नेकपाकाे जारी सचिवालय बैठकमा तीनवटा प्रस्ताव पेश हुँदै

बबिता शर्मा

काठमाडौँ — उपचुनावको समीक्षा र संगठनात्मक कार्ययोजनासम्बन्धी विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ६ महिने जनपरिचालन अभियान सम्बन्धी कार्ययोजना, संगठन विभाग प्रमुख वामदेव गौतमले संगठनात्मक कार्ययोजना र स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टी नेता–कार्यकर्ताका लागि चार तहको प्रशिक्षण सञ्चालन गर्ने तात्कालीक कार्ययोजना पेश गर्ने सचिवालय स्रोतले बतायो ।

नेकपाकाे जारी सचिवालय बैठकमा तीनवटा प्रस्ताव पेश हुँदै

दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँग परामर्श गरेर कार्ययोजनासम्बन्धी प्रस्ताव बनाएको स्रोतको भनाई छ । दाहालले ल्याउन थालेको जनपरिचालनसहितका कार्ययोजनामा पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने विषय पनि समेटिएको छ ।


लामोसमयदेखि पार्टी कमिटिले काम नपाएको र कार्यकर्ता बेरोजगार भएको गुनासो उठिरहेका बेला दाहालले ६ महिने कार्ययोजना ल्याएर पार्टी संगठनलाई क्रियाशील बनाउन खोजेका छन् । स्रोतका अनुसार बैठकमा संगठन विभाग प्रमुख गौतमले साबिक एमालेका ५ लाख तथा माओवादी केन्द्रका ३ लाखसहित करिब ८ लाख सदस्यहरूको एकीकरण प्रस्ताव लैजाने सम्भावना छ ।

दुवै पार्टीका संगठित सदस्यहरूको अभिलेखका आधारमा नेकपाको नयाँ सदस्यतामा रूपान्तरण गरी वितरण गर्ने कार्ययोजनामा उल्लेख छ । गौतमको प्रस्तावमा पार्टी कमिटिमा बस्ने सदस्यले स्कूल विभागले लिएको परीक्षा दिनुपर्ने प्रस्ताव पनि छ । बैठकमा स्कूल विभागको प्रस्ताव पेश हुँदैछ ।

विभागका उपप्रमुख बेदुराम भुसालले आइतवार बसेको नेकपाको स्कूल विभागले प्राथमिक, माध्यमिक, उच्च र विशिष्ट तहको स्कुल चलाउने कार्ययोजना र विभागलाई पूर्णता दिने प्रस्ताव पारित गरेको जानकारी दिए । सो प्रस्ताव जारी सचिवालय बैठकमा पेश गर्ने तयारी छ । विभागले चारवटै तहको पाठ्यक्रम तयारीसमेत गरेको छ । यद्दपी, विभागले यसअघि केही जिल्लामा प्रशिक्षण चलाईसकेको छ ।


बैठकमा उपचुनाव भएका क्षेत्रका पार्टी कमिटिले पठाएको प्रतिवेदनका आधारमा समीक्षा हुनेछ । १८ मंसिरमा बसेको सचिवालय बैठकले तीन दिनभित्र प्रतिवेदन पठाउन निर्देशन दिएको थियो ।


बैठकमा स्थायी कमिटि र केन्द्रिय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ । नेकपाको एक बर्ष देखि स्थायी कमिटि बैठक बस्न सकेको छैन भने १८ महिनादेखि केन्द्रिय कमिटि बैठक बसेको छैन् ।

४ मंसिरमा बसेको नेकपाको सचिवालय बैठकले पाँच बर्ष ओलीले सरकार र दाहालले कार्यकारी अध्यक्षको भूमिका निभाउने सहमति भएको थियो । यो निर्णयसँगै दाहालले मंसिर १८ गते पहिलोपटक सचिवालयको बैठक बोलाएका थिए । अहिले बसिरहेको दोस्रो बैठक हो ।

आइतबार दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीसँग करिव २ घण्टालामो कुराकानी गरेका थिए । त्यसबाहेक सचिवालयका अन्य नेताहरुसँग पनि छलफल गरेका थिए ।


जारी बैठकमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली सहभागि छैनन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर दश दिन अस्पताल बसेर फर्केका ओलीले बालुवाटार सरकारी निवासमा आराम गरिरेका छन् । उनले सोबारलाई बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रकाशित : मंसिर २३, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?