को बन्ला सभामुख ?

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद्को हिउँदे अधिवेशन सुरू नहुादै ‘राजीनामा दिने’ 
बिनु सुवेदी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको हो । आउँदो पुस ४ गते हिउँदे अधिवेशन सुरु हुँदै छ ।

को बन्ला सभामुख ?

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो । त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्वएमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् ।


पूर्वएमाले वृत्तमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रबल दाबेदारका रूपमा हेरिएको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुख पदमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै आएकी छन् । पूर्वमाओवादीमा भने स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रूपमा हेर्नेहरूको पंक्ति ठूलो छ । सापकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । उक्त पदका लागि अन्य केही नेताको पनि दाबी रहेको दाहालनिकट स्रोतले उल्लेख गर्‍यो ।


सभामुख स्वत: पूर्वमाओवादीको भागमा भएकाले यो विषयमा धेरै छलफल गर्नु नपर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए । ‘हामी पार्टी एकीकरण प्रक्रियाको चरणमै छौं,’ उनले भने, ‘व्यक्ति को हुँदै छ भन्ने कुरा गौण हो । सभामुखमा हामीले दाबी नै गर्नुपर्दैन । यो स्वत: पाउने कुरा हो ।’


गजुरेलका अनुसार यो विषयमा पार्टी अध्यक्ष दाहालसँग पनि उनीहरूले छलफल गरेका छन् । ‘अध्यक्ष कमरेडले सभामुख पूर्वमाओवादीतिरैबाट हुनुपर्छ भन्ने धारणा बदल्नुभएको छैन,’ गजुरेलले भने । पार्टी एक भइसकेकाले पूर्वएमाले र पूर्वमाओवादी भनेर गरिएको तर्क नै गलत भएको उनले बताए । ‘त्यसो भए मन्त्रिपरिषद् पुनर्गठनमा उहाँहरूले हाम्रो भागमा किन पाँचवटा मन्त्री दिनुभएन ?’ गजुरेलले भने ।


नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पार्टी एक भइसकेकाले अब पूर्वएमाले र पूर्वमाओवादी भन्न नहुने बताए । ‘अब नेकपा एउटै पार्टी हो । मैले दुवै अध्यक्षलाई कुन कताको थियो भन्ने कुरा अब बिर्सौं भनेर सुझाव पनि दिएको छु,’ उनले भने ।


नेकपाको माथिल्लो कमिटीमा भने सभामुख चयनको विषयले प्रवेश पाएको छैन । ‘हामीले सभामुख चयनका विषयमा सचिवालय बठै कमा छलफल गरको छैनौं, सम्भवत: २७ गते बस्ने सचिवालय बैठकमा यो विषयमा कुराकानी हुन्छ,’ नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग बताए ।


उपसभामुख राजीनामा दिँदै

उपसभामुख तुम्बाहाङ्फेले संसद् अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिने भएकी छन्। ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद्मा भएका सबै दलसँग छलफल गर्छु, त्यसपछि निकास दिन्छु,’ मंगलबार पत्रकारसँग तुम्बाहाङ्फेले भनिन्, ‘राजीनामा त दिनैपर्छ तर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाएर राजीनामा दिन्छु।’ उनले आफूले के गर्ने भन्ने विषयमा एक/दुई दिनमा स्पष्ट जानकारी दिने बताएकी छन्। संसदीय दलका उपनेता नेम्वाङले भने उपसभामुखले पुस ४ गतेअघि नै राजीनामा दिने बताएका छन्। राष्ट्रपतिले सदन आह्वान गरेपछि र संसद्को पहिलो बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिनुपर्नेमा विवाद छैन,’ उनले भने, ‘नेकपाले सभामुख पद छाड्ने कल्पना गर्न सकिँदैन ।’


नेम्वाङले भनेझैं उपसभामुख तुम्बाहाङ्फेले अधिवेशनअगावै राजीनामा दिइन् भने हिउँदे अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गरेर राष्ट्रपतिले सदन आह्वान गरेको पत्रसँगै सभामुख महरा र उपसभामुखको राजीनामाको पत्र पढेर सुनाउनेछन् ।


संविधानको धारा ९१(४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । यस्तै ९१(५) मा प्रतिनिधिसभाको सभामुख, उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भए प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।


यस्तै प्रतिनिधिसभा नियमावलीको नियम ६(१) मा सभामुखले मात्रै संसद् अधिवेशन डाक्न सक्ने र ६(४) मा प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा सभामखु ले गर्ने उल्लखे छ । यही प्रावधानका कारण पनि नेकपाले उपसभामुख तुम्बाहाङ्फेलाई अधिवेशनअगावै राजीनामा गराउने तयारी गरेको हो।


प्रकाशित : मंसिर २५, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?