन् । उनले गएका वर्षभन्दा यसवर्ष चिसो चाँडै बढेकाले चाँडै विद्यालय बन्द गरिएको बताए ।


उनका अनुसार माथिल्लो मनाङ क्षेत्रमा सबैभन्दा ढिलो अन्नपूर्ण मावि बन्द गरिएको हो । ‘हामीले मंसिर ११ गतेबाट परीक्षा सुरु गर्‍यौं । १९ गते सक्यौं । २० गते परीक्षाफल प्रकाशित गर्‍यौं र २१ गतेदेखि विद्यालय बन्द गरि हिँड्यौं,’ उनले भने । अन्नपूर्ण मावि गत वर्ष मंसिर २६ गतेदेखि ३ महिनाका लागि बन्द गरिएको थियो ।


प्रअ घिमिरेका अनुसार अन्नपूर्ण बाहेक सबै आधारभूत (निमावि र प्रावि) विद्यालय हुन् । अन्नपूर्ण बन्द हुनुभन्दा १ साताअगावै अन्य केही विद्यालय बन्द गरिएका थिए । ‘धेरै वर्ष पहिलेदेखि मंसिर १५/१६ बाट फाइनल परीक्षा सुरु हुने र २०/२२ मा नतिजा प्रकाशन गरी विद्यालय बन्द गरिन्थ्यो । यसपटक अलि चाँडै भयो,’ उनले भने, ‘प्राकृतिक कठिनाइ हो । पानी जमेर आइस भएको छ । तापक्रम माइनसमा छ । अभिभावकले परीक्षा छिटो गर्न आग्रह गरे । हामीले छिटो छिटो गरेर सक्यौं र विद्यालय बन्द गर्‍यौं ।’


मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा संयोजक रुद्रनाथ पौडेलका अनुसार माथिल्लो क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा एउटा मावि, ३ वटा १–७ पढाइ हुने आधारभूत र ५ वटा १–५ पढाई हुने आधारभूत विद्यालय छ । ती सबै बन्द भएका उनले बताए । चैत १ गतेबाट पढाई सुरु हुने उनले बताए ।


‘पढाइ सुरु भएपछि शुक्रबार पनि अन्य दिन सरह पठनपाठन गरिन्छ । दसैंतिहार, संविधान दिवस, बैशाख १ बाहेक अन्य सार्वजनिक विदामा पनि हामी पढाउँछौं । कोर्स सक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । नार्पाभूमि अन्तर्गत नारमा १–७ पठनपाठन हुने एउटा आधारभूत र फूमा १–५ पठनपाठन हुने आधारभूत विद्यालय छन् । दुवै स्कुल बन्द भएका छन् ।


मनाङ ङिस्याङ गाउँपालिकाले गतबर्ष फागुन १६ गतेबाट स्कुल संचालन गर्न सवै विद्यालयमा पत्राचार गरेको थियो । विद्यालय भने चैत १ गतेबाट संचालनमा आएको थियो । यसबर्ष पनि फागुन १६ गतेबाट स्कुल संचालन गर्न पत्राचार गरिने गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । ‘पुस नलाग्दै विद्यालय बन्द भएको छ । फागुनको आधा महिना त पढाउनु पर्‍यो नि । हामी छलफल गर्छौं’ उनले भने ।


चामे गाउँपालिका र तल्लो मनाङको नासों गाउँपालिकाका विद्यालय बन्द गर्ने तरखरमा शिक्षकहरु छन् । चामे र नासों गाउँपालिकामा परीक्षा संचालन भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण रेग्मीका अनुसार मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सवै विद्यालय बन्द भएका छन् । चामेका स्कुल सम्भवत पुस २७ गतेबाट बन्द हुनेछन् । तल्लो क्षेत्र (नासों गाउँपालिका) का स्कुल पुस १० गते अगावै बन्द हुनेछन् ।


चामे गाउँपालिकाका स्कुलले माघ १६ गतेबाट विद्यालय संचालन गर्ने निर्णय गरेका छन् । नासोंका विद्यालय फागुन लागेपछि खुल्नेछन् । ‘माथिल्लो क्षेत्रमा चिसो चाँडै बढ्यो । विद्यालय पनि चाँडै बन्द भए । तल्लो क्षेत्रमा माथिल्लो क्षेत्रजस्तो चिसो छैन । त्यसैले विदा पनि केही ढिलो हुन्छ’ उनले भने ।


शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न पाइन्छ । यसमा ५ दिन स्थानीय विदा लिन पाइन्छ । तर, विद्यालय खुल्नेखुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यसमा रहेको शिक्षा शाखाले निर्णय गर्ने गरेका छन् । विद्यालय आफैंले पनि सरोकारवालालाई बोलाएर निर्णय गर्ने गरेका छन् । मनाङमा ४ मावि, ९ आधारभूत र १३ प्रावि गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउनेजाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय मनाङको पढाई प्रभावित हुँदै आएका छन् ।


प्रकाशित : मंसिर २५, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?