कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपाले २९ मंसिरमा बोलायो स्थायी कमिटी बैठक

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठक बढीमा दुई दिन चल्ने छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय आयोग र विभागहरुको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको दिएको छ ।


सबै आयोग र विभागहरुका प्रमुख र उपप्रमुखले प्रस्ताव पेश गरेपछि आगामी सचिवालय बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको छ । बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्दै पूर्ववत् काममा फर्किन निर्देशन दिएको छ ।


यस्तै समीक्षाका लागि उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटीलाई प्रतिवेदन पठाउन ५ दिनको समय थप गरेको छ ।


पार्टी उपाध्यक्ष रहने व्यवस्थासहित विधान संशोधनको प्रस्ताव पनि बैठकले पारित गरेको छ । आगामी स्थायी कमिटीबाट अनुमोदन गराउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।


उपचुनावको समीक्षा र संगठनात्मक कार्ययोजनासम्बन्धी विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले विधानमा संशोधनको प्रस्ताव पारित गरेर सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बाटो खुला गरेको छ ।


नेता गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको थिएन ।


बैठकमा संगठन विभाग प्रमुख गौतमले पेश गरेको संगठनात्मम कार्ययोजना आवश्यक परामर्शपछि अर्को बैठकबाट पारित गर्ने निर्णय गरेको छ ।


तत्कालीन एमालेका ५ लाख तथा माओवादी केन्द्रका ३ लाखसहित करिव ८ लाख सदस्यलाई नयाँ सदस्यताका रुपमा परिवर्तन गर्ने गौतमको कार्ययोजनामा छ ।


यस्तै पार्टी नेता–कार्यकर्ताका लागि चार तहको प्रशिक्षण सञ्चालन गर्ने स्कुल विभागको तात्कालिक कार्ययोजना भने पेश भएको छैन ।


नेकपाको स्कुल विभागले प्राथमिक, माध्यमिक, उच्च र विशिष्ट तहको स्कुल चलाउने कार्ययोजना समेत पारित गरेको छ । ४ बजे मन्त्रिपरिषद्को बैठक भएका कारण २७ गते बस्ने सचिवालय बैठकमा अध्यक्षको कार्ययोजना लगाएत बाँकी एजेण्डामा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।


बैठकले विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा केही समस्या देखा परेको सन्दर्भमा ती समस्याहरुको आवश्यक छानविन र समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


यस्तै पार्टीमा उपत्यका विशेष समन्वय कमिटी र विशेष कमिटीहरुको व्यवस्था गर्ने वैधानिक प्रावधान विधानमा व्यवस्था गरेको छ ।


राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो भनेर प्रष्ट पारिएको प्रवक्ता श्रेष्ठले बताए । तत्कालीन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद र यसलाई कार्यान्वय गर्दै समाजवादको आधार निर्माण गर्न, समाजवादको स्थापना गर्न र अन्ततः साम्यवादको दिशामा अगाडि बढ्न पार्टी प्रतिवद्ध छ भनेर पार्टी विधानमा स्पष्ट गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


पुष्पकमल दाहालको अध्यक्षता बसेको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । प्रकाशित : मंसिर २३, २०७६ १६:४६

प्रतिक्रिया
पठाउनुहोस्

अनि समातिए अमेरिकी बालयौन दुराचारी

जनकराज सापकोटा

काठमाडौँ — बालअधिकारका लागि राष्ट्रिय अभियानका एक सदस्य तिलगंगा आँखा अस्पताल छेवैको मैदानमा साँझतिर टहलिन्थे । धुले चौरमा फुटबल र क्रिकेट खेल्ने वाग्मती तीरमा बस्ने सुकुम्बासी समुदायका बालबालिकासँग प्रत्येक दिन नयाँ फुटबल हुन्थ्यो । कहिलेकाहीँ त नयाँ जुत्ता र नयाँ ब्याट पनि हुन्थे । 

कमजोर आर्थिक हैसियत भएका उनीहरूसँग कहाँबाट आए ती खेल सामग्री ?

एकाध दिनमै उनले थाहा पाए, एक जना विदेशी केही दिन बिराएर त्यहाँ आउँदा रहेछन् । र, ती विदेशीले खेलकुदका सामग्री दिएर बालबालिकालाई फकाउँदै आफैंसँग लिएर जाँदा रहेछन् ।

एक दिन तिनले विदेशीसँग जाने ११ वर्षका दुई बालकलाई सोधे, ‘तिमीहरूलाई विदेशीले किन लैजान्छ ?’ ती सदस्यले बालकसँग सोधेको प्रश्नोत्तर समेटिएको भिडियो क्लिप कान्तिपुरलाई पनि प्राप्त भएको छ । उनको प्रश्नमा ती बालकले भनेका छन्, ‘उसको पेटमा हाम्रो हात लगेर दल्छ । अनि त्यति नै बेला आफ्नो पेन्ट खोलेर हेर्छ ।’

भिडियोमा दुई बालकले थप भनेका छन्, ‘पिसाब फेर्ने ठाउँमा हाम्रो हात लगेर चलाउँछ अनि केहीबेर चलाएपछि कफी झर्‍यो भन्छ ।’ बालकहरू प्रयोग गरेर ती विदेशीले हस्तमैथुन गर्ने र वीर्य झरेपछि त्यसलाई ‘कफी’ बताउने गरेको ती बालकले बताएका छन् ।

आफ्ना अरू साथीलाई समेत साँझतिर होटलमा लैजाने गरेको ती बालकले बताएका छन् । पैसा र खानेकुरा दिएर बालकहरूलाई फकाउँदै कहिले एक्लै त, कहिले दुई जना बालकलाई होटलमा लैजाने र यौनजन्य गतिविधिमा संलग्न गराउने गरेको पाइएको छ । अभियानका केही सदस्यले विदेशी नागरिकको यस्तो शंकास्पद गतिविधिबारे थाहा पाएपछि उक्त भिडियो क्लिप करिब एक महिनाअघि प्रहरी परिसर काठमाडौंलाई दिएका थिए । तर बालयौन दुराचारको घटना अनुसन्धानमा परिसरका अधिकारीले चासो नदिएपछि जघन्य अपराधको घटना सतहमा आउन पाएन ।

विमानस्थल नजिकैको एक होटलमा बस्ने र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ओहोरदोहोर गर्ने ती विदेशीको संदिग्ध गतिविधिबारेको सूचना महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पुगेको थियो । कार्यालयले ती विदेशीबारे सूक्ष्म निगरानी गरेपछि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान सुरु गरेको थियो ।

ब्युरोले आइतबार राति सिनामंगलको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ बाट अमेरिकन नागरिक जेसन लोएड मुडीलाई पक्राउ गरेको छ । प्रहरीले उनका कोठाबाट तीन बालबालिकाको उद्धार गरेको छ । २०१४ जुनमा पहिलो पटक नेपाल आएका जेसन २०१६ मा पुनः आएको देखिन्छ । २०१६ को अगस्टदेखि डिसेम्बरसम्म नेपाल बसेका उनी तेस्रो पटक सन् २०१७ मा नेपाल आएका थिए । २०१७ मा जनवरीदेखि मार्चसम्म नेपाल बसेका उनी पछिल्लो पटक २०१९ अगस्टदेखि यहाँ छन् ।

पक्राउ परेलगत्तै जेसनले मेडिकल गर्न नमानेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी बेलबहादुर पाण्डेले बताए । ब्युरोले कोठाबाट उद्धार गरेका पीडितमध्ये एक १० वर्षीया बालिकामाथि जेसनले बलात्कार गरेको पुष्टि भएको उनको भनाइ छ । अन्य दुईमाथि पनि उनले यौन दुराचार गरेको पाइएको छ । ब्युरोले उनीबाट अन्य बालबालिका पनि दुराचारमा परेको हुन सक्नै भन्दै पीडित बालबालिकाको खोजी सुरु गरेको छ ।
जेसन विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिक्ने विद्यार्थीका रूपमा भर्ना भएका थिए । विद्यार्थीको आवरणमा बसेपछि जेसनको भित्री उद्देश्य बालबालिकालाई खानेकुरा, खेल सामग्री, पैसा दिएर फकाउनु र आफ्नो कोठामा लगेर यौनजन्य गतिविधिमा सामेल गराउनु थियो ।

नेपाल प्रहरीले ०७५ सालमा मात्रै ६ विदेशी र एक नेपालीलाई बालयौन दुराचार आरोपमा पक्रिएको थियो । प्रहरीले यो वर्ष मात्रै बालयौन दुराचारको सिकार भएका २५ बालकलाई मनोसामाजिक परामर्श दिएको बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले भने ०७३ देखि ०७६ सम्म १४ विदेशी र उनीहरूका दुई नेपाली सहयोगीलाई बालयौन दुराचारमा संलग्न भएको आरोपमा पक्रिएको छ । यी दुराचारीबाट करिब ४० जना बालबालिका यौन शोषणमा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २३, २०७६ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×