कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धूलोले अतालिन्छन् पर्यटक

सडक दायाँबायाँका घर धूलोले पुरिएका छन् । यही सडक पार गरेर भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट पर्यटकलाई लुम्बिनी ओहोरदोहोर गराइन्छ । 
मनोज पौडेल

(लुम्बिनी) — एक साता बस्ने योजनासहित बिहीबार लुम्बिनी आएका जर्मन पर्यटक हर्टमुट मेयर शनिबारै स्वदेश फर्किएका छन् । ‘अत्यधिक धूलो र धूवाँबाट अतालिएँ,’ उनले भने, ‘रुघाखोकीले सताएपछि बीचमै फर्किनुपर्‍यो ।’ बुद्धस्थलहरूको भ्रमण र चरा अवलोकन गर्ने चाहना अधुरै रहेको उनले बताए । ‘धूलोले हिँड्डुल गर्न मुस्किल रहेछ,’ उनले भने ।

धूलोले अतालिन्छन् पर्यटक

नेपाल भ्रमण वर्ष (२०२०) र लुम्बिनी भ्रमण वर्ष (२०७६) मनाउँदै गर्दा प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा पर्यटकले बसाइ छोट्याइरहेका छन् । स्तरोन्नतिका क्रममा रहेको भैरहवा–लुम्बिनी सडक खण्डमा धूलो र धूवाँका कारण हिँड्नै नसकिने अवस्था छ । यो खण्डमा प्रायः धूलोको मुस्लो देखिन्छ । धेरै भार बोक्ने गाडी, बस र साना सवारीका साधन दिनरात गुड्ने यही सडक पार गरेर भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट पर्यटकलाई लुम्बिनी ओहोरदोहोर गराइन्छ । पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्नेहरू चिन्न नसकिने हुन्छन् । पैदल यात्रा गर्न सम्भवै छैन । सडक दायाँबायाँका घर धूलोले पुरिएका छन् ।


गाडीले उडाएको धूलो भान्सा र ओछ्यानसम्म पुग्ने गरेको स्थानीय गुनासो गर्छन् । आसपासका बोटबिरुवा र अन्नबाली धुलाम्मे छन् । बसमा यात्रा गर्नेले समस्या भोग्नुपर्छ । १५/२० मिनेट यात्रा गर्‍यो कि शरीर र कपडा धुलाम्य बन्छन् ।


भैरहवाको बुद्ध चोकदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन सडक बनिरहेको छ । विमानस्थलबाट लुम्बिनीसम्म २० किमि सडक चार लेनको बनिरहेको छ । पहिले यो खण्ड दुई लेनको थियो । लुम्बिनीको पर्सा चोकबाट भारतीय सीमा ककरहवासम्म आठ किमि खण्ड पनि स्तरोन्नति भइरहेको छ । यस खण्डमा सर्वसाधारण, पर्यटक र भारतीय गाडीको चाप छ ।


विमानस्थलबाट निस्केका पर्यटक लुम्बिनी पुग्दा चिन्न नसकिने हुन्छन् । पूर्वबाट आउने अधिकांश गाडी यही बाटो लुम्बिनी भित्रिन्छन् । ‘तीन/चार महिनाअघिसम्म झन् कहालीलाग्दो थियो,’ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘अहिले थोरै सुधार भएको हो ।’ बाटो खन्ने र ग्राभेल बिछ्याउने काम मात्र भइरहेको छ । केही स्थानमा एकतर्फी कालोपत्रे गरिएको छ । धूलोको मुस्लोले सताइरहेको उनले बताए ।


भारतको गावर कन्स्ट्रक्सनले उक्त सडक निर्माणको ठेक्का लिएको छ । भैरहवाको बुद्धचोकबाट कपिलवस्तुको तौलिहवासम्म ४४ किमिको ठेक्का थियो । अहिले लुम्बिनी–तौलिहवा सडक खण्ड निर्माण अन्तिम चरणमा छ । दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा सडक स्तरोन्नति गर्न लागिएको हो । साढे दुई वर्षदेखि काम भइरहेको छ । दुई वर्षयता धूलोको मार खेप्नुपरेको छ । निर्माण गर्दा धूलो नियन्त्रणका लागि प्रयास गरिएको छैन । आकाश जतिबेलै गुम्म देखिन्छ ।


लुम्बिनी घर भई भैरहवामा पर्यटन व्यवसाय गरिरहेका जोन शर्मा दिनहुँ यही बाटो भएर ओहोरदोहोर गर्छन् । धूलोधूवाँको मर्काबारे नसोध्न उनले आग्रह गरे । निर्माणको काम छिटो सक्न उनले आग्रह गरे । यस खण्डअन्तर्गत २० भन्दा बढी बजार र बस्ती छन् । ‘होटलमा धूलो पसेर हैरान भयो,’ पर्सा बजारका मिठाई पसले नीरज हलुवाईले भने, ‘व्यापार खस्क्यो ।’ जति ढाके पनि खानेकुरामा धूलो लाग्ने गरेको उनले बताए ।


पर्सा बजारमा सरस्वती मेडिकल हल सञ्चालन गरिरहेका बब्लु गुप्ताले दम र रुघाखोकीका बिरामी बढेको बताए । ‘मेडिकलमा दैनिक रुघाखोकी, घाँटीका बिरामी आउँछन्,’ उनले भने । लुम्बिनी बुद्ध गार्डेनका सञ्चालक टीका बराल होटल सञ्चालन गर्नै मुस्किल पर्न थालेको बताउँछन् । ‘ग्राहक आउनै छाडे, बैंकको साँवाब्याज कसरी तिर्ने,’ उनले भने ।


आठ/दस दिन बिताउन आएका पर्यटक धूलोधूवाँका कारण एक/दुई दिनमै फर्किने गरेको उनले दुखेसो गरे । ‘कसरी सरकारले पर्यटक बढाउँछ,’ उनले भने, ‘पर्यटकले आफ्नो देश फर्केर बाटो राम्रो छैन भन्ने सन्देश दिन्छन् ।’ धूलोले लुम्बिनी आसपासका ८० भन्दा बढी होटल प्रभावित बनेका छन् । सडकको धूलो आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पुग्ने गरेको छ ।


धूलोधूवाँको हैरानीले भैरहवा र लुम्बिनीको यात्रा–समय पनि बढेको छ । पहिले २० देखि २५ मिनेटमा यात्रा पूरा हुनेमा अहिले एक घण्टाभन्दा बढी लाग्छ । ‘धूलो नियन्त्रण गर्न प्रयास गरेका छौं,’ पेटी ठेकेदार चैतन्य निर्माण कम्पनीका सञ्चालक विक्रम मल्लले भने, ‘दिनभरि पानी छिट्छौं ।’


प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटुरोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको रोग हुने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डा. सुनीलचन्द्र झाले बताए । उनका अनुसार अनुसार हामीले श्वास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धूलोका अनेक कर्ण हुन्छन् । तीमध्ये केही धेरै हानिकारक हुन्छन्, केही सामान्य हानि गर्ने हुन्छन् । ‘हावापानी र खाद्यान्नले मानिसलाई ९० प्रतिशतभन्दा बढी रोग लाग्ने गर्छ,’ डा. झाले भने, ‘हावा खराब भए स्वतः पानी र खाद्यान्न खराब हुन्छ । एउटै मानिसलाई धेरै रोगले च्याप्छ ।’


प्रकाशित : मंसिर २३, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?