कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरम नपुग्ने डरले बस्दैनन् संसदीय समितिका बैठक

काठमाडौँ — संघीय संसद्का समितिहरूका बैठक गणपूरक संख्या (कोरम) नपुगेका कारण स्थगित हुने गरेका छन् । कतिपय समितिले कोरम नपुग्ने डरले बैठक बोलाउनै सकेका छैनन् । गृहजिल्ला गएका सांसद नफर्केकाले गणपुरक संख्या नपुगेको संघीय सचिवालयले जनाएको छ । 

कोरम नपुग्ने डरले बस्दैनन् संसदीय समितिका बैठक

समितिका सदस्यहरू मन्त्री नियुक्त भएको र निवर्तमान मन्त्रीहरूको समिति तोकिन बाँकी रहेकाले पनि गणपूरक संख्या पुर्‍याउन हम्मे परेको छ । गणपूरक संख्या नपुगेर अर्थ समितिको दुई पटक र उपसमितिको बैठक एक पटक स्थगित भएका छन् । ‘बैठक फेरि राख्ने कोसिस गरिरहेका छौं,’ अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘समितिमा बिमा र लगानीसम्बन्धी दुई विधेयक विचाराधीन छन् ।’ घनश्याम भुसाल र मोतीलाल दुगड मन्त्री बनेपछि उक्त समितिमा सदस्य संख्या घटेको छ ।

गणपूरक संख्या नपुगेकै कारण सार्वजनिक लेखा समितिको बैठक बस्न सकेको छैन । सदस्यहरू हृदयेश त्रिपाठी, लेखराज भट्ट र वसन्तकुमार नेम्वाङ मन्त्री भएका छन् । ‘नियमित उपस्थित हुने सांसद मन्त्री भएपछि कोरम पुर्‍याउन कठिन भएको छ,’ सभापति भरतकुमार शाहले भने । समितिमा सिमेन्टको गुणस्तर निर्धारणमा उद्योग मन्त्रालयले गरेको निर्णय, प्राधिकरणको ट्रंक र डेडिकेटेड लाइनको महसुल सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्नेछ ।

संघीय संसद्का १६ समितिमा १० वटा विधेयक विचाराधीन छन् । संसद् अन्त्य भएपछि शिक्षा तथा स्वास्थ्य समितिको बैठक बुधबार पहिलो पटक बसेको थियो । समितिका एक कर्मचारीले भने, ‘कोरम नपुग्ने भएपछि बैठक राख्न कठिन भएको हो ।’ विकास तथा प्रविधि समितिको पनि बैठक बसेको छैन ।

‘छलफल गर्नुपर्ने विषय छन्, माननीयज्यूहरू बाहिर हुनुभएकाले तत्काल बैठक बस्न सकिएको छैन,’ सभापति पवित्रा निरौला खरेलले भनिन् । राज्य व्यवस्था समितिको बैठक सञ्चालन भइरहे पनि गणपूरक संख्या मुस्किलले पुग्ने गरेको छ । समितिमा ढिलो उपस्थित हुने र छलफलमा भाग नै नलिई सांसदहरू हिँड्ने गर्छन् ।

प्रकाशित : मंसिर २३, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?