१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोहलपुर घटनामा घाइते प्रकृतिकी दिदी सम्झिन्छिन्, ‘बहिनी हाँस्दै स्कुल गएकी थिई’

मधु शाही

(बाँके) — पसल खुलै थियो । चिया पिउने ग्राहकको भीड थिएन । चिया र नास्ता पकाउँदै फुर्सद नपाउने नगेन्द्रबहादुर चन्दको चुलो सोमबार चिसै थियो । 
दुर्घटनामा उपचारार्थ काठमाडौं पुर्‍याइएकी कान्छी छोरी प्रकृतिको न्यायको खोजीमा उनी बिहानै इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थिए । पसल कुर्न बसेकी १७ वर्षीया माइली छोरी पुष्पा आफैं सम्हालिँदै थिइन् ।

कोहलपुर घटनामा घाइते प्रकृतिकी दिदी सम्झिन्छिन्, ‘बहिनी हाँस्दै स्कुल गएकी थिई’

आमा र जेठी दिदीले काठमाडौंबाट बिहानै बहिनीको खबर सुनाए, ‘नानीले खुट्टा किन बाँधेको भनेर सोध्छे ।’ पुष्पाले मन थाम्नै सकिनन् । रुँदै ट्रक चालकलाई सराप्न थालिन् । ‘मेरी बहिनी जस्ताको तस्तै चाहिन्छ मलाई,’ उनी भक्कानिँदै भन्दै थिइन्, ‘किचेर भाग्न पाइँदैन ।’


पढाइ राम्रै थियो प्रकृतिको । राप्तीसोनारी गाउँपालिकास्थित शमशेरगन्जमा नगेन्द्रको घर छ । व्यवसाय गर्न र छोराछोरीलाई राम्रो पढाउन कोहलपुर सहरमा बस्दै आएका हुन् । प्रकृति यसै वर्ष कक्षा ७ मा त्रिभुवन नमुना माविमा भर्ना भएकी हुन् । ‘सहरमा राम्रो पढाइ हुन्छ भनेर हामीलाई बुबाले कोहलपुरमा ल्याउनुभएको हो,’ उनले भनिन्, ‘कियर गर्न सजिलो हुन्छ भन्दै पसलदेखि नजिकै स्कुलमा भर्ना गर्नुभएको हो ।’


चुलबुले स्वभावकी प्रकृतिले आइतबार बिहानै दाल पकाइन् । सानै उमेर भए पनि घरको खाना पकाउन सिपालु भइसकेकी थिइन् । दाल बसालेर खाना नखाई उनी स्कुल जान लागिन् । आँखामा गाजल, ओठमा हल्का लालीमा सिँगारिएर स्कुल जान निस्केकी बहिनीलाई जिस्क्याइन् । प्रकृति मुसुक्क हाँस्दै बुबाको स्कुटर चढेकी थिइन् । बिहान १० बजे स्कुल नपुग्दै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले प्रकृतिको खुट्टा किच्यो ।


स्कुल नजिकै ट्रकले प्रकृतिलाई ठक्कर दिएपछि विद्यार्थी बाहिरिए । १० बजेको थियो । घटना थाहा पाउनेबित्तिकै विद्यार्थीका हूल ट्रक घेर्न पुगेको स्कुलका गार्ड रामसफल चौधरीले बताए । त्यसपछि आक्रोशमा विद्यार्थीले ट्रकमा तोडफोड गर्न थाले । प्रहरी आएर विद्यार्थीमाथि बल प्रयोग गरेपछि भीड उत्तेजित भयो ।


नेपालगन्जबाट आएका प्रहरी टोलीले ट्रक चालकलाई लगे । प्रत्यक्षदर्शी युवराज पौडेलका अनुसार विद्यार्थीलाई धम्क्याउँदै स्कुलभित्र पसेर सादा पोसाकका प्रहरीले शिक्षकमाथि पनि हातपात गरे । ‘स्थिति सामान्य थियो, जब डीएसपीले नै ढुंगा उचालेर विद्यार्थी कुट्न थाले अनि झडप सुरु भयो,’ उनले भने । स्कुलका शिक्षक इन्द्र बीसीले साना विद्यार्थीलाई प्रहरीले साम्य पार्नुपर्नेमा उल्टै कुटपिट गरेर वातावरण बिगारेको बताए । स्कुलमै पसेर विद्यार्थी र केही शिक्षकलाई प्रहरीले जब समातेर लगे, त्यसपछि स्थिति अझ अशान्त भयो ।


इलाका प्रहरी कार्यालयसम्म छुटाउन गएका विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भयो । प्रहरीले लाठीचार्जसँगै रबरको गोली, अश्रुग्यास प्रहार गर्‍यो । झडपमा ३० प्रहरी घाइते भए भने प्रदर्शनमा उत्रेका २४ सार्वसाधारण पनि घाइते भए । बाँके जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गर्‍यो । गोली लागेका १० जना विद्यार्थीलाई उपचारका लागि काठमाडौंमा उपचार गर्न पठाइएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए । घटनाको विरोध प्रदर्शन सोमबार पनि दिनभर रह्यो । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार बेलुका नै स्थिति शान्त बनाउन सर्वपक्षीय भेला बोलाएको थियो ।


६ बुँदे सहमति

सोमबार भएको सर्वपक्षीय छलफलमा ६ बुँदे सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन प्रतिनिधि सम्मिलित छलफलले घाइतेलाई उपचार, क्षतिपूर्ति र घटना छानबिनका लागि टोली गठन गर्न गृह मन्त्रालयलाई लेखिपठाउने सहमति गरेको हो ।


‘दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षादीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि गृह मन्त्रालयमा अनुरोध गरिने निर्णय गरिएको छ,’ प्रजिअ खड्काले भने, ‘ठक्कर दिने ट्रकका धनी दुगड ग्रुपले घाइतेको उपचार खर्चबापत ५ लाख पठाएको छ ।’ प्रकृतिका आफन्तले भने सोमबार दिउँसोसम्म रकमबारे कुनै जानकारी नआएको र व्यक्तिगत खर्चमा उपचार भइरहेको बताएका छन् ।


प्रकाशित : मंसिर २४, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?