कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘जग्गा बेचेर पर्व कहिलेसम्म ?’

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीयार, पुजारी, महन्थलगायत सरोकारवालसँग छलफल सुरु गरेको छ । सरोकारवालाको सुझावअनुसार नै विधेयक ल्याउन छलफल थालिएको मन्त्री पद्मा आर्यालले बताइन् । ‘यो अन्तिम छलफल होइन,’ अर्यालले भनिन्, ‘यस्ता छलफल अब देशभरि हुनेछ ।’ 

‘जग्गा बेचेर पर्व कहिलेसम्म ?’

गुठीयार र पुजारीले गुठीका जग्गा मासिएपछि पर्वपूजा सञ्चालन गर्न समस्या भएको गुनासो सुनाए । नरदेवी गुठीका नाइका मच्चाराजा महर्जनले आर्थिक समस्याले गर्दा गुठीयार घट्दै गएको बताए । ‘हामी १० जना गुठीयार थियौं,’ उनले भने, ‘अहिले घटेर चार जना भएका छौं । जग्गा बेचेर कहिलेसम्म पर्वपूजा चलाउनु ?’


नरदेवी गुठीको नाममा पाँच हजार रोपनी जग्गा रहेकामा अहिले ती जग्गा बेचेर गुठीले कोष राखेको छ । ‘गुठीले १२ वर्षे मेला सञ्चालन गर्छ । पहिला राजतन्त्र हुँदा सिधै दरबारबाट रकम पठाइन्थ्यो, अहिले सरकारले एक पैसा दिएन,’ उनले भने, ‘ऋण लिएर पर्व चलाउनुपर्‍यो ।’


अर्का गुठीयार प्रकाश रायमाझीको गुनासो पनि उस्तै थियो । ‘मूर्त–अमूर्त सम्पदा जोगाउन गठन भएको गुठी संस्थानले नै सम्पदा मासिदियो,’ रायमाझीले भने, ‘गुठीयारले स्वत:स्फुर्त रूपमा पर्वपूजा जोगाएका हुन् । स्थानीयवासीमा मेरो संस्कृति हो भन्ने लिगेसी भएकाले मात्र संस्कृति जोगिएको हो । अब यसरी कहिलेसम्म धानिन्छ ?’ मन्त्री अर्यालले संविधानअनुसार कानुन परिमार्जन गर्नुपर्ने र व्यावहारिक रूपमा जग्गा, जात्रा, परम्परा पनि व्यवस्थित गर्नुपर्ने भएकाले विधेयक ल्याउनैपरेको बताइन् ।


गुठी कति प्रकारको राख्ने, प्रशासनिक संरचना कस्तो हुने, गुठी रकमको कोषको व्यवस्था कसरी गर्ने, संविधानको कार्यन्वयन कसरी गर्ने, गुठी जग्गाको बढ्दो अतिक्रमण कसरी रोक्ने भन्ने बुँदामा देशभर छलफल सुरु गरेको मन्त्री अर्यालले बताइन् ।


ज्यापु महागुठीका अध्यक्ष राजभाइ महर्जनले महागुठीको अवधारणा तयार गरेको र त्यसलाई देशभर छलफल गरेर मन्त्रालयमा पेस गर्ने बताए । ‘गुठीयारको हक समाप्त हुने गरी विधेयक ल्याएपछि हामी आन्दोलनमा उत्रिएका हौं,’ उनले भने, ‘यहाँहरूले अहिले शून्यबाट छलफल सुरु गर्नुभएको छ । अब हामीले आन्दोलन गर्नुपर्ने अवस्था नआओस् ।’ केही गुठीयारले सामुदायिक वनजस्तो गुठी पनि समुदायलाई नै दिनुपर्ने माग राखेका छन् । ‘सामुदायिक वन निकै सफल भएको छ । त्यही शैलीमा गुठी पनि सञ्चालन गर्न दिए हुन्छ,’ गुठीयार रत्नभक्त जोशीले भने, ‘गुठीयारलाई स्वायत्तता दिइयोस्, त्यसको अनुगमनको जिम्मा राज्यले लेओस् ।’

प्रकाशित : मंसिर २५, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?